मुस्ताङ- लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी गाउँनजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको पहाड देख्न सकिन्छ। उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको जोमसोम-कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको यो राताम्मे पहाड यहाँको लोघेकर दामोदरकुण्ड-२ ढाक्मर गाउँनजिकै अवस्थित छ।
पहाड प्राकृतिकरूपमा आफै राताम्मे भएको अनुमान गरिए पनि ढाक्मर पहाड राताम्मे हुनुको कारण धार्मिक किंवदन्तीसँग जोडिएको स्थानीय बताउँछन्। भौतिक पूर्वाधार निर्माण गर्न थालेसँगै ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउन थालेका छन्। पछिल्लो समय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई जोड दिन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको लोघेकर दामोदरकुण्ड गाउँपालिका कार्यालयले जनाएको छ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेलका अनुसार ढाक्मर पहाड राताम्मे हुनको पछाडि गुरु पद्यसम्भवको कथासँग जोडिएको छ। 'आठौँ शताब्दीताका मुस्ताङको घमी खोला नजिक उत्तरतर्फ गुरु पद्यसम्भवले धर्मविरोधी राक्षसको भुँडी चिरेर आन्द्राभुँडी घमी खोलामा फ्याँकेको र त्यस क्रममा राक्षसको रगत निकालेर ढाक्मर गाउँको विशाल पहाडमा मिल्काइएकाले उक्त पहाड राताम्मे भएको किंवदन्ती छ', उनले भने।
घमी खोलानजिक राक्षसको आन्द्राभुँडी निकालेर फालेकाले त्यहाँ राक्षसको आन्द्राभुँडी आकृतिको करिब २०० मिटर लामो पर्खाल निर्माण गरिएको छ। राक्षसको रगतले पोतिएकाले ढाक्मरको विशाल पहाड रातो हुन पुगेको धार्मिक जनविश्वास रहेको अध्यक्ष छोम्फेलको भनाइ छ।
ढाक्मर गाउँनजिकको विशाल पहाडको लम्बाइ करिब दुई किलोमिटरभन्दा बढी छ। उत्तरी कोरलानाका र उपल्लो मुस्ताङको भ्रमण गर्ने जोकोही पर्यटकले मुस्ताङको घमी पुग्दा यहाँँ अवस्थित राताम्मे पहाड देख्न सक्छन्। 'यहाँको पर्यटन प्रवर्द्धन तथा आवश्यक प्रचारप्रसार नहुँदा कलात्मक पहाड र ऐतिहासिक महत्त्वबारे पर्यटन बेखबरजस्तै हुने गरेका पायौँ', उनले भने।
ऐतिहासिक तथा धार्मिक मान्यता रहेको कलात्मक छिद्रछिद्रमा एक सयभन्दा बढी गुफा रहेका अध्यक्ष छोम्फेलले जानकारी दिए। यहाँ थुप्रै छिद्रछिद्र गुफा रहे पनि ढाक्मर गाउँनजिक जियो पार्क आसपास रहेको पहाडमा अवस्थित केही गुफालाई पर्यटकीय हबका रूपमा विकास गर्ने लक्ष्यअनुसार पूर्वाधार निर्माण भइरहेको उनले उल्लेख गरे।
ढाक्मर गाउँको जियोपार्क सम्पदासँग जोडिने गरी यहाँको अग्लो स्थानस्थित गुफासम्म पुग्न गाउँपालिकाले रेलिङसहितको सिँढी बाटो निर्माण गरेको अध्यक्ष छोम्फेलको भनाइ छ। 'जियो गुफासम्म पुग्न अहिले केही कठिन छ। चालु वर्ष हामीले १५ लाख रूपैयाँ खर्च गरेर गुफासम्मको रेलिङ र सिँढीसहित आधा बाटो निर्माण गरेका छौँ', अध्यक्षले भने, 'आगामी आवमा गुफासम्म पुग्ने सम्पूर्ण पूर्वाधार निर्माण गर्नेगरी २५ लाख रूपैयाँ बजेट विनियोजन गरेका छौँ, अब यस क्षेत्रको पर्यटन विकासमा गाउँपालिकाले योजनाबद्ध काम गर्नेछ।'
ढाक्मर गाउँनजिकको पहाडमा करिब दुई हजार वर्ष पहिले खोपेर गुफैगुफा निर्माण गरिएको लोघेकर-२ का वडाध्यक्ष थुक्तेन छिरिङ गुरुङले उल्लेख गरे। 'यहाँ बस्ती निर्माण हुनुअघि यहाँका पहाड मानिसले खोपेर गुफा बनाइ आश्रय लिने गरेका जानकारहरू बताउँछन्। यहाँ दर्जनौँ छिद्रछिद्र गुफाहरू अवस्थित छन्', उनले भने।
गाउँनजिक रहेका गुफालाई स्थानीय र पालिकाको सहकार्यमा जियो पार्कका रूपमा विकास गर्न सुरु गरिएको वडाध्यक्ष गुरुङले जनाए। जियोपार्क गुफामा विदेशी पर्यटक ध्यानसाधना गर्न आउने गरेका उनको भनाइ छ। 'राताम्मे जियोपार्क गुफाबाट नीलगिरि हिमाल र आसपासका हिमशृङ्खला मनमोहक र सुन्दर देखिन्छन्। यसलाई ध्यानसाधना केन्द्रमात्रै होइन, दृष्यावलोकन गर्न मिल्नेगरी पूर्वाधार निर्माण भइरहेका छन्', उनले भने।
जियोपार्क गुफा प्रवर्द्धन गर्न लोघेकर दामोदरकुण्डसँगै सामाजिक विकास कार्यालय मुस्ताङले पनि सहकार्य गरेको छ। कार्यालयले मानवनिर्मित जियोपार्क गुफामा रेलिङसहितको जियो प्रोटेक्सनवाल निर्माण गरिरहेको कार्यालयका प्रमुख निरपति दर्जीले जानकारी दिए।
उनले गुफाबाट सजिलै बिनाजोखिम दृष्यावलोकन गर्न सकिने गरी चालु आवमा १० लाख रूपैयाँ बजेट खर्चिएर वाल निर्माण गरिएको बताए। यहाँ पर्यटकीय सम्भावना बढी रहेकाले पर्यटन प्रवर्द्धन गर्न स्थानीयवासीसँग सहकार्य गरिएको उल्लेख गरे।
कृषि र पशुपालन व्यवसायमा आश्रित ढाक्मर गाउँका स्थानीय बिस्तारै पर्यटनसँग जोडिने दर्जीले बताए। 'सोही कारणले यहाँ ठूलो क्षेत्रफलमा हरियाली जियोपार्क निर्माण गरिसकेका छौँ। केही वर्षअघि पार्क वरिपरि प्रदेश सरकारले ३० लाख रूपैयाँबाट कम्पाण्ड घेराबार गरेको थियो। साथै पार्कभित्र छप्पनी ढुंगा बिच्छ्याएर पेटी निर्माण भएको छ', उनले भने।
पार्कलाई पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीयले ६५ लाख रूपैयाँ चन्दा संकलन गरी विशाल बुद्धको मूर्ति स्थापना गरिएको स्थानीयको भनाइ छ। जोमसोम-कोरला सडकबाट पश्चिमतर्फको दुई किमी दुरीमा ढाक्मर गाउँ पुग्न सकिन्छ। मुस्ताङको घमी हुँदै पनि ढाक्मर गाउँ पुग्न सकिन्छ। यहाँको कच्ची सडक हुँदै विश्वको पहिलो र पुरानो दाबी गरिएको मराङमा अवस्थित लोघेकर अर्थात् घर गुम्बा पुग्न सकिन्छ। रासस