शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

images
शुक्रबार, जेठ ३० २०८२
images
images
प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

कृष्णचरित्र, घाटु, लामा, झाँक्री, घ्याप्रिङ, झ्याउरे र रोधीलगायत नाचले यहाँको सांस्कृतिक महत्वलाई उजागर गरिरहेका छन्।

images
images

गण्डकी- लहरै गुचमुच्च घरहरू, ढुंगैढुंगाले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा, बीच भागमा जलदेवीको मन्दिर आदि। लम्जुङको मर्स्याङ्दी गाउँपालिका-३ स्थित सिउरुङ गाउँको विशिष्टता हो यो।

images
images
images

गुरुङ जाति बाहुल्य यो गाउँ प्राकृतिक रूपमा जति सुन्दर छ सांस्कृतिकरुपमा पनि उत्तिकै आकर्षक रहेको छ। समुद्री सहतबाट एक हजार ८५४ मिटर उचाइमा रहेको यो गाउँ यतिखेर प्रकृति र संस्कृतिका माध्यमबाट पर्यटक लोभ्याउँदै आएको छ।

images
images

कृष्णचरित्र, घाटु, लामा, झाँक्री, घ्याप्रिङ, झ्याउरे र रोधीलगायत नाचले यहाँको सांस्कृतिक महत्वलाई उजागर गरिरहेका छन्।

images
images
images

गुरुङ जातिका पुराना संस्कृति तथा संस्कार जोगाइराख्न र पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृतिको पुस्तान्तरणका लागि निरन्तर पहल भइरहेको सिउरुङ पर्यटन व्यवस्थापन उपसमितिका सचिव एवम् सिउरुङ घरबास (होमस्टे)का सचिव उमरबहादुर गुरुङले जानकारी दिए। यहाँबाट देखिने हिमालचुली, मनास्लु, डा हर्क पिक, माछापुच्छ्रे, बौद्ध, लमजुङ, अन्नपूर्णलगायत हिमाल आँखै अगाडि देखिनुले पनि यहाँको महत्व अझै बढाएको छ।

उनका अनुसार सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने लक्ष्यका साथ स्थानीयवासी सक्रिय बनेका छन्। गाउँमा कुल ११५ घरधुरी रहेकामा १८ वटा घरमा घरबास सञ्चालन गरिएको छ। सिउरुङमा स्थानीयवासीकै सक्रियतामा विभिन्न कार्यक्रम गर्नका लागि सामुदायिक भवन निर्माण गरिएको छ। घले लामिछाने भाइखलकबाट ६५ लाख रूपैयाँको लागतमा भवन निर्माण गरिएको र अन्य पूर्वाधार निर्माणका कामहरू भइरहेका सचिव गुरुङले जानकारी दिए।

स्थानीयवासीले यहाँ आउने पर्यटकलाई सामुदायिक भवनमा राखेर स्वागत सत्कार गर्नाका साथै सोरेठी, घाटु, कृष्णचरित्र, लोकदोहोरी, रोधिलगायतका परम्परागत नृत्यहरू प्रस्तुत गर्ने गरेको स्थानीयवासी एवम् अर्का होमस्टे सञ्चालक सन्तकाशी गुरुङले जानकारी दिए।

यहाँस्थित होमस्टेमा पाहुनालाई जंगली च्याउ, रातो भट्ट, लेकाली गुन्द्रुक, रातो चामलको भात, कोदो तथा मकैका परिकार, स्थानीय आलु, घरमौरी, भिरमौरी, टिम्मुरको अचार, सिल्टिमुरको चिया आदिको स्वाद लिने व्यवस्था मिलाइएको छ। स्थानीयवासीले गाउँमै उत्पादन गरेका खाद्यान्नबाट पर्यटकलाई स्वागत गर्ने गरेका छन्।

होमस्टे सञ्चालन भएयता दैनिक १०/१५ जनासम्म विदेशी पर्यटक आइरहने बताउँदै सचिव गुरुङले विदेशी पर्यटकका साथै स्वदेशी पर्यटकको आगमन बढ्दै गएको बताए। 'होमस्टे सञ्चालनका लागि गाउँपालिकासँगै तारा गाउँ रिसोर्ट विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायत संस्थाबाट स्थानीयलाई तालिम प्रदान गरिएको छ। यस्तै, गाउँमा सङ्ग्रहालय भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट २० लाख रूपैयाँ सहयोगका साथै होमस्टेमा सामग्री व्यवस्थापनका लागि विभिन्न समान खरिदका लागि पाँच लाख रूपैयाँ सहयोग प्राप्त भएको छ', उनले भने।

होमस्टे सञ्चालक तथा कार्यपालिका सदस्य पारकाशी गुरुङले सिउरुङ धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको बताउँदै यसको उजागर हुनु जरूरी रहेको बताए। यहाँको पर्यटकीय महत्वलाई उजागर गर्न स्थानीयवासी जागरुक भएका र अब राज्यका सबै निकायको साथ र सहयोग आवश्यक भएको उनले उल्लेख गरे।

लम्जुङ सदरमुकाम बेँसीसहरबाट खुदी, तरापु, ढगैँ हुँदै सिउरुङ पुग्न करिब २२ किलोमिटर दुरी पार गर्नुपर्छ। यहाँ पुग्न बाटोको भने समस्या छ। बाटोका साथै ठाउँठाउँमा साइनेज पोष्ट, स्थानीय पथप्रदर्शक आदि आवश्यक रहेको उनले बताए।

गाउँ हुँदै धार्मिक महत्वको दूधपोखरी गइने भएकाले उक्त स्थानसँग गाउँको पर्यटनलाई जोड्नका लागि तीन चरणसम्म दूधपोखरी महोत्सव गरिसकिएको छ। दूधपोखरी जाने मार्गको थुर्जु फाँटमा गरिएको उक्त महोत्सव पछिल्लो समयमा भने निरन्तरता दिन नसकिएको उनले जानकारी दिए।

सिउरुङबाट थुर्जु-दूधपोखरी हुँदै कास्की जिल्लाको पर्यटकीय गाउँ सिक्लेस-ताङतिङ जाने पदमार्ग रहेको छ। यस्तै, यहाँबाट कालाघिरिङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गको च्याम्चे र नामुनभञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा पदमार्ग छन्।

सिउरुङ गाउँलाई दूधपोखरी, गुरुङ देउराली हुँदै मनाङको तिमाङलगायत स्थान जोड्ने गुरुङ सम्पदा पदमार्गसँग जोड्ने गरी नक्सांकनसँगै प्रवर्द्धनात्मक कार्यक्रमसमेत अघि बढाइएका गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजंग गुरुङले बताए।

संघले हालै पोखराबाट लम्जुङको सिङ्दी, पसगाउँ, घनपोखराबाट दूधपोखरी हुँदै सिउरुङलगायतका स्थानको अन्वेषणात्मक पदयात्रा सम्पन्न गरेको उनले जानकारी दिए।

प्राचीन भेडीगोठ, नुनबोक्ने मार्ग आदिलाई पदयात्रा पर्यटनसँग जोड्दै पदमार्गमा पर्ने पर्यटकीय गुरुङ गाउँहरूलाई गुरुङ सम्पदा पदमार्गमा समेटिएको उनले बताए। पदयात्रा पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्दै आर्थिक समृद्धि हासिल गर्नुपर्ने उनको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२१६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend