बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जावलाखेल ग्रुपको मदिरा व्यापार ओरालोतर्फ, दुई वर्षमा ५ अर्बभन्दा बढीले घट्यो व्यापार

बिहीबार , असार २६ २०८२
जावलाखेल ग्रुपको मदिरा व्यापार ओरालोतर्फ, दुई वर्षमा ५ अर्बभन्दा बढीले घट्यो व्यापार

वित्तीय विवरण अनुसार सन् २०२४ मा समूहले ११ अर्ब ७१ करोड ९० लाख रुपैयाँको मदिरा व्यापार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले घटेको हो।

काठमाडौं- व्यावसायिक घराना जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको मदिरा कारोबारमा पछिल्ला वर्षहरूमा ओरालो लागेको देखिएको छ। ग्रुपअन्तर्गतको वितरण कम्पनी जेजिआई डिस्ट्रीब्युसन प्रालिले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सन् २०२४ मा समूहले ११ अर्ब ७१ करोड ९० लाख रुपैयाँको मदिरा व्यापार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले घटेको हो।

सन् २०२३ मा कम्पनीको कारोबार १३ अर्ब ६२ करोड ५० लाख रुपैयाँ पुगेको थियो भने त्यसअघिको वर्ष २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँबराबरको मदिरा बिक्री भएको थियो।

लगातार दुई वर्ष कारोबार घटेसँगै समूहको बजार हिस्सामा समेत प्रभाव परेको देखिएको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ग्रुपले आठ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरको मदिरा व्यापार गरिसकेको छ।

कम्पनीले आर्थिक मन्दी र सरकारद्वारा निरन्तर बढाइएको अन्तःशुल्कले लागत वृद्धिको असर परेको बताएको छ। लागत बढेसँगै बजारमा मूल्य प्रतिस्पर्धा गर्न कठिन भएको र बिक्रीमा गिरावट आएको समूहको भनाइ छ। यहीबीच सन् २०२३ को नाफाबाट कम्पनीले ६९ प्रतिशत मात्र लाभांश वितरण गरेको छ। यसअघि सन् २०२२ मा वितरण गरिएको लाभांश १५२ प्रतिशत रहेको थियो।

जेजिआईले हालै तीन अर्ब चार करोड रुपैयाँ बराबरको ऋण रेटिङ समेत गराएको छ। समूहले सार्वजनिक गरेको विवरण अनुसार, सन् २०२३ मा कम्पनीको कुल आम्दानीमा गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन ब्रान्डीको हिस्सा ५९ प्रतिशत रहेको छ।

ब्राउन स्प्रिटमा कम्पनीको बजार हिस्साले अझै पनि बलियो उपस्थिति देखाएको छ। गोल्डेन ओक र ब्लु डाइमन्ड जिनको मात्रै हिस्सा ६६ प्रतिशत पुगेको कम्पनीले जनाएको छ।

कम्पनीले देशभर २४० वटा डिलर र पाँचवटा वयेरहाउसमार्फत आपूर्ति सञ्जाल विस्तार गरेको छ। सन् २०१६ मा स्थापना गरिएको जेजिआईले जावलाखेल समूह अन्तर्गतका हिमालयन डिस्टिलरी लिमिटेड, विजय डिस्टिलरी, एसियन डिस्टिलरी र रोलिङ रिभर डिस्टिलरीले उत्पादन गरेका मदिरा ब्रान्ड तथा राज ब्रुअरीले उत्पादन गर्ने बडवाइजर बियरको वितरण गर्दै आएको छ।

ग्रुपभित्र चारवटा डिस्टिलरी, एक ब्रुअरी र एक अनुसन्धान इकाई रहेका छन्। यस समूहको एकमात्र स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड हो, जसले हालसम्म लगानीकर्तालाई सन्तोषजनक लाभांश दिँदै आएको छ।

विजयबहादुर शाह र उनका छोरा राजबहादुर शाह स्वामित्व रहेको यस समूहमा बुबाको ५५ र छोराको ४५ प्रतिशत स्वामित्व छ। समूहका अध्यक्ष तथा प्रबन्ध सञ्चालक विजयबहादुर शाहले सन् १९७३ मा जावलाखेल डिस्टिलरी स्थापना गर्दै मदिरा उद्योगमा प्रवेश गरेका थिए। पहिलोपटक सेतो मदिरा रुस्लान भोड्का उत्पादन गरेर बजारमा छिरेका उनी चार दशकभन्दा बढी समयदेखि मदिरा तथा पेय पदार्थ उत्पादनमा संलग्न छन्।

राजस्वतर्फ पनि जावलाखेल समूह अग्रपंक्तिमा रहँदै आएको छ। अध्यक्ष विजयबहादुर शाह र राजबहादुर शाह पछिल्ला दुवै वर्षहरूमा व्यक्तिगत रूपमा सर्वाधिक कर तिर्ने व्यवसायीको सूचीमा परेका छन्। उनीहरूलाई सरकारद्वारा नियमित रूपमा सम्मानित पनि गरिएको छ।


प्रकाशित : बिहीबार , असार २६ २०८२०७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend