शनिबार, असार २८ गते २०८२    
शनिबार, असार २८ २०८२
images
images

'गेम चेन्जर' प्रविधिको द्रुत विकासले फेरिएको स्वास्थ्य क्षेत्र

images
शनिबार, असार २८ २०८२
images
images
'गेम चेन्जर' प्रविधिको द्रुत विकासले फेरिएको स्वास्थ्य क्षेत्र

उसैपनि स्वास्थ्य क्षेत्र धेरै सहायक विधाहरूले भरिएको छ। यसभित्र आफैमा ठूलो 'इकोसिस्टम' छ, धेरै प्रकारका स्टेकहोल्डरहरू छन् र यो क्षेत्र बहुनियामक चरित्रको छ।

images
images

स्वास्थ्य यस्तो विधा हो जसले यो उमेर, त्यो उमेर वा यो लिङ्‍ग, त्यो लिङ्‍ग भन्दैन। न त यसले जर्जिया वा बर्दिया भन्छ, न त रसिया वा रसुवा नै भन्छ। अर्थात रोग, स्वास्थ्य र उपचारको आवश्यकताले प्रत्येक व्यक्तिलाई छुन्छ, शतप्रतिशत नै।

images
images

रोग नै लागेन भनेपनि, रोगबाट बच्ने भ्याक्सिन लगाउन भएपनि परेकै हुन्छ। यो मानव जीवनको अकाट्य तथ्य हो। त्यसैले जुनसुकै 'वाद' अंगाल्ने देशले पनि स्वास्थ्य क्षेत्रमा ठूलै हिस्सा खर्च गरिराखेका हुन्छन्। धनी देशले अनुसन्धान र विकासमा समेत लगानी गरी स्वास्थ्योपचारको व्ययभार त्यताको नाफाबाट पूर्ति गर्न सकेका हुन्छन् भने अन्य मुलुकहरूले स्वास्थ्यमा गरिने लगानीका कारण अन्य विकास निर्माण कटौती गर्नुपर्ने बाध्यतासमेत छ।   

images
images

सरदर महँगी ५ देखि ६ प्रतिशत प्रतिवर्ष हुने गरेकोभन्दा स्वास्थ्योपचारको महँगी दर ३/४ गुणाले नै बढिरहेको छ। यसको मूल कारण भनेको नयाँ आविष्कार र अनुसन्धानमा लाग्ने ठूलो धनराशी र मानवस्रोत विकास तथा व्यवस्थापन हो। उसैपनि स्वास्थ्य क्षेत्र धेरै सहायक विधाहरूले भरिएको छ। यसभित्र आफैमा ठूलो 'इकोसिस्टम' छ, धेरै प्रकारका स्टेकहोल्डरहरू छन् र यो क्षेत्र बहुनियामक चरित्रको छ। 

images
images
images

मानवजातिले अन्य विधामा सम्झौता गर्न सक्ला तर उसका लागि स्वास्थ्य भने अनिवार्य सर्त हो। त्यसकारण अहिलेको मुख्य चुनौती भनेको जुन-जुन कारणले स्वास्थ्यसेवामा चुहावट, ढिलासुस्ती र अप्रभावकारिता छ ती कारकहरूलाई न्यूनीकरण गर्नेगरी विधि र प्रविधिको परिमार्जन र नवप्रवर्तन हुनुपर्ने रहेको छ।

यस्तो चुनौती र आवश्यकताको चौबाटोमा रहेर तयार गरिएका प्रविधिहरूले स्वास्थ्योपचारको मामलामा क्रान्ति नै ल्याइदिएको छ। कोभिड महामारीले पनि यस अर्थमा धन्यवाद नै पाउनुपर्दछ कि यसले स्वास्थ्य क्षेत्रको चुनौती, साँघुरोपन र सेवा पक्षमा रहेका बडा बडा खाडललाई छ्याङ्‍ग उघारिदियो।

अहिले द्रुततर विकास भइरहेका, भइसकेका र निकट भविष्यमा विकास हुन् ठीक्क परेका निम्न 'गेम चेन्जर' विधि-प्रविधिहरू हुन् जसले स्वास्थ्य क्षेत्रमा एक प्रकारको तरंग र आशामात्रै होइन क्रान्ति नै ल्याइरहेका छन्। 

१) आर्टिफिसियल इन्टेलिजेन्स

ठूलो तथ्यांकलाई विश्लेषणात्मक ढंगले केलाएर सानो इनपुटमै अनगिन्ति आउटपुट निकालिदिने प्रकृतिको 'मेसिन लर्निङ'वा त्योभन्दा एक कदम अगाडि रहेर आवश्यकता आफै बोध गरी बिनाइनपुट नै अनगिन्ति आउटपुट दिन सक्ने प्रकृतिको 'डीप लर्निङ' कृत्रिम बौद्धिकताले डायग्नोसिसमा हुनसक्ने कन्फ्युजन, अनिर्णय, ढिलासुस्तीलाई ठूलै स्केलमा सम्बोधन र समाधान गरिरहेको छ।  

एक्स रे, सिटि स्क्यान, एमआरआई, अल्ट्रा साउण्ड, पेट स्क्यान जस्ता रेडियोलोजीका मेसिनहरूले अब इमेजमात्र निकाल्ने छैनन् जब कि उनान्सय प्रतिशतभन्दा माथि एक्युरेसी (शुद्धता) सहित डायग्नोसिस नै आफै सुझाउनेछन्।

ल्याबोरेटरीका मेसिनहरूले पनि त्यसै गर्नेछन् भने उपचारप्रदायक चिकित्सकको अघिल्तिर रहने इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर)ले तिमी यो-यो कुरामा झुक्किएका होलाउ, यो ओखति चलाउ वा डायग्नोसिस यो हो है भनेर कारणसहित नोटिफिकेसन दिनेछ। अर्थात एआईका कारण अबका दिनमा 'डायग्नोसिस गाइड' र 'ट्रिटमेन्ट नेभिगेटर' मिलेको छ। जसले 'अटो-क्लिनिकल डिसिजन सपोर्ट', 'अटो-क्लिनिकल अडिट' को रुपमा समेत सघाएको छ।

योसँगै बीमा क्षेत्रलाई सटिक र सही दाबी आउने भएकाले  हाइसन्चो भएको छ। त्यसैगरी उपचार भनेको डायग्नोसिसअनुसार वा स्थापित प्रोटोकलभन्दा पनि विविध पक्षहरूलाई केलाएर व्यक्ति विशेष, पृथक लक्षण र तत्क्षणको अवस्था मुताबिक हुनुपर्दछ भनी मान्यता राख्ने 'पर्सनलाइज्ड मेडिसिन' र 'प्रिसिजन मेडिसिन' को अवधारणालाई पनि कृत्रिम बौद्धिकताको चरम विकासले साकार पारिदिएको छ। 

२) नेनोटेक्नोलोजी 

कल्पना गरौँ कि हाम्रो शरीरका कोषिका जत्रै आकारका सुक्ष्म-रोबोटहरूलाई शरीरभित्र क्याप्स्युल, इन्जेक्सन, मल्हम वा इन्हेलरका मद्धतले प्रवेश गराइन्छ। ती निश्चित कार्य सम्पादन गर्नेगरी कमाण्ड भरिएका वा प्रोग्रामिङ गरिएका सुक्ष्म मेसिन अर्थात 'नेनोबोट' हरूले भित्र पुगेर लक्षित अंग, तन्तु वा कोषिकामा अड्डा जमाएर त्यतिलाई मात्रै निशाना बनाइ वा भनौँ अन्य स्वास्थ्य तन्तुहरूलाई सुरक्षित राखी तोकिएको अवधिभित्र तोकिएको काम सम्पादन गर्दछन्।

चाहेको अवस्थामा भित्र भइराखेको कारबाहीको रियल-टाइम जानकारी बाहिर ठूलो पर्दामा थ्री-डी भिडियोमा फाल्न सक्ने क्षमता राख्दछन्। यसले गर्दा एकातिर समय बच्न पुग्यो भने अर्कातिर तोकिएको र तोकिएको क्षेत्रमात्रै समेटिनाले गर्दा साइड इफेक्ट घट्न पुग्यो र सँगसँगै इफेक्ट भने बढ्न पुग्यो। ट्युमर सेलमा पुगेर केमोथेरापी छोड्नुपर्ने हो कि, भौतिक लडाइँ पो लड्नुपर्ने हो कि वा विकिरण (रेडिएसन) फाल्नुपरने हो, आदेश पालना गर्दछ।

कार्यसम्पादन पश्चात केही नेनोबोट आफै गलेर शरीरको बिकारसँगै बाहिर निस्किन सक्ने खाले अर्थात बायोडिग्रेडेबल हुन्छन् भने कुनै-कुनै नेनोबोटलाई रिमोट कन्ट्रोलका माध्यमबाट निश्चित क्षेत्रमा ल्याइ सिरिन्जबाट फिर्ता तान्नुपर्ने खाले हुन्छन्। कुनै-कुनै रोगको केसमा कुन अंगमा असर छ भन्ने पत्ता लाग्यो तर ठ्याक्कै रोग पत्ता लागेन भने पनि विशेष प्रकारको एआई जडित नेनोबोट निश्चित अवधि बसेर विविध पक्षको तथ्यांक पहिल्याएर र केलाएर रोग पत्ता लगाउने प्रविधि पनि कार्यान्वयनमा आइसकेको छ।  

३) टार्गेट थेरापी 

खास गरेर क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने यस्तो प्रविधि जसले क्यान्सर रोगले गाँजेको निश्चित क्षेत्रमा मात्र लक्षित गरेर हर्मोन, केमोथेरापी, नेनोबोट, विकिरण वा यिनीहरूको 'कम्बिनेसन'लाई 'अति-निर्दिष्ट' मोडेलबाट खटाइने उपचार पद्धति नै 'टार्गेट थेरापी' हो।

शरीरको एक ठाउँमा रोग हुँदा शरीरभरी नै पठाइने एन्टीबायोटिक वा शरीरभरी फिजिने गरी इन्जेक्सन दिइने केमोथेरापी वा शरीर पूरै तेर्स्याएर छोडिने विकिरणका कारण उपचार परिणाम फितलो हुने अर्थात इफेक्ट कम हुने र अन्य तन्दुरुस्त अंगमा समेत रियाक्सन हुने हुँदा साइड इफेक्ट भने बढी हुने समस्याको गहन हल पस्किएको छ यो प्रविधिले।  

यो पद्धतिलाई पनि प्रविधि शब्द नै प्रयोग गर्न मिल्नुको कारण यसमा सफ्टवेयर र एआईको विधिबाट टार्गेट टिस्युको बहुरुपेण अर्थात मल्टि-डाइमेन्सनल चित्र उतारेर उपचारको योजना बुन्ने काम गरिने हुनाले हो। 

४) जिन एडिटिङ 

वंशाणुगत वा केही जन्मजात रोगहरूको सन्दर्भमा हामी असहाय नै छौँ भन्दा फरक पर्दैन। तथापी जीन अर्थात वंशाणुजन्य कोषिका तत्वलाई परिमार्जन वा निश्चित विधि प्रयोग गर्न सक्दा भने अटिजम, मष्तिष्क पक्षघात, सिकल सेल एनेमिया, सिस्टिक फ़ाइब्रोसिस, मस्कुलर डिस्ट्रोफि लगायत खास रोगहरूको उपचार वा रोकथामको सम्भावना भएको हुँदा 'जिन एडिटिङ' ले निकै आशा जगाएको छ।

जिनको पनि जुन खण्डमा खोट छ त्यति जति भागलाई मात्र काटेर वा केही कारबाही गरेर जिन नै सम्पादन गर्न सक्ने तहको प्रविधि हो यो। छोटकरी नाम 'क्रिस्पर' भएको विशेष कृत्रिम प्रोटिन वा अझ भनौँ इञ्जाइम तत्वले 'अतिसुक्ष्म जैविक कैँची' कै रुपमा कार्य सम्पन्न गरी जिन नै फरक र तन्दुरुस्त पारिदिन सक्दछ।

कानूनी र अपराधिक गतिविधि हुन सक्ने सम्भावित साइड इफेक्टलाई मध्यनजर गरी यो प्रविधिलाई नियमनको उच्च सुपरिवेक्षणमा राखिएको छ। 

५) ब्लक चेन टेक्नोलोजी 

डेटालाई प्रयोगकर्ताको वा आम उपभोक्ताको सुरक्षा-कवचभित्र राखेर उसले चाहेको बखतमा वा इच्छाएको जसरी एक अर्कामा आदान-प्रदान गर्न मिल्ने र आफैमा स्वत: इन्टरअपरेबल हुनसक्ने क्षमता राख्दछ यो प्रविधिले।

क्रिप्टोग्राफ विधि अर्थात अतिगोप्य तबरले डेटालाई ब्लक र त्यसको शाखा अर्थात नोड बनाएर जोडिने र फुक्का गर्न सकिने गरी विकेन्द्रिकृत डेटा भण्डारण र चलायमान व्यवस्थापन अवलम्बन गरेको हुन्छ, ब्लकचेन प्रोग्रामले।  

यस्ता बहुगुणकारी चरित्रले गर्दा यो प्रविधिले डेटा गोपनियताको महत्व उच्च रहने स्वास्थ्य क्षेत्रका लागि सुहाउने प्रकृतिको छ। स्वास्थ्य क्षेत्रलाई तथ्यांकपरक बनाउनमा ब्लकचेनले क्रान्तिकारी भूमिका खेल्ने प्रक्षेपण गरिएको छ।

अबका दिनमा प्रत्येक व्यक्ति 'आफ्नो डेटाको मालिक आफैँ' बन्नेछन् र आफ्नो आवश्यकताअनुसार सुरक्षित र नियन्त्रित तवरले डेटा पठाउन वा सेयर गर्न झन सजिलोगरी सक्नेछन्। अबको पाँच वर्षमा ब्लकचेनका कारण स्वास्थ्य क्षेत्रको अनावश्यक समय, लगानी र मानव स्रोतमा कटौती भएर प्रभावकारिता र छारितोपना ह्वात्तै बढ्ने आँकलन गरिएको छ। 

६) स्टेम सेल थेरापी 

हामी सबै व्यक्ति कुनै बेलामा एक कोषिका मात्रको अवस्थामा थियौँ। त्यसपछि द्विकोषिका हुँदै कोषहरूको संख्या अनवरत रुपमा गुणा हुँदैहुँदै वृद्धि हुने शिलशिलामा भ्रुण बनेर थप विकसित भएपछि हामी जन्मिएका हौँ।

जो व्यक्तिको लागि आवश्यक हो सोही व्यक्तिको निश्चित तन्तु झिकेर विशिष्टकृत पद्धतिले भ्रुणावस्थाको त्यस्तो स्टेजमा फर्काइन्छ कि जुन स्टेजबाट प्राकृतिक रुपले गर्भावस्थामा हुने झैँ गरी तोकिएका र योजना गरिएका सद्धे तन्तुहरू पलाउने गरी खराब तन्तुलाई क्रमश: बिस्थापित गरिन्छ।  

जिन एडिटिङ विधिमा झैँ यसमा पनि कानूनी र अपराधिक सम्भावनाका पक्षहरूलाई कडा निगरानी गर्ने गरिन्छ। प्राविधिक रुपले भने यो प्रविधिलाई पनि क्रान्तिकारी नै मान्न सकिन्छ।  

७) बायो बैंक 

यो प्रविधि भनेको कुनै पनि व्यक्तिको हेल्थ डेटा मात्र नभएर उसको तन्तुको प्राविधिक जानकारी, अघि व्यक्त गरेजस्तो स्टेम सेल बनाउन सकिने शरीरको भागलगायत उक्त व्यक्तिको जिनको पूरापूर जानकारी भण्डारण गरेर राखिने कन्सेप्टलाई बायो बैंक भनिन्छ।  

यसको उपयोगिता भनेको कोही व्यक्तिको उपचार प्रक्रियाका लागि जानकारीको आधारशीलाका रुपमा काम गरोस् र निर्णय प्रक्रिया तथ्यपरक, तर्कपरक र प्रमाणमा आधारित रहन सकोस् भन्ने नै हो। कडा र असाध्य रोग लागेको बखतमा यो कन्सेप्टले सञ्जीवनीको काम गर्दछ।  

८) रोबोटिक्स 

सर्जनहरूले रिमोट कन्ट्रोलद्वारा रोबोटको आर्म चलाएर सर्जरी गर्न थालेको धेरै नै भइसकेको छ तर समयक्रमसँगै लामो समयसम्म अटोमोडमा राखेर सर्जरीका निश्चित प्रक्रिया गर्न सकिने, एआईले प्रत्येक कदम गाइड गर्ने वा नमिलेको ठाउँमा सच्च्याइदिने समेत सम्भव भइसकेको छ।

अब आएर त झन् सिक्स-जी तहको इन्टरनेटको उपलब्धतासँगै रियल टाइममा नै 'रिमोट रोबोटिक सर्जरी' गर्न मिल्ने जस्ता थप सुविधा थपिँदै गएको छ। 

१०) थ्रीडी प्रिन्टिङ

बायोमेडिकल इञ्जिनियरिङको स्कोप बढ्दै गएर प्रोस्थेसिस र म्याटरियल साइन्स छुट्टै सहायक विधाका रुपमा फस्टाइरहेको छ। यस्ता धेरै अवस्थाहरू छन् जसमा फरक-फरक म्याटरियलबाट बनेका प्रोस्थेसिस वा कृत्रिम अंग वा कुनै निश्चित कृत्रिम भागको जरुरत पर्दछ। तर मान्छेपिच्छेको साइज वा परिस्थिति फरक पर्ने हुँदा 'ओन साइज फिट्स अल' भन्दा पनि छुट्टाछुट्टै 'टेलर-मेड'  प्रोस्थेसिस तयार गर्नु उपयुक्त रहन्छ। त्यसका लागि थ्री डी प्रिन्टिङ एक गेम चेन्जरका रुपमा उदाएको छ।

हाइ रिजोलुसन फोटोग्राफी वा भिडियोग्राफी लिएपछि एआईको सहयोगले पत्ता लगाएको साइज र सेपमा व्यक्ति-विशेष प्रोस्थेसिस र परिस्थिति-विशेष कृत्रिम अंग तयार हुनसक्दछ। यसमा उत्पादनको प्रोसेसिङ समय छोट्ट्याउन अनुसन्धानबेत्ताहरू रात-दिन लागिरहेका छन्। 

११) भर्चुअल रियालिटी  

सिनेमा हलमा विशेष चस्मा लगाएर हेरिने थ्रीडी फिल्मसँग केही हदसम्म तुलना हुनसक्ने गरी एउटा हेडसेट लगाएको भरमा दुरुस्तै त्यही दुनियाँमा पुगेजस्तो महसुस हुनु नै भर्चुअल रियालिटी हो। अझ त्यसमा छोएको बेलामा हुने महसुस समेत थप हुनसक्दा त्यो एक तह माथि अग्मेण्टेड रियालिटीमा रुपान्तरित हुन पुग्दछ।

हेल्थ सेक्टरमा यसको प्रयोग खास गरेर मेडिकल एजुकेशन, ट्रेनिङ र सर्जरी प्राक्टिस गर्ने सिमुलेसनका लागि व्यापक रुपमा हुने गरेको छ। यसका अलावा बिरामीलाई रोग, त्यसको कारण, प्रस्तावित उपचारको काम गर्ने तरिका र निको हुने मार्गचित्रका सम्बन्धमा छर्लंग हुने गरी बुझाउन सकिन्छ। 

१२) टेलि केयर  

अघि रोबोटिकको बुँदामा उल्लेख गरिएजस्तै अहिले एआईको प्रयोगले मुहार हेरेर, छाला हेरेर, एउटा यन्त्र समाएको भरमा झन्डै सयमा सय मिल्ने गरी धेरैभन्दा धेरै तथांकहरू जेनेरेट गरिदिन्छ। त्यसैलाई डाक्टर र अस्पताल वा क्लिनिकको सेड्युलमा मिलान गरेर धेरै स्वास्थ्योपचारका विषयहरू टेलि केयरबाटै हल गर्न सकिन्छ। पूरापूर उपचारका लागि यसैमा भर पर्न नसकियता पनि फलोअप, थप सल्लाह, सेकेन्ड ओपिनियन आदिका मामलामा यो विधिले सबै पक्षको मन जित्दैछ। 

यति पढिसक्दासम्म धेरैको मनमा खेलिरहेको हुनसक्ने दुई प्रश्नहरू यी हुन सक्छन्। पहिलो, यी त विकसित देशका कुरा पो भए हाम्रो देशमा त कहिले हो कहिले?

अर्को, हाम्रा नाति-पनातिको पालासम्म त आउला कि? कुरो त्यसो होइन। एआई, ब्लकचेन, टेलिकेयर जस्ता विषय नेपालमा पनि जगजगाएर आइरहेको छ। अन्य सुविधाहरू पनि समयक्रममा आउने नै छ किनकि ढिलो-चाँडो नेपालमा पनि नयाँनयाँ प्रविधि, ग्याजेट र मेसिनले प्रवेश र स्वागत पाइरहेकै छ भने यी प्रविधिले पनि स्वागत नपाउने भन्ने कुरै छैन। 

(यो बिजनेस न्युजको अनलाइन म्यागेजिन टेकएरामा प्रकाशित भएको लेख हो।)


प्रकाशित : शनिबार, असार २८ २०८२१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend