पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका-६ जन्तीलुंग र वडा नम्बर ५ मा रहेको मरामकोट पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन्। यी ठाउँहरू प्राकृतिक दृष्टिकोणले रमणीय रहेकाले पर्यटकहरू यस क्षेत्रमा टहलिन रुचाउँछन्।
यहाँँबाट पाल्पाको तानसेन, रुपन्देहीको बुटबल, नवलपरासीको बर्दघाटलगायतका स्थानको दुश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन्। यहाँ वर्षेनि पर्यटकको चहलपहल बढ्द गएपछि व्यवस्थित घरबास (होमस्टे) सञ्चालन गर्न थालिएको छ।
हाल पनि स्थानीयले होमस्टे कार्यक्रम सञ्चालन गरी पाहुनालाई स्वागत गर्दै आएका छन्। जन्तीलुंग सामुदायिक होमस्टेमा प्रतिव्यक्ति एक हजार दुई सयमा स्वागत, साँझको खाजा, लोकल कुखुराको मासुसहितको खाना र बिहानको खाजाको प्याकेज रहेको छ।
प्राकृतिक रूपमा सुन्दर जन्तीलुंग र मरामकोटबाट हिमालदेखि तराईसम्मका दृश्यहरू अवलोकन गर्न सकिन्छ। यहाँ भएका होमस्टेलाई थप व्यवस्थित गरी दुवै क्षेत्रलाई होमस्टेको गन्तव्य बनाउने गरी तिनाउ गाउँपालिका र लुम्बिनी प्रदेश सरकारले तयारी गरेका छन्।
यहाँ प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत दुवै वडाका होमस्टे सञ्चालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरूलाई एकहप्ते होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिमसमेत दिन थालिएको छ।
गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जन्तीलुंग र मरामकोटलाई पर्यटकीय गतिविधिमार्फत आम्दानीको स्रोत बनाउने गरी योजना अगाडि सारिएको बताए। हाल बुटवल र भैरहवालगायत क्षेत्रमा गर्मीले बस्न सकिने अवस्था छैन तर, यहाँको जन्तीलुंग र मरामकोटमा चिसो मौसम छ। यसकारण यहाँ पाहुना बोलाएर मनग्ये आम्दानी गर्न सकिन्छ।
सोहीअनुसार योजना बनाएर काम थालेकाे अध्यक्ष प्रेम श्रेष्ठ बताउँछन्। ‘हामीले पाहुनालाई व्यवस्थित रूपमा राख्न, स्थानीय परिकार खुवाएर खुसी बनाउन, यहाँको प्राकृतिक वातावरणमा रमाउने अवस्था निर्माण गर्न होमस्टे प्रबर्द्धन कार्यक्रम सञ्चालनमा ल्याएका हौँ’ उनले भने। पछिल्लो समय होमस्टे व्यवसाय फस्टाउँदै गएको छ।
पाहुनाले पैसाभन्दा पनि स्थानीय मौलिक खानपान, कलासंस्कृति रोज्ने गरेका छन्। यहाँ आउने पर्यटकको रोजाइलाई ध्यानमा राखेर होमस्टे व्यवस्थित गर्न थालिएको गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले बताए। ‘जन्तीलुंग र मरामकोटको वातावरण निकै राम्रो छ, अब स्थानीयबासीले पाहुनाको मन जित्नेगरी काम गर्न सके आम्दानीको राम्रो स्रोत बन्छ’ उनले भने।
हाल जन्तीलुंगमा आउने बाटोघाटो राम्रो रहेकाले झुम्सा, चर्चरे र डुम्रेबाट आधा घण्टामै आउन सकिने भएकाले गाउँको आम्दानी र प्रचार-प्रसार गर्न होमस्टे व्यवसाय उत्तम रहेको उपाध्यक्ष थापाको भनाइ छ।होमस्टे नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल होमस्टे व्यवसायबाट नै गाउँलाई आर्थिक रूपमा बलियो बनाउन सकिने बताउछन्।
यसबाट गाउँको कृषि उत्पादन, पशुपालन अन्य किसिमका रोजगारीसमेत बढ्ने र त्यसले पैसा कमाउन विदेश धाउनुपर्ने अवस्थामा समेत कमि आउने उनको विश्वास छ। तिनाउ गाउँपालिकाले होमस्टेमा आउने पाहुनाको लागि जन्तीलुंगमा सातवटा र मरामकोटमा दुईवटा नयाँ घर निर्माण गरिरहेको छ।
दुई वटै वडाबासीका लागि मौरीपालन, बङ्गुरपालन तालिम सञ्चालन गरिसकिएको र अब केही दिनमा तरकारीखेती, बाख्रापालन, खाना पकाउने, अतिथि सत्कार, पाहुना सुत्ने कोठा सजावटसम्बन्धी तालिम र अवलोकन भ्रमण जस्ता कार्यक्रमहरू सञ्चालन गरिने सशक्तिकरण विकास नेपाल पाल्पाकी अध्यक्ष एन्जिना खनालले बताइन्। रासस