गुल्मी- मदाने गाउँपालिकामा गाईपालक किसानलाई प्रसूति भत्ता वितरण गरिएको छ। वडा नम्बर १ अन्तर्गत अग्लुंगामा स्थानीय जातको रैथाने गाईपालन गर्ने किसानलाई प्रसूति स्याहार भत्ता वितरण गरिएको वडाध्यक्ष सुशिल चन्दले जानकारी दिए।
गाउँपालिकाले अग्लुंगाका ३० गाईपालक किसानलाई जनही दुई हजार पाँच सयका दरले प्रसूति स्याहार भत्ता उपलब्ध गराएको हो। पछिल्लो समयमा बसाइँसराइका कारण गाउँबाट मानिसहरु विस्थापित हुँदै जान थालेसँगै स्थानीय जातका गाई लोप भइरहेका छन्।
तर, गाउँपालिकाले किसानलाई गाईपालनमा प्रोत्साहन गर्ने उद्देश्यले प्रसूति भत्ता उपलब्ध गराएको अध्यक्ष चन्दकाे भनाइ छ।
गाउँमा चाड पर्व तथा तिथी सरादजस्ता धार्मिक कार्यका लागि स्थानीय जातको गाईको दूध, गहुँत र गोबर पाउन समस्या भएका कारण गाउँपालिका रैथाने गाईको संक्षणमा जुट्न थालेको हो। यसरी भत्ता उपलब्ध गराएसँगै त्यस क्षेत्रका गाईपालक किसान पनि थप उत्साहित बनेका छन्। रासस