सोमबार, असार ३० गते २०८२    
सोमबार, असार ३० २०८२
images
images

सेयर बजारमा फर्किएला एक वर्षअघिको उछाल?

images
सोमबार, असार ३० २०८२
images
images
सेयर बजारमा फर्किएला एक वर्षअघिको उछाल?
images
images

काठमाडौं- आगामी आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिपछि लगानीकर्ता सकारात्मक देखिएका छन्। सेयर बजार सुधारतर्फ बढ्न खोजिरहँदा गएको शुक्रबार आएको मौद्रिक नीतिले लगानीकर्ताहरू थप उत्साहित देखिएका हुन्। 

images
images

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। गएको वर्ष साउनमा ९ दिन २० अर्ब रुपैयाँमाथिको कारोबारसमेत भएको थियो। साउन ३१ गते त अहिलेसम्मकै सर्वाधिक कारोबार रकम २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको थियो।

images
images

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। अहिले पुन: बजारमा नयाँ उचाइतर्फको आधार खडा भएको छ। संगठित लगानीकर्तासमेत सकारात्मक बनिरहेका छन्। 

images
images
images

यो साता पहिलो कारोबारमा आइतबार २९ अंकले बढेर सेयर बजार २७६०.८१ बिन्दुमा पुगेको छ। १५८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ। ९० कम्पनीको सेयर मूल्य घटेको छ। आइतबार कारोबार सुरु हुँदा व्यापक उछालको संकेत देखिए पनि पहिलो एक घण्टापछि बजारको गति धिमा हुँदै गएको थियो। 

आइतबार माइक्रोफाइनान्स ३.५० प्रतिशतले बढ्यो। बैंकिङ समूह ३.३७ प्रतिशतले बढ्यो। यस्तै विकास बैंकको वृद्धि १.४७ प्रतिशत देखियो भने फाइनान्सको १.८७ प्रतिशतले बढ्यो। 

मौद्रिक नीतिले बैंकहरूको बिजनेस विस्तारमा थप सहयोग पुग्ने देखिएसँगै सेयर बजारमा समेत बैंकहरूको मूल्यमा उछाल आइरहेको विश्लेषकहरू बताउँछन्। अहिले बैंकिङ समूहमा देखिएको वृद्धिले बजारलाई बलियो रुपमा उचाइतर्फ जान सहयोग पुग्ने उनीहरूको भनाइ छ। 

अहिलेको वृद्धिमा लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले अब नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्।

गएको साता समग्रमा २७.८४ अंकले बढेको सेयर बजार त्यसअघिको साता १०८.१९ अंकले बढेको थियो। सकारात्मक गतितर्फ लाग्ने संकेत गरिरहेको बजारमा मौद्रिक नीतिले लगानीकर्ता थप उत्साहित देखिएका छन्। 

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले व्यक्तिगत सेयर धितो कर्जाको सीमा १५ करोड रहँदै आएकोमा बढाएर २५ करोड पुर्‍याइदिएका छन्। एउटा व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अब सेयर धितो राखेर कुल २५ करोड रुपैयाँसम्म कर्जा पाउने छन्।

यस्तै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारिनु, स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत बनाइनु, स्थायी निक्षेप सुविधा दर ३ बाट २.७५ प्रतिशतमा झारिनुका साथै बैंक तथा वित्तीय संस्थाको आधार दर गणना विधिमा सुधार गरी यथार्थपरक बनाइने विषयले पनि पुँजी बजारलाई फाइदा पुग्ने विश्लेषकहरू बताउँछन्। 

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको पुँजीकोषको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत हकप्रद सेयर जारी गर्ने सुविधा अगाडि सारेको छ। धितोपत्र बोर्डले अग्राधिकार सेयर निष्कासनका लागि अनुमति दिएसँगै राष्ट्र बैंकले हकप्रद सेयर निष्कासन गर्न दिने नीतिसमेत अगाडि सारेको हो। 

बैंकहरूले लिक्विडिटी कभरेज रेसियो (एलसीआर) र नेट स्टेबल फन्डिङ रेसियो (एनएसएफआर) जस्ता व्यवस्था प्रभावकारी कार्यान्वयन भएपश्चात कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेसमेत मौद्रिक नीतिमा उल्लेख छ।

यस्तै फाइनान्स कम्पनीलाई निक्षेप परिचालनको सीमा हटाइनु पनि सेयर बजारका लागि सकारात्मक मानिएको छ। फाइनान्स कम्पनीहरुलाई यसअघि प्राथमिक पुँजीको १५ गुणासम्म निक्षेप परिचालन गर्न सक्ने सीमा रहेकोमा यसलाई हटाइएको छ। 

साथै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई हाल लाग्दै आएको लाभांश सीमामा पुनरावलोकन गर्ने जनाएको छ। मौद्रिक नीतिका यी व्यवस्था नेप्सेले थप उचाइ लिन सक्ने आधार भएको विश्लेषकहरूले बताइरहेका छन्। 


प्रकाशित : सोमबार, असार ३० २०८२०६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend