काठमाडौं- आज राष्ट्रिय धान दिवस मनाउँदै देशभर रोपाइँ गरिएको छ। विस २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो।
असार १५ कै अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पनि रोपाइँ गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँमा राष्ट्रपति रामचन्द्र पौडेल, उनकी पत्नी सविता पौडेललगायत सहभागी भए।
रोपाइँ आरम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण गर्दै यसलाई व्यावसायिक बनाउनुपर्ने बताए। कृषिलगायत सबै किसिमका श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए।
साथै कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय किसान आयोग र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क)द्वारा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा धान रोपेका छन्।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।









