शुक्रबार, जेठ ३० गते २०८२    
शुक्रबार, जेठ ३० २०८२
images
images

‘सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी, गण्डकीका ३४ सामुदायिक विद्यालयमा जीवनोपयोगी सीप

images
बिहीबार , जेठ २९ २०८२
images
images
‘सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी, गण्डकीका ३४ सामुदायिक विद्यालयमा जीवनोपयोगी सीप

विद्यार्थीको विज्ञान विषयमा अभिरुची जगाउँदै भविष्यमा वैज्ञानिक र सिर्जनशील उद्यमी उत्पादन गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ नेपाली परिवेशलाई समेत दृष्टिगत गरी कार्यक्रम सुरु गरिएको मन्त्रालयले जनाएकाे छ।

images
images

गण्डकी- गण्डकी प्रदेश सरकारले सामुदायिक विद्यालयमा सुरु गरेको ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ। पढाइसँगै जीवनोपयोगी सीप सिकाउने लक्ष्यका साथ सुरु गरिएको सो कार्यक्रमप्रति विद्यार्थीको आकर्षक बढेको देखिएको छ।

images
images
images

विद्यार्थीको विज्ञान विषयमा अभिरुची जगाउँदै भविष्यमा वैज्ञानिक र सिर्जनशील उद्यमी उत्पादन गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ नेपाली परिवेशलाई समेत दृष्टिगत गरी कार्यक्रम सुरु गरिएको मन्त्रालयले जनाएकाे छ।

images
images

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयका निर्देशक धनश्याम पौडेलका अनुसार सो कार्यक्रममा सहभागी विद्यार्थीले कृषि, पशुपालन, इन्जिनियरिङ, हस्तकलासँग सम्बन्धित सामग्री उत्पादन गर्न सक्नेछन् र केही रकम पनि आयआर्जन गर्नसक्ने छन्।

images
images
images

उनका अनुसार समाजका जेहेन्दार, विपन्न एवं सिमान्तकृत वर्गका विद्यार्थीको शिक्षासँगै आयआर्जन वृद्धिका लागि रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वासका साथ प्रदेशका विभिन्न ३४ सामुदायिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको छ।

‘पठनपाठनसँगै सीप प्रदान गरी आत्मनिर्भर बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ’ उनले भने, ‘कार्यक्रमबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र आर्थिक स्तरीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ। बजारको मागमा आधारित विशिष्टीकृत जनशक्ति उत्पादनमा केन्द्रित रहने गरी प्रदेशभरका सामुदायिक विद्यालय लक्षित उक्त कार्यक्रममा दुई हजार पाँच सय विद्यार्थीले सहभागिता जनाउँदै आएका छन्।

प्रदेश सरकारको कार्यविधिअनुसार कार्यक्रमको सुरुआतमा प्रत्येक विद्यालयलाई पाँच लाख र त्यसपछि प्रतिवर्ष दुई लाख रुपैयाँका दरले आर्थिक सहयोग गर्ने व्यवस्था रहेको निर्देशक पौडेल बताउँछन्। प्रदेशका ३६ वटा संघीय निर्वाचन क्षेत्रमा एक-एक ‘स्टेमल्याब’ सञ्चालनमा आएका छन्। कतिपय विद्यालयले कार्यक्रम सञ्चालन गर्न आवेदन नदिँदा उक्त अवसरबाट विद्यार्थी वञ्चित भएको प्रदेश सरकारले जनाएको छ।

नवलपुरको देउचुली नगरपालिकास्थित भीमसेन आदर्श माविका विद्यार्थीले नौमती बाजा एवं मौरिपालनबाट आयआर्जन गर्न सुरु गरेको मन्त्रालयका उपनिर्देशक ऋषिराम बाँस्तोलाले जानकारी दिए। कार्यक्रम सञ्चालन भएसँगै सो विद्यालयमा यस वर्ष एकसय ५० विद्यार्थी नयाँ भर्ना भएको विद्यालयले जनाएको छ।

बाँस्तोलाले भन्छन्, ‘प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने, लक्षित समूहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार गर्ने र तह पूरा गर्ने दर वृद्धि गर्नका लागि छात्रवृत्ति कार्यविधि तयार गर्ने काम पूरा भएको छ।’उनका अनुसार विद्यालयले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई सीपसँग जोड्ने काम गरिरहेका छन्।

विद्यार्थीलाई सिकेका ज्ञान प्रयोगमा उतार्न विद्यालय हाताभित्र नै तरकारी खेती, हस्तकलाका सामाग्री उत्पादन, पशुपालनलगायतका विभिन्न ज्ञानलाई सीपसँग जोड्ने काम गर्दै आएका छन्। साे कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागिता रहँदै आएका छन्। विद्यार्थीको पढाइलाई निरन्तरता दिँदै फुर्सदको समयमा सीप सिकाउने व्यवस्था गरिएको छ।

जानकी माविमा हस्तकलाका सामग्री उत्पादन 

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौँडास्थित जानकी माविमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रमअन्तर्गत बाँसका हस्तकला सामग्री उत्पादन सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारद्धारा सञ्चालित सो कार्यक्रमअन्तर्गत कक्षा ७ देखि १० सम्मका २२ छात्रछात्राले बाँसबाट पेन होल्डर, टिस्युपेपर होल्डर, मन्दिर, ढकियालगायतका सामग्री निर्माण गर्छन्। उक्त कार्यक्रमका लागि सरकारले यस आर्थिक वर्षमा  पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ।

कलम समात्ने कलिला हातले चक्कू र हँसिया समातेर पढाइसँगै कमाउन सुरु गरेका विद्यार्थीले उत्पादित सामग्री बिक्रीबाट आयआर्जन गर्न थालेको प्रशिक्षक एवं विद्यालयका सहायक प्रधानाध्यापक कमल आचार्य बताउँछन्। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम पौडेल नेतृत्वको टोलीले स्थलगत अनुगमनपछि कार्यक्रम उपलब्धिमूलक र प्रेरणादायी भएको जनाएको छ।

टोलीले  उत्पादित सामग्रीको बजारीकरण र व्यवस्थापनमा सबैको साथ-सहयोग हुनुपर्नेमा जोड दिएको छ। सो विद्यालयमा तीन सय ५० विद्यार्थी रहेको र हस्तकला सामग्रीको उत्पादनसँगै शैक्षिक गुणस्तर तथा विद्यार्थी संख्या वृद्धि भएको प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिए।

सो कार्यक्रममा सहभागी विद्यार्थीले हस्तकलाका सामग्री हातैले बनाउँदा लागत महंगाे पर्ने, समय बढी लाग्ने, शुल्क बढी निर्धारण गर्दा बिक्री नहुने समस्या देखिएकाले मेसिनको व्यवस्था भइदिए सुरक्षित, समयको बचत भई सस्तो दररेटमा बेच्न सकिने सुझावसहित सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन्।

पछिल्लो समय गण्डकी प्रदेशले सुरु गरेको ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रमप्रति आमविद्यार्थीको आकर्षण बढेको, विद्यालयमा विद्यार्थीको संख्या वृद्धि भएको र अभिभावकमा खुसियाली देखिएकाले कार्यक्रम लागु गरी लाभान्वित हुन सम्बद्ध पक्षको ध्यानाकषर्ण गरिएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ २९ २०८२१८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend