काठमाडौं- देशभर निरन्तर वर्षासँगै आएको बाढी, पहिरो र सडक भासिने घटनाले सातवटा प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने पाँचवटा सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको नेपाल प्रहरीले जनाएको छ।
कोशी प्रदेश अन्तर्गत संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ बरुणस्थित कोशी राजमार्ग गत जेठ ६ गतेदेखि अबरुद्ध छ। निरन्तरको वर्षाले सडक भासिएपछि यातायात पूर्णरूपमा ठप्प भएको हो।
बागमती प्रदेशमा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन सिमानामा रहेको पुल र पासाङ ल्हामु राजमार्ग असार २४ गते आएको बाढीले बगाएपछि पूर्णरूपमा अवरुद्ध छ। त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा असार २६ गते पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ।
गण्डकी प्रदेशमा बागलुङ नगरपालिकाको वडा नम्बर १० दब्ल्याङमा असार १८ गते खसेको पहिरोले कालिगण्डकी करिडोर एकतर्फी मात्र सञ्चालन भइरहेको छ।
लुम्बिनी प्रदेशअन्तर्गत गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–१ गरगरे र परिवर्तन गाउँपालिका–५ ग्रामजिम क्षेत्रमा खसेको पहिरोका कारण कालिगण्डकी करिडोर र सहिद राजमार्ग एकतर्फी सुचारु छन्। त्यस्तै रोल्पाको परिवर्तन गाउँपालिका–५ मा असार २० गतेको पहिरोले सहिद राजमार्गमा सवारी आवागमनलाई असर पारेको छ।
कर्णाली प्रदेशमा भने अवस्था अझै गम्भीर छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगारमा असार ९ गते आएको बाढीका कारण भेरी करिडोर सडक खण्ड पूर्णरूपमा बन्द छ। त्यस्तै डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा असार ४ गते बाढीले सडक कटान गरेपछि भेरी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो।
प्रहरीका अनुसार क्षतिग्रस्त सडकहरू मर्मतका लागि डोजर र जनशक्ति परिचालन गरिए पनि मौसममा निरन्तर अवरोध भएकाले पुनः सञ्चालनमा ढिलाइ भइरहेको छ। प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।