रौतहट- रौतहट प्रहरीले लुटपाटमा संलग्न रौतहट जिल्ला यमुनामाई गाउँपालिका-१ जेठरहीया झाझपुल स्थायी ठेगाना भएका २२ वर्षीय मुकेश महतो र २० वर्षीय सीताराम महतोलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख नेत्रमणि गिरीले बुधबार बिहान झाझपुल नजिकै लुकिछिपी बसेका व्यक्तिहरुले रौतहट दुर्गाभगवती गाउँपालिका-३ मत्सरीका ३५ वर्षीय कृष्णमणि झालाई लुटपाट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जानकारी दिए।
लुटपाट गर्ने उद्देश्यले झाझपुल नजिक लुकिछिपी बसी रहेका सात/आठ जना अपरिचित्त व्यक्तिले मोटरसाइकलमा सवार झालाई रोकी निजको साथमा रहेको धनमाल लुटी मोटरसाइकलसमेत लैजान लागेको अवस्थामा उनीहरूलाई पक्रेको प्रहरीले जनाएको छ।
सो घटनामा संलग्न पेसेवर केही लुटेरा भागेको र अहिले तिनीहरूको खोजीकार्य तीव्र गतिमा भइरहेका प्रहरी प्रमुख गिरीले जानकारी दिए। यसअघि पनि सो क्षेत्रमा लेटेरा समूहले धनमाल लुट्ने गरेको तथा स्थानीयलाई दुःख दिने गरेको र आपराधिक गतिविधि बढेको भन्ने सूचनाप्राप्त भएपछि त्यस क्षेत्रमा सुरक्षागस्ती बढाइएको पनि प्रहरीले बताएको छ।
सो घटनामा पक्राउ परेका दुई लुटेरसँग बयान लिने काम भइरहेको र भागेहरूको खोजी भइरहेको जानकारी दिँदै प्रहरी प्रमुख गिरीले जिल्लाको शान्ति सुरक्षा, अमनचयन कायम गर्न प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए। रासस