काठमाडौं- नेपालको बैंकिङ प्रणाली विगत दुई वर्षयता निकै ठूलो दबाबमा छ। अर्थतन्त्रले अपेक्षित गति नलिएकाले कर्जा लगानी बढ्न सकेको छैन।
बैंकिङ प्रणालीमा खर्बौँ लगानीयोग्य रकम थुप्रिएको छ भने कर्जा र निक्षेपको ब्याजदर घटेर न्यून बिन्दुमा आएको छ। निक्षेपको भारित औषत ब्याजदर घटेर ४.३७ प्रतिशत र कर्जाको भारित औषत ब्याजदर ८.१५ प्रतिशतमा आएको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ।
निक्षेपमा आएको निरन्तरको गिरावटले खासगरी वाणिज्य बैंकहरूको आधार दर ६.१७ प्रतिशतमा आएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरूको आधार दर २.१७ प्रतिशत बिन्दुले घटेको छ।
आधार दर बैंकहरूले ऋणीलाई कर्जा दिनसक्ने न्यूनतम ब्याजदर हो। आधार दरभन्दा घटेर बैंकहरूले कर्जा लगानी गर्न सक्दैनन्।
राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार बैंकहरूले प्रत्येक महिना आधार दर प्रकाशन गर्नुपर्ने व्यवस्था छ। निक्षेपको ब्याजदर घट्नासाथ बैंकहरूको कष्ट अफ फण्ड घट्छ। कष्ट अफ फण्ड घट्दा बैंकहरूको आधार दर पनि घट्छ।
आधार दरको सम्बन्ध बैंकहरूको स्प्रेड दरसँग जोडिएको छ। स्प्रेड दर बैंकहरूले कर्जामा लिने ब्याजदर र निक्षेपमा दिने ब्याजदरबीचको अन्तर हो। यही स्प्रेड दरभित्र नै बैंकहरूका सम्पूर्ण आर्थिक क्रियाकलापहरू सञ्चालन हुन्छन्। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता, अपेक्षितरुपमा कर्जा लगानी हुन नसक्नु र ब्याजदरमा आएको निरन्तरको गिरावटले वाणिज्य बैंकहरूको स्प्रेड दर घटेको छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूले स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ तर पछिल्लो पटक बैंकहरूको औषत स्प्रेड दर ३.७४ प्रतिशतमा आएको छ। स्टाण्डर्ड चार्टर्ड बैंक र एनआइसी एसिया बैंकबाहेक अधिकांश बैंकहरूको स्प्रेड दर राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल आएको छ।
विगतमा बैंकहरूबीच नाफा बढाउनका लागि प्रतिस्पर्धा नै चल्ने गर्थ्यो। तर स्प्रेड दर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कायम गर्ने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम बिन्दुभित्र रहनेगरी निक्षेप तथा कर्जा परिचालन गर्दै आएका थिए।
पछिल्लोपटक बैंकहरूको स्प्रेड दरमा गिरावट आउनुका पछाडि अधिक तरलता प्रमुख कारण भएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला बताउँछन्। अधिक तरलतासँगै कर्जा प्रवाहमा आएको कमीले बैंकहरूको आधार दर निरन्तर घट्दै जानु र शून्य प्रिमियम दरमा कर्जा लगानी गर्ने अवस्था आएकाले बैंकहरूको स्प्रेड दर राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल आएको हो।
'बैंकिङ प्रणालीमा भएको अधिक तरलता र न्यून ब्याजदरले बैंकहरूको स्प्रेड दर घट्दै गएको छ। खासगरी कर्जाको ब्याजदर तीब्ररुपमा घटेको छ। बैंकहरूको आधार दर घट्नु पनि यसको प्रमुख कारण हो। अर्कोतर्फ ग्राहकहरूले आधार दरमै अर्थात शून्य प्रिमियम दरमा नै कर्जाको माग गरिरहेका छन्। बैंकहरूले पनि बाध्यात्मकरुपमा आधार दरमै कर्जा लगानी गर्नु परिरहेको छ। जसले गर्दा बैंकहरूको स्प्रेड दर औषत ३.७२ प्रतिशतको हाराहारी आइपुगेको हो', कोइरालाले बताए।
कर्जा लगानी नबढेको भन्दै बैंकहरूले शून्यदेखि एक प्रतिशत हाराहारीमा प्रिमियम दर तोकेर कर्जा लगानी गरिरहेका छन्। आधार दरमा आएको गिरावट र न्यून प्रिमियम दरमा कर्जा लगानी गर्दा बैंकहरूको स्प्रेड दरमा दबाब देखिएको हो।
स्प्रेड दरमा कमी आउनु भनेको वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानीसँगै खुद नाफा र वितरणयोग्य नाफामा पनि कमी आउनु हो। अर्थतन्त्रमा कर्जा लगानीको माग हुन नसकेमा बैंकहरूको वित्तीय स्थिति थप जोखिमपूर्ण बन्ने देखिएको छ।
यही अवस्था लामो समयसम्म रहेमा बैंकहरूलाई सञ्चालन खर्च नै धान्न कठिन हुने अध्यक्ष कोइराला बताउँछन्। 'बैंकहरूको स्प्रेड दर औषत ३.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म आउने स्थिति सृजना भएमा बैंकहरूलाई सञ्चालन खर्च धान्न कठिन हुने देखिन्छ। अहिले बैंकहरूको खुद ब्याज आम्दानीमा चाप परिसकेको छ। अर्कोतर्फ कर्जा असुली नहुँदा बैंकहरूको यसै पनि दबाबमा छन्। पुँजीकोषमा उच्च दबाब भएकाले कतिपय बैंकहरूले कर्जा लगानी गर्नसक्ने अवस्था छैन', कोइरालाले बताए।
मंगलबार राति राष्ट्र बैंकका गभर्नरसहित उच्च अधिकारीहरू र नेपाल बैंकर्स संघमा भएको छलफलमा अध्यक्ष कोइरालाले संघका तर्फबाट उक्त समस्याको जानकारी गराइसकेका छन्।
बैंकिङ क्षेत्रमा देखिएको समस्याहरू न्यून स्प्रेड दर, पुँजीकोष र खराब कर्जाको समाधानस्वरुप आगामी मौद्रिक नीति आउनुपर्ने विषयमा गभर्नर विश्वनाथ पौडेल र राष्ट्र बैंकका अधिकारीहरूलाई नेपाल बैंकर्स संघले ध्यानाकर्षण गराएको अध्यक्ष कोइरालाले बताए।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको स्प्रेड दर ३.८६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.९४ प्रतिशत र कृषि विकास बैंकको ३.९३ प्रतिशतमा आएको छ।
यस्तै यस अवधिमा सबैभन्दा न्यून स्प्रेड दर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.४५ प्रतिशतमा आएको छ। कम स्प्रेड दर हुने बैंकहरूको सूचीमा कुमारी बैंक दोस्रो स्थानमा रहेको छ। यस बैंकको स्प्रेड दर ३.५२ प्रतिशतमा आएको छ।
हिमालयन बैंकको स्प्रेड दर ३.५५ प्रतिशत कायम भएको छ। यस्तै नबिल बैंक स्प्रेड दर ३.५७ प्रतिशतम आएको छ।
यस्तै सानिमा बैंकको ३.६० प्रतिशत, प्राइम कमर्सियल बैंकको ३.६५ प्रतिशत, एभरेष्ट बैंक र लक्ष्मी सनराइज बैंकको ३.६७ प्रतिशत, नेपाल एसबीआई बैंक र ग्लोबल आइएमई बैंकको ३.७७ प्रतिशत, सिटिजन्स इन्टरनेशनल बैंकको ३.८३ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.८७ प्रतिशत, एनएमबि बैंकको ३.८० प्रतिशत र प्रभु बैंकको स्प्रेड दर ३.९० प्रतिशतमा आएको छ।
यसअघि बैंकहरूले आरओए (रिटर्न अन एसेट्स) को ०.७५ प्रतिशत बिन्दु आधार दरमा जोड्न पाउँथे। यसअघि बैंकहरूको ब्याजदर धेरै भएको भन्दै राष्ट्र बैंकले उक्त व्यवस्था हटाएको थियो।
निक्षेपको लागत (कष्ट अफ फण्ड) , सञ्चालन खर्च, नियामकीय प्रावधानहरू (अनिवार्य नगद मौज्दात (सीआरआर) र एसएलआर), अवधिका आधारमा कर्जामा निहित जोखिम प्रिमियम, बैंकको सम्भावित नाफालगायतका शीर्षकहरू जोडेर बैंकहरुले आधार दर गणना गर्दै आएका छन्।
उक्त शीर्षकहरुमा विगतमा आरओए हुनेमा पछिल्लो समय हटाइएको छ। ब्याजदर अधिक हुँदा हटाइएको ०.७५ प्रतिशतसम्म आरओए जोड्न पाउने व्यवस्था अहिले ब्याजदर घटेको समयमा आधार दरमा जोड्न दिएर स्प्रेड दरलाई केही हदसम्म बढाउन सकिने कोइरालाले बताए।