गण्डकी- ‘हाइकिङ’मार्फत पोखरा आसपासका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ६०औँ शृङ्खलामा पोखरा महानगरपालिका-२२ स्थित कालाबाङ घरेडी बुद्धपार्कलगायतका क्षेत्र समेटेको छ।
स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मूल नाराका साथ विगत ६ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार गरिँदै आएको हाइकिङको ६०औँ शृङ्खला पोखरा २२ स्थित कालाबाङ घरेडीबाट सुरु गरी भुम्दी, तारेभिर, चिसापानी पुगेर पुनः भुम्दी हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा आएर सम्पन्न गरिएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए।
एक दिवसीय पदयात्रा (हाइकिङ) सहित घरबास पर्यटनको अनुभव लिन पनि यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको उनले बताए।
पछिल्ला समयमा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको तारेभिरस्थित असिम खाजा घर एण्ड किराना पसलका सञ्चालक राजु रानाले बताए।
समग्र पोखरासहित हिमाली दृश्यसमेतको एक साथ अवलोकन गर्ने गन्तव्यका रुपमा चासो र चर्चा कमाएको यो क्षेत्र पोखराबाट पश्चिमतिर रहेको छ। पोखराको वडा नं २३ घाँटी छिनाबाट माथि हेर्दा तारा तथा ठूलो छर्लङ्ग देखिने भिरका कारण यहाँ जाने मार्गको भिरलाई तारेभिरका रुपमा लिने गरिएको स्थानीयवासी बताउँछन्।
सम्पूर्ण पोखरालाई एकसाथ नियाल्न सकिने कालाबाङको शिरबाट देखिने हिमाली दृश्यले यहाँ आउने जो कोही लोभिने गरेका छन्। न्हेआल डाँडाका रुपमा समेत चिनिने यहाँबाट फेवाताल सहित पोखराको लदृश्यका साथै धौलागिरि, अन्नपूर्ण, मनास्लुलगायतका हिमशृङ्खला नांगो आँखाले देख्न सकिन्छ।
कालाबाङ आफैमा प्रकृति र संस्कृतिको संगम हो। प्राचीन मौलिकता कायमै रहेका यो गाउँमा गुरुङ समूदायको बाहुल्यता छ। परापूर्वकालदेखि नै स्याङ्जा, कास्की र पर्वतको त्रिवेणी धार्मिक पर्यटकीयस्थल पञ्चासेलगायतका स्थानमा आवतजावत गर्नेहरूको बास बस्ने ठाउँका रुपमा कालाबाङ रहेको थियो।
विगतमा समेत आतिथ्यता प्रदान गरिहेको यस ठाउँको मौलिकतालाई अहिले पनि घरबासमार्फत जगेर्ना गरिएको छ। गाउँलाई घरबासमार्फत पर्यटनसँग जोड्नका लागि यहाँ सञ्चालित घरबास यतिखेर स्वदेशी एवं विदेशी पर्यटककको विशिष्ट रोजाइमा पर्ने गरेको कालाबाङ होमस्टेका संस्थापक सचिव एवं अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए।
'यहाँका १८ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ', उनले भने, 'हामी कालाबाङ आएका पर्यटकलाई दैनिक ९० जनासम्म होमस्टेमा राख्न सक्ने व्यवस्था मिलाएका छौँ।' अनौपचारिकरुपमा २०७० सालदेखि होमस्टे सुरु गरिए पनि औपचारिकरुपमा भने २०७३ असोजमा पर्यटन कार्यालयमा विधिवत् होमस्टे दर्ता गरिएको उनले जानकारी दिए।
पोखराको पृथ्वीचोकको बसपार्कबाट एक घण्टामा पुग्न सकिने यो होमस्टे पछिल्ला समयमा पर्यटकको आकर्षक गन्तव्य बनिरहेको उनले बताए। पोखराबाट १४ किलोमिटर दुरीमा पुग्न सकिने यस ठाउँमा पुगेका पर्यटकका लागि होमस्टे सञ्चालकले एक दिनको एक हजार १०० रूपैयाँ प्याकेज निर्धारण गरेका छन्। प्याकेजअनुसार गाउँमा पुगेका पर्यटकलाई बेलुका साँझको स्वागत खाजा, बेलुकाको मासु खाना, बिहानको नास्ता एवं सुतेको समेत गरी प्याकेज निर्धारण गरिएको छ।
एक घण्टामा नै पुग्न सकिने भएकाले अधिकांशत बेलुका पुगेर भोलिपल्ट फर्कने गरेको अध्यक्ष गुरुङले जानकारी दिए। गाउँमा जानका लागि सार्वजनिक यातायात पनि सहज छ। प्रत्येक दिन बिहान ८:३० बजे, दिउँसो १:३०, ३:३० र ६:०० बजे पृथ्वीचोकबाट कालाबाङ घरेडीसम्म बस छुट्ने गरेको र त्यहीअनुरुप उताबाट पनि बसहरू फर्कने व्यवस्था मिलाइएको छ।
प्रकृति र संस्कृतिले सम्पन्न कालबाङमा स्थानीयले ब्राह्मणको भजन, गुरुङको झ्याउरे, दलितको रत्यौली र नौमती बाजा सुन्ने/हेर्नेलगायतका व्यवस्था मिलाएका छन्।
चिटिक्क सजाइएका ढुंगेघर र ढुंगाका छपनीले छपक्क छापिएको बाटो आदि यहाँका विशेषता हुन्। बस्ती जति सुन्दर छ त्यस्तै स्थानीयको आतिथ्यता पनि लोभलाग्दो छ।
गाउँको सिरानमा स्थानीयकै सक्रियतामा बनाइएको बुद्धपार्क यतिखेर यहाँको अर्को आकर्षण बनेको छ। बुद्धपार्क निर्माणको अभियान भने तत्कालीन जिल्ला विकास समिति हुँदैदेखि सुरु गरिएको होमस्टेका अध्यक्ष एवं पार्क निर्माण समितिका अर्थ संकलन उपसमितिका संयोजकसमेत रहेका गुरुङले जानकारी दिए।
बुद्धपार्क र यस आसपासमा विभिन्न पूर्वाधार निर्माणमा स्थानीय जनसहभागितासहित हालसम्म करिब तीन करोड रूपैयाँ खर्च भइसकेकको उनले जानकारी दिए। हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटका अनुसार पोखराबाट नजिक रहेका कारण बुद्धपार्क पछिल्लो समयमा पर्यटकको रोजाइमा पर्ने गरेको छ।
पोखराबाट नजिकै र छोटो समयका लागि पदयात्रा गर्न चाहने पर्यटकलाई पनि यो ठाउँ उपयुक्त गन्तव्यका रुपमा रहेको उनले बताए। 'एक दिवसीय हाइकिङका लागि पनि यो गन्तव्य उपयुक्त छ', उनले भने, 'हाइकिङ गर्न चाहने पर्यटकलाई कालाबाङ घरेडीबाट पदयात्रा सुरु गराई भुम्दी, तारेभिर, चिसापानीबाट पुनः भुम्दी हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा ल्याउन सकिन्छ।'
यिनै सम्भावनाकै उजागर गराउनका लागि हाइकर्स क्लब नेपालले एक दिवसीय हाइकिङमा कालाबाङ घरेडी बुद्धपार्क क्षेत्रलाई समेट्न खोजेको उनले बताए। रासस