शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

पटकपटक विद्युत कटौतीले वीरगञ्जको जनजीवन प्रभावित

images
शुक्रबार, जेठ ३० २०८२
images
images
पटकपटक विद्युत कटौतीले वीरगञ्जको जनजीवन प्रभावित

वीरगञ्ज महानगर बजार क्षेत्रमा बिजुली कतिबेला आउने र जाने कुनै निश्चित छैन। नियमित बिजुली नहुँदा घरायसी र औद्योगिक विद्युतका ग्राहक मर्कामा परेका छन्।

images
images

पर्सा- औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा पटकपटक विद्युत् कटौती हुने समस्याबाट सर्वसाधारण आजित भएका छन्। चर्काे गर्मीका कारणले आत्तिएका सर्वसाधारण बारम्बार विद्युत् आपूर्तिमा समस्या आउँदा जनजीवन प्रभावित भएको छ।

images
images
images

वीरगञ्ज महानगर क्षेत्र र ग्रामीण क्षेत्रमा अनियमित ढंगले विद्युत् विच्छेद हुँदा सर्वसाधारणको दिनचर्या पनि अस्तव्यस्त भएको छ। वीरगञ्ज महानगर बजार क्षेत्रमा बिजुली कतिबेला आउने र जाने कुनै निश्चित छैन।

images
images

नियमित बिजुली नहुँदा घरायसी र औद्योगिक विद्युतका ग्राहक मर्कामा परेका छन्। वीरगञ्ज महानगर-६ मीनाबजारमा व्यापार गर्दै आएका परशुराम कलवारले छिनछिनमा विद्युत् कटौती हुने समस्याले निकै सकस व्यहोर्नुपरेको गुनासो गरे।

images
images
images

'यहाँ तापक्रम बढेर गर्मीले उकुममुकुस भइरहेको छ। त्यसैले विद्युत् झ्याप्पझ्याप्प गएपछि त बाफिएर नै बस्नुपरेको छ', उनले भने, 'शुक्रबार बिहान सवा दुई बजेदेखि साढे तीन बजेसम्मको अवधिमा पनि डेढघण्टाभन्दा धेरै लोडसेडिङको सामना गर्नुपर्‍यो।' उनले पर्याप्त मात्रामा विद्युत् उपलब्ध गराएर सर्वसाधारणलाई सहज ढंगले बस्न पाउने व्यवस्था मिलाउन प्राधिकरणलाई अनुरोध गरे।

पछिल्लो समय वीरगञ्जमा विद्युत् कटौती धेरै हुने गरेको वीरगञ्ज-१५ बसपार्कका रितेश गुप्ताले गुनासो गरे। 'नेपालमा मनसुन भित्रिएको बताए पनि अहिलेसम्म यहाँ त पानी पर्नै सकेको छैन', उनले भने, 'गर्मीकै कारण वीरगञ्ज महानगर आसपासमा एसी तथा पङ्खा नचलाई बस्नै सकिँदैन। त्यसैमा विद्युत् नभएपछि त के हालत होला आफै बुझिहाल्नुहुन्छ नि!'

वीरगञ्जमा विद्युत् आपूर्ति घरायसी ग्राहकमा मात्रै नभएर बारा-पर्साको औद्योगिक क्षेत्रमा पनि विद्युत् कटौतीको समस्या उत्तिकै छ। औद्योगिक क्षेत्रका ग्राहकले विद्युत् नियमित पाउन सकिरहेका छैनन्।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले औद्योगिक क्षेत्रमा अघोषित विद्युत् कटौतीले उत्पादनमा समेत प्रत्यक्ष असर पार्दै आइरहेको बताए। 'औद्योगिक क्षेत्रमा पनि ‘पिकआवर’मा नियमितजस्तै विद्युत् कटौती हुँदै आइरहेको छ', उनले भने, 'यदि विद्युत् उपलब्ध गराउन समस्या हो भने फिडरअनुसार विद्युत् कटौती हुने सूचना दिएको खण्डमा हामीलाई उद्योगधन्दा चलाउन पनि सहज हुने थियो।'

वरिष्ठ उपाध्यक्ष राजपालले औद्योगिक क्षेत्रमा दैनिक ६ घण्टाभन्दा धेरै विद्युत् कटौती हुँदै आइरहेको जानकारी दिए। नियमित र भरपर्दो विद्युत् आपूर्ति नहुँदा उद्योग व्यवसाय धरासायी भएको उनको भनाइ छ। उनले बारा-पर्सा औद्योगिक क्षेत्रमा दैनिक तीन-चार सय मेगावाट भए पनि पर्याप्त मात्रामा प्रसारण लाइन नहुँदा बारम्बार विद्युत् कटौती हुने समस्या भोगिरहेको बताए।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नसक्दा बेलाबखतमा विद्युत् कटौती हुने समस्या कायमै रहेको बताए।

'शुक्रबार बिहानीपख पनि एक घण्टाभन्दा धेरै समय वीरगञ्जमा विद्युतको समस्या देखियो', उनले भने, 'यहाँ विद्युतको माग बढरहेको छ। सोहीअनुसारको आपूर्ति नहुँदा पनि व्यवस्थापनमा चुनौती देखिइरहेको छ।'

प्रमुख दुबेले कार्यालयले विद्युत् कटौतीको समस्यालाई सम्बोधन गर्नका लागि आवश्यक काम गरिरहेको पनि दाबी गरे। 'कुनै  बेला प्राधिकरणको केन्द्रीय ग्रीडकै कारणले पनि विद्युत् आपूर्तिमा समस्या देखिएको छ', उनले भने, 'बेलाबेलामा बिजुलीको मुख्य लाइन, बिजुलीको तार वा ट्रान्सफर्मरलगायतमा हुने आगजनीका कारण मर्मतसम्भार गर्न विद्युत् कटौती गर्नुपरेको छ।'

प्रमुख दुबेले वीरगञ्ज आसपासमा अत्यधिक गर्मी बढेसँगै विद्युतको माग बढ्दा सोहीअनुरूप पूर्वाधार नहुँदा आपूर्तिमा केही असहज भएको बताए। 'गर्मी बढेसँगै यस क्षेत्रमा विद्युतको लोड ह्वात्तै बढेको छ। लोड बढेको अवस्थामा कुनै ठाउँमा आगलागी हुन्छ। कुनै ठाउँमा तार जल्ने गर्छ। सो ठाउँमा मर्मतसम्भारका लागि केही समय लाग्ने गर्छ', उनले भने।

वीरगञ्ज आसपासमा अव्यवस्थित रहेका केबल तथा अन्य इन्टरनेट सेवाप्रदायक कम्पनीका तारमा बारम्बार आगजनी हुने हुँदा समस्या भइरहेको उनको भनाइ छ। तर, पछिल्लो समय वीरगञ्ज महानगर, प्राधिकरण तथा इन्टरनेट सेवाप्रदायक कम्पनीले विद्युतमा अस्तव्यस्त रहेका तारलाई हटाउने कार्यलाई पनि अघि बढाउँदै आइरहेका छन्। रासस


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२१८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend