बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

आइएमई पे र खल्ती गाभिएर ‘खल्ती बाइ आइएमई’ सञ्चालनमा, देशकै सबैभन्दा ठूलो डिजिटल वालेट

बिहीबार , साउन १ २०८२
आइएमई पे र खल्ती गाभिएर ‘खल्ती बाइ आइएमई’ सञ्चालनमा, देशकै सबैभन्दा ठूलो डिजिटल वालेट

नेपाली डिजिटल भुक्तानी सेवाका दुई प्रमुख नाम आइएमई पे र खल्ती एकआपसमा गाभिएर साउन १ गते (आज) देखि ‘खल्ती बाइ आइएमई’ को नाममा एकीकृत सेवा सञ्चालनमा आएका छन्। दुई मोबाइल वालेट एउटै एपमा समेटिएपछि यो सेवा प्रयोगकर्ता संख्या, पुँजी र पहुँचका आधारमा देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनेको छ।

काठमाडौैं- नेपाली डिजिटल भुक्तानी सेवाका दुई प्रमुख नाम आइएमई पे र खल्ती एकआपसमा गाभिएर साउन १ गते (आज) देखि ‘खल्ती बाइ आइएमई’ को नाममा एकीकृत सेवा सञ्चालनमा आएका छन्। दुई मोबाइल वालेट एउटै एपमा समेटिएपछि यो सेवा प्रयोगकर्ता संख्या, पुँजी र पहुँचका आधारमा देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनेको छ।

मर्जरपछि गठन भएको नयाँ कम्पनी आइएमई खल्ती लिमिटेड को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। नयाँ सेवामार्फत अहिले झन्डै १ करोड २७ लाख उपभोक्ता डिजिटल कारोबारमा जोडिएका छन्। कम्पनीले यो एकीकरणले डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने र आर्थिक समावेशीताको दायरालाई विस्तार गर्ने दाबी गरेको छ।

करिब एक दशकदेखि आ–आफ्नो पहिचान बनाएका यी दुई डिजिटल वालेट सेवाले अब एउटै मोबाइल अनुप्रयोगमार्फत परिष्कृत, सुरक्षित र समन्वित सेवा उपलब्ध गराउने भएका छन्। ब्याज दिने एक मात्र मोबाइल वालेटका रूपमा परिचित आइएमई पे विशेषतः विप्रेषण सेवा तथा सवारी साधन भाडा भुक्तानी जस्ता क्षेत्रमा लोकप्रिय थियो। उता, खल्ती चलचित्र टिकट बुकिङ, कार्यक्रम पास खरिद तथा प्रविधिमैत्री सुविधाका कारण युवापुस्तामाझ रुचाइएको थियो।

iime pay.jpeg

दुबै सेवाको एकीकरणसँगै प्रयोगकर्ताका लागि सजिलो स्थानान्तरण प्रक्रिया उपलब्ध गराइएको छ। आइएमई पे प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको वालेटमा रहेको रकम, ब्याज, उपहार अंकलगायत सम्पूर्ण विवरण नयाँ प्रणालीमा सार्न सक्नेछन्। खल्ती प्रयोगकर्ताले भने आफ्नो अनुप्रयोग अद्यावधिक गरी एउटै एपमा सेवा लिन सक्नेछन्।

पहिले आइएमई पे आइएमई समूहअन्तर्गत सञ्चालनमा थियो भने खल्ती चार जना सह–संस्थापकले सुरु गरेका थिए। पछि वल्डलिंक, त्रिवेणी समूहजस्ता ठूला निजी लगानीकर्ताहरू खल्तीमा आवद्ध भएका थिए। अब यी दुवैको संयुक्त स्वामित्वमा बनेको नयाँ कम्पनीको नेतृत्व दुई पक्षका प्रतिनिधिहरूको साझेदारीमा रहनेछ।

आइएमई डिजिटल समाधानका अध्यक्ष कृष्णप्रसाद शर्माले गाभिएर बनेको नयाँ कम्पनीले ‘डिजिटल नेपाल’को सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले नेपालको वित्तीय पहुँचलाई देशभर विस्तार गर्ने लक्ष्यसहित यो एकीकरण ऐतिहासिक भएको बताए। प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल साक्षरताका साथै समावेशी वित्तीय प्रणाली निर्माणका लागि थप योजना ल्याउने जानकारी दिए।

गाभिएर बनेको सेवाको औपचारिक घोषणा आज विशेष कार्यक्रममार्फत गरिएको छ। मर्ज हुनुअघि दुवै कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका थिए। आइएमई पेले सन् २०८० को सूचना प्रविधि सेवा पुरस्कार, वित्तीय प्रविधि क्षेत्रमा उत्कृष्टता पुरस्कार र अन्तर्राष्ट्रिय भुक्तानी साझेदारी सम्मान प्राप्त गरेको थियो। उता, खल्तीले तीन वर्ष लगातार प्रविधि नवप्रवर्तन पुरस्कारसहित नेपाल राष्ट्र बैंकबाट डिजिटल कारोबारमा पुर्‍याएको योगदानको कदरस्वरूप विशेष सम्मान प्राप्त गरेको थियो।

‘खल्ती बाइ आइएमई’ को औपचारिक सुरुवातसँगै नेपालको डिजिटल भुक्तानी प्रणालीले नयाँ युगमा प्रवेश गरेको छ। प्रतिस्पर्धी दुई कम्पनीबीचको गाभिनलाई निजी क्षेत्रको सहकार्यबाट सम्भव भएको रणनीतिक एकीकरणका रूपमा हेरिएको छ। डिजिटल कारोबार विस्तारको दौडमा अब यो एकीकृत सेवा प्रमुख शक्तिका रूपमा उदाउने अपेक्षा गरिएको छ।


प्रकाशित : बिहीबार , साउन १ २०८२०९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend