आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

बेमौसमी बन्दाखेतीबाट वार्षिक एक करोडभन्दा बढी रकम भित्र्याउँछन् टिकोटका कृषक

images
आइतबार, असार २२ २०८२
images
images
बेमौसमी बन्दाखेतीबाट वार्षिक एक करोडभन्दा बढी रकम भित्र्याउँछन् टिकोटका कृषक

टिकोटका कृषकहरूद्वारा उत्पादित तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायत विभिन्न स्थानमा बिक्री हुने गरेको छ।

images
images

म्याग्दी- जिल्लाको अन्नपूर्ण गाउँपालिका-७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक एक करोड रूपैयाँभन्दा बढी रकम गाउँमा भित्र्याउने गरेका छन्।

images
images

अनुकूल भूगोल र हावापानी, राम्रो बजारभाउ पाउने र आयआर्जन गर्न सकिने भएपछि पाउद्धारका बासिन्दाले बर्खामा कोदो, मकै रोप्ने बारीमा बन्दाखेती गर्न थालेका हुन्।

images
images

अन्नपूर्ण-७ का वडासदस्यसमेत रहेका कृषक बुद्धिवीर पुनले टिकोटका एकसय परिवारमध्ये अधिकांशले बन्दाखेती गरेका बताए। 'गत वर्ष एक करोड रूपैयाँ बराबरको बन्दा बिक्री भएको थियो', उनले भने, 'यसपाली कृषक र क्षेत्रफलसँगै बन्दाको उत्पादन तथा आम्दानी बढ्ने अपेक्षा गरेका छौँ।' उनका अनुसार एकजना कृषकले एक लाखदेखि सात लाख रूपैयाँसम्मको बन्दा बिक्री गरिरहेका छन्।

images
images
images

तीन-चार वर्षअघिसम्म पुनसहित टिका पाइजालगायत पाँच जनाले टिकोटमा बन्दा खेती सुरु गरेका थिए। दुई हजार २५० मिटर उचाइमा उच्च पहाडी भूगोलमा अवस्थित टिकोटको बेमौसमी बन्दाले बजार पाएपछि पछिल्लो तीन वर्षयता कृषकहरू यसतर्फ आकर्षित भएका हुन्।

खाद्यबालीको तुलनामा छिटो र नगद आम्दानी हुने भएकाले बन्दाखेती सुरु गरेको टिकोटका कृषक मनराज गर्बुजाले बताए। गत वर्ष एक लाख रूपैयाँको बन्दा बेचेको जनाउँदै उनले यस वर्ष १४ रोपनी जग्गामा कोदो र मकैको विकल्पमा बन्दाखेती गरिरहेको उल्लेख गरे।

जेठमा लगाएको बन्दा असारको अन्तिम सातादेखि बजार पठाउने हुन्छ। भदौ महिनासम्म बिक्री गर्न मिल्ने गरी यहाँका कृषकले फरकफरक समयमा बेर्ना सारेका मनराजले जानकारी दिए। उनका अनुसार गत वर्ष प्रतिकिलो ५० रूपैयाँका दरले बन्दा बिक्री भएको थियो। 

टिकोटका कृषकहरूद्वारा उत्पादित तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायत विभिन्न स्थानमा बिक्री हुने कृषक टिका पाइजा पुनले बताए। रासायनिक मल र विषादीको प्रयोगबिना तरकारीखेती भइरहेको बताउँदै उनले विषादीको विकल्पमा गाईभैँसीको गहुँत र गोबर प्रयोग गर्ने गरिएको जानकारी दिए।

'रासायनिक मलको विकल्पमा स्याउला, पातपतिङ्गर र गाईवस्तुको गोबर कुहाएर मल बनाउँछौँ', उनले भने, 'प्रांगारिक प्रविधिबाट उत्पादन भएका बेमौसमी बन्दाले बजार र उचित मूल्य पाएकाले कृषक उत्साहित छौँ।'

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिकाले टिकोमा ‘तरकारी पकेट कार्यक्रम’ सञ्चालन गरेको छ। पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविमिा सहयोग गरिरहेको गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा १२ लाख रूपैयाँ बजेट विनियोजन गरेको उल्लेख गर्दै टिकोट तरकारी पकेट कार्यक्रमका लागि आगामी आवका लागि थप ६ लाख रूपैयाँ रकम विनियोजन भएको जानकारी दिए। रासस


प्रकाशित : आइतबार, असार २२ २०८२१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend