गण्डकी- जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य जोखिमलाई दृष्टिगत गरी जिल्लाका विभिन्न सडकखण्डमा सवारीसाधन सञ्चालनका लागि समय तालिका निर्धारण गरेको छ।
कार्यालयले बुधबार सूचना जारी गर्दै मनसुनका कारण सम्भाव्य मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ बुधबारदेखि नै लागु हुनेगरी १५ दिनका लागि अत्यावश्यकबाहेक सार्वजनिक तथा निजी सवारीसाधनमा समय तालिका निर्धारण गरेको हो।
यसअघि गत सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार समय तालिका निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा जनाइएको छ।
सूचनाअनुसार घान्द्रुक, उल्लेरी र लान्द्रुक जाने सडक (वीरेठाँटी-घान्द्रुक, वीरेठाँटी-उल्लेरी र लुम्ले-लान्द्रुक) मा सञ्चालित सवारीसाधनले बिहान पाँच बजेपछि मात्र प्रस्थान गर्न पाइने छ। त्यस्तै, साँझ पाँच बजेभित्र आफ्नो प्रस्थान विन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्ने जनाइएको छ।
काहुँखोलाबाट ताङ्तिङ जाने सवारीसाधनले बिहान पाँच बजेपछि मात्र यात्रा सुरु गर्नसक्ने र साँझ साढे चार बजेभित्र प्रस्थान बिन्दुबाट छुटिसक्नुपर्ने तालिका निर्धारण गरिएको प्रशासनले जनाएको छ। रासस