विराटनगर- झापा, मोरङ र सुनसरीको खुला सीमाबाट निर्बाध रूपमा भित्रिने माछा र कुखुराले उत्पादक किसानलाई समस्या परेको छ।
भारतबाट भित्रिएका माछा र बोइलर कुखुराको कारण ठूलो लगानी गरेर फर्म सञ्चालन गरिरहेका किसानहरू छटपटाउन थालेका छन्। भारतमा उत्पादन लागत सस्तो पर्ने भएपछि तस्करी गरेर नेपाली बजारमा गुणस्तरहीन माछा, मासु बिक्री हुने गरेको छ।
सुनसरीका विभिन्न नाकाबाट मात्रै दैनिक पाँच हजार कुखुरा अवैध बाटोबाट नेपाली बजारमा पुग्छन्। रातको समयमा मोटरसाइकलबाट सोझै केही कुखुरा फर्ममा थन्क्याइने र त्यसपछि बजारमा पुर्याइने गरिएको छ।
एक कुखुरा उत्पादन किसानले नाम उल्लेख नगर्न आग्रह गर्दै भने, ‘हाम्रै व्यवसायभित्रै तस्करी छ। केहीले सानो व्यवसाय सञ्चालन गरेर ठूलो तस्करी गर्ने गरेका छन्। दिउँसो थोरै कुखुरा भएको फर्मबाट भोलिपल्ट एक ट्रक कुखुरा बाहिर निकालिन्छ। यो कसरी सम्भव भयो?’
छोटी भन्सारमा नक्कली बिल पेस गरेर ल्याइएका कुखुरा नजिकैको फ्रेस हाउसमा पुर्याएर जिम्मा लगाइन्छ। फ्रेस हाउसले अर्डरअनुसारको मासु विभिन्न होटेल तथा रेस्टुरेन्टमा पुग्छ। विराटनगर, इटहरी, धरान, बिर्तामोड, दमकलगायत सहरका होटेलमा उपयोग हुने बोइलर कुखुराको अधिकांश मासु तस्करीको माध्यमबाट नेपाल भित्रिने गरेको छ। कतिपय अवस्थामा सीमावर्ती ठूला होटेलमा भारतीय बजारमै काटिएको मासुसमेत आउने गरेको छ।
तस्करीको मासु र चल्ला कतिपय अवस्थामा सोझै र नभए नक्कली बिल बनाएर भारतबाट ल्याइने गरेको कुखुरा पालक किसान मनोज कुँवर बताउँछन्।
खुला सीमानाका हुँदै भित्रिएका कुखुरा इटहरी, इनरुवा हुँदै काठमाडौंसम्मका बजारमा बढी खपत हुने गरेको उनको भनाइ छ।
पोल्ट्री तथा मासु व्यवसायी संघ सुनसरीका अध्यक्ष समेत रहेका कुँवरले भित्री र साना बजारमा समेत तस्करीको मासु बिक्री हुने गरेका कारण उत्पादकहरू मारमा परेको बताए।
सुनसरीको हरिपुर, जमुवा चोक, घुस्की, भुटाहालगायत क्षेत्रमा तस्करीको कुखुरा मोलमोलाइ हुन्छ। मोरङको रङेली, विराटनगर, कटहरीलगायत क्षेत्रमा र झापामा पनि सीमावर्ती बजारमा मोलमोलाइ भएर सिधै मुख्य डिलरमा पुग्ने गरेको छ।
स्थानीय नेता, प्रहरी र भन्सारको मिलेमतोमै तस्करी हुने गरेको उत्पादक किसानको आरोप छ। कहिलेकाहिँ तस्करसँग समन्वय हुन नसक्दा कुखुरा बरामद हुने गरेको किसानहरू दाबी गर्छन्।
कुखुराको तस्करीले दाना उत्पादनमा समेत समस्या भएको छ। दाना उत्पादक संघ सुनसरीका उपाध्यक्ष तथा सागर फिड प्रालिका सञ्चालक ज्ञानेन्द्र पुराजुली कुखुराको बजार घट्न थालेपछि दानाको खपत कम भएको बताउँछन्।
‘दानाको खपत हुनेका लागि पोल्ट्री फर्म बढ्नुपर्ने हुन्छ। बजारमा कुखुराको मासुको उपभोग बढिरहेको देखिन्छ। होटेल रेस्टुरेन्ट पनि चलिरहेका छन् तर कुखुरा किसानहरू समस्यामा छन्। भनेपछि यहाँ कतै न कतै तस्करीकै मासु आउँछ कि भन्ने आशंका गर्न सकिन्छ,’ उनले भने। भारतमा उत्पादन लागत कम पर्ने भएकाले भारतीय कुखुरा सस्तो हुने उनको भनाइ छ।

जोखिममा माछा उत्पादक
भारतबाट दैनिक तस्करीमा आउने सस्ता मूल्यका माछाले आफूहरू मारमा परेको उत्पादक बताउँछन्। पूर्वका विभिन्न ठाउँमा करिब ५ हजार मेट्रिक टनभन्दा बढी माछा पोखरीमै थन्किएको उत्पादकको दाबी छ। पोखरीमा थन्किएको माछाको कारण उत्पादन लागत बढिरहेको गुनासो गर्छन् किसान।
मत्स्यपालन गरिरहेका भीष्म अधिकारीका अनुसार झापा, मोरङ, सुनसरी र उदयपुरमा मात्रै दुई सयभन्दा बढी किसान मारमा परेका छन्। अर्गानिक तरीकाले उत्पादन गरिएको भएपनि भारतीय माछाले बजार कब्जा गरेको उनको गुनासो छ।
नेपाल मत्स्यपालन किसान संघका अध्यक्षसमेत रहेका अधिकारीले नेपालमा उत्पादित माछाको मूल्य प्रतिकेजी २५० रुपैयाँ पर्ने भएपनि तस्करीबाट आएको माछा १८० रुपैयाँमै बिक्री हुने गरेको बताए। नेपाली माछा उत्पादकले गुणस्तरीय उत्पादन गरेपनि बजार गुम्दै गएको अधिकारीको दाबी छ।
विराट माछा फर्मका सञ्चालक दीपक थापा सरकारले स्वदेशी माछाको उपभोगलाई ध्यान दिने कार्यनीति तय गर्नुपर्ने बताउँछन्। नीतिगत रूपमा खासै समस्या नभएपनि प्रशासनले तस्करी नियन्त्रणमा खासै पहल नगरेको दु:खेसो पोखे।
फर्म बन्द गर्ने वा अझै ऋण बोक्ने भन्ने दोधारमा रहेको दु:खेसो गर्दै उनले भारतीय नाकाबाट छ्यापछ्याप्ती भित्रिने गुणस्तरहीन माछाको कारण जनस्वास्थ्यमा गम्भीर असर पुगेको बताए। खुला सीमाबाट दैनिक गैरकानूनी रूपमा आयात हुने माछाले व्यावसायिक वातावरण लथालिङ्ग बनाएको उनको भनाइ छ।
माछा उत्पादकहरुका अनुसार दैनिक २० टन माछा अवैध बाटोबाट नेपाली बजारमा आउने गर्छ। नेपाली उत्पादकका माछा भने प्रहरीले जफत गर्ने गरेको उनीहरुको गुनासो छ। आफ्नै उत्पादन बजारमा पुर्याउनसमेत प्रहरीलाई निश्चित पैसा वा माछा दिनुपर्ने किसानहरू बताउँछन्। प्रशासनलाई अवैध माछा भित्रिएको जानकारी गराउँदा 'आएको दिन सूचना दिएपछि कारबाही गर्ने' प्रतिक्रिया दिने गरेको उनीहरूको गुनासो छ।
भारतबाट आउने माछामा विषालु तत्त्वसमेत भेटिने गरेको छ। भारतमा रासायनिक फर्मुला, यान्टिबायोटिक र विषादी प्रयोग गरी उत्पादन गरिएको माछा नेपाली बजारमा पाइने गरेको छ। अफ्रिकन माङ्गुर माछा नेपालमा प्रतिबन्धित भएपनि बजारमा पाइने गरेको छ।
पछिल्लो ९ महिनामा भन्सारबाट १७ सय टन माछा आयात भएको रेकर्ड छ। विराटनगर भन्सारबाट मात्रै ७.६ टन माछा भित्रिएको छ। जुन बजारमा भित्रिएको परिमाणको आधा भन्दा कम हो।