सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

वास्तविक अर्थतन्त्र निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २९ २०८२
वास्तविक अर्थतन्त्र निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन

काठमाडौं- दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जनाएको छ। 

मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्यांकन, विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले आथिक वर्ष २०८२/८३ को लागि जारी गरेको मौद्रिक नीतिको सिबिफिनले स्वागत गरेको छ। 

'लामो समयदेखि मुलुकको अर्थतन्त्र सुषुप्त अवस्थामा रही आर्थिक एवं बैंकिङ क्रियाकलापहरुले गति लिन नसकिरहेको विद्यामान अवस्थामा निकै चासोपूर्वक प्रतिक्षा गरिएको यस मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिने गरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र उदार, नीतिहरुले बैंकिङ क्षेत्रमा खस्किरहेको मनोबल र आत्मविश्वासलाई उकासेको छ भने आर्थिक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाइ दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुने स्पष्ट मार्गचित्र कोरेको छ' सिबिफिनले जनाएको छ। 

बैंक तथा वित्तीय संस्थाहरुले पुँजीकोषमा दबाब झेलिरहनु परेको विद्यमान अवस्थामा कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र पुँजीकोष सुदृढ बनाई वित्तीय स्थायित्व कायम गर्ने कार्यलाई प्राथमिकता राख्नु र बैंकदर तथा नीतिगत दर घटाइनुले कर्जा विस्तारमा सहजता ल्याई मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य सहजरुपमा प्राप्त हुने सकारात्मक संकेत देखिएको सिबिफिनको भनाइ छ। 

निष्क्रिय/खराब कर्जासहित गैरबैंकिङ सम्पत्ति बढ्दै गएको अवस्थामा सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाका लागि तत्काल आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गर्ने, बजार चलायमान बनाउनका लागि आवासीय घरकर्जा र शेयर धितो मार्जिनकर्जाको सीमा वृद्धि, चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कर्जा भुक्तानी-आम्दानी चक्रको आधारमा आवश्यकतानुसार परिमार्जन गर्ने, विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गर्ने, कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरणमा पुनरावलोकन गर्ने, सम्पत्ति शुद्धीकरण निवारणका रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका गरिनेसहितका अन्य महत्वपूर्ण सुधारमुखी व्यवस्थाहरु र 'ऋणीसँग नेपाल राष्ट्र बैंक' जस्तो चेतनामूलक एवं सेवाग्राहीमैत्री कार्यक्रमको व्यावहारिक कार्यान्वयनले आर्थिक एवं बैंकिङ क्षेत्रको दिगो विकाससहित सुदृढ, दिगो र वास्तविक अर्थतन्त्रको निर्माणको जग बसाल्ने विश्वास लिएको सिबिफिनले जनाएको छ।


प्रकाशित : आइतबार, असार २९ २०८२१४:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend