शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषय विज्ञहरुसँग पर्याप्त छलफलपछि मात्र अघि बढाउन सांसदको राय

images
शुक्रबार, जेठ ३० २०८२
images
images
खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषय विज्ञहरुसँग पर्याप्त छलफलपछि मात्र अघि बढाउन सांसदको राय

समितिका सदस्यहरुले घरेलु कामदार पठाउने गन्तव्य देशको पारिवारिक कानूनबारे सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए।

images
images

काठमाडौं- सांसदहरुले खाडी मुलुकमा नेपाली महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउनुपर्ने बताएका छन्। 

images
images
images

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा समितिका सदस्यहरुले राजनीतिक दलभित्रै पर्याप्त छलफल बाँकी रहेको बताएका हुन्। बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक संयुक्त अरब इमिरेट्स (युएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल भएको थियो।

images
images

सो बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सहसचिव विनोदकुमार भट्टराईले युएईमा नेपाली घरेलु कामदारको भर्तीसम्बन्धी भएको पाइलट परियोजना अघि बढाउने स्वीकृतिका लागि समितिसँग आग्रह गरे।

images
images
images

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करले प्रतिबन्ध समाधान नभएको उल्लेख गर्दै घरेलु कामदारका लागि वैधानिक बाटो खुलाउन प्रस्ताव गरेका थिए। उनले खाडी मुलुकमा महिला कामदार पठाउन प्रतिबन्धित भएपछि पनि जबरजस्ती श्रम र बेचबिखन जोखिमको समाधान हुन नसकेको बताए। 

समितिका सदस्यहरु हेमराज राई, रमेश रिजाल र रमा कोइराला पौडेलले यस विषयमा दलीय धारणा बनाउनुपर्ने राय राखे। उनीहरुले दलको धारणासँगै विज्ञहरुसँग पर्याप्त छलफलपछि मात्र उक्त पाइलट परियोजना अघि बढाउन समितिले निर्देशन दिनसक्ने बताए।

समितिका सदस्य कृष्णकुमार श्रेष्ठले नेपाली घरेलु कामदार भर्ती र नियुक्तिका क्रममा लाग्ने लागतका विषयमा आपत्ति जनाए।

समितिका सदस्यहरुले संयुक्त अरब इमिरेट्सको मानव संशाधन तथा इमिरेटीकरण मन्त्रालय र नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच युएईमा नेपाली घरेलु कामदारको भर्तीसम्बन्धी भएको पाइलट परियोजनाबारे छलफल गरे। उक्त परियोजनामा नेपाली घरेलु कामदारले राहदानी शुल्क, योग्यताको प्रमाणपत्र, चिकित्सा परीक्षण, भर्ती शुल्क, प्रवेश भिसा, प्रशोधन खर्च, स्वास्थ्य बीमा, कामदार सुरक्षा कार्यक्रम बीमा र हवाई भाडा लागत व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ।

समितिका सदस्यहरु रुक्मिणी राना बराइली, महेन्द्रबहादुर शाही, रेखा यादव, सूर्यमान तामाङ, सुरेन्द्रराज आचार्य र अमृता देवी अग्रहरीले विभिन्न खाडी मुलुकमा नेपाली महिला अलपत्र परेका उल्लेख गर्दै उद्धारका लागि सभापतिमार्फत ध्यानाकर्षण गराए।

समितिका सदस्यहरुले घरेलु कामदार पठाउने गन्तव्य देशको पारिवारिक कानूनबारे सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए।

सदस्यहरुबीच नोकझोक

बैठकमा भिजिट भिसा प्रकरणको विषयले प्रवेश पाएपछि सदस्यहरुबीच केही समय नोकझोक चलेको थियो। समितिका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले खाडीमा घरेलु कामदारको विषयसँगै भिजिट भिसा प्रकरणमा अनुसन्धानको माग गरे। 

उक्त विषयमा सांसदहरुको भूमिका सक्रिय नखेदेखिएको भन्दै पराजुलीको टिप्पणीप्रति नेकपा (एकीकृत समाजवादी) का सांसद श्रेष्ठ, नेपाली कांग्रेसका सांसदहरु राजु थापा र कान्तिका सेजुवालले आपत्ति जनाए। रासस


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend