काठमाडौं- भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटमा मानवीयसँगै जलविद्युतलगायत विभिन्न संरचनामा पुगेको क्षतिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले दु:ख व्यक्त गर्दै जतिसक्दो छिटो क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न आग्रह गरेको छ।
चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी)मा मंगलबार आएको बाढीले नुवाकोट र रसुवामा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ।
यस्तै, बाढीले नेपाल र चीनलाई जोड्ने मितेरी पुल बगाएको छ भने टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत ठूलो क्षति पुगेको छ। उक्त बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिँदा ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको इप्पानले जनाएको छ।
बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ए जलविद्युत, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युतको उत्पादन बन्द भएको छ। यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने त्रिशूली ३बी हब सबस्टेसनमा क्षति भएका कारण उत्पादन बन्द भएको इप्पानको भनाइ छ।
देवीघाट, त्रिशूली र त्रिशूली ३ए बाहेक अन्य सबै जलविद्युत आयोजना निजी क्षेत्रसमेतको सहभागीतामा निर्माण भएका आयोजना हुन् भने निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत आयोजना हुन्।
त्यस्तै, निर्माणाधीन आयोजनाहरुमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३बी जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ।
'त्रिशूली नदी करिडोरको विद्युत प्रसारण गर्ने त्रिशूली ३बी हब सबस्टेसन र प्रसारणलाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौँ रूपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने देखिन्छ', इप्पानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
इप्पानले भनेको छ, 'टिमुरे सुक्खा बन्दरगाहबाट दर्जनौँ मालवाहक कन्टेनर र भन्सार बिन्दुमा राखिएका सयौँ गाडीहरुसमेत बाढीले बगाएको, निर्माणाधीन सुक्खा बन्दरगाह पूर्णरुपमा खण्डहर बनेको र नेपाल-चीन मुख्य व्यापारिक नाकाको पुल नै बगाउँदा यसले नेपाली व्यवसायीहरुमा पारेको प्रभावप्रति पनि गहिरो दु:ख व्यक्त गर्दछौँ। नेपाल र चीनबीच वार्षिक १ खर्ब रूपैयाँभन्दा बढीको व्यापार हुने मुख्य नाका बन्द हुँदा यसले नेपाल सरकारको राजस्व संकलनमा समेत गम्भीर असर पार्ने हुँदा जतिसक्दो छिटो नाका सुचारु हुने वातावरण बनाउन पनि सरकारसँग आग्रह गर्दछौँ।'
बाढीपहिरोले विध्वंश मच्चाइरहेको बेलामा समेत रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ३६ जनासहित करिब १५० जना नागरिकको उद्धारमा सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले देखाएको तदारुक्ताको लागि सम्बद्ध सबै निकायलाई धन्यवाद व्यक्त गर्दै इप्पानले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्यहरु अघि बढाउन पनि सरकारसँग आग्रह गरेको छ।