काठमाडौं- गएको १५ वर्षमा उपभोगका लागि खपत गर्ने नेपालीहरूको प्रवृत्तिमा उलटफेर भएको छ। सन् २०११ मा नेपालीहरूको खाने कुरामा ३४ प्रतिशत खाद्यान्नको हिस्सा थियो भने सन् २०२३ मा आउँदा त्यो १७ प्रतिशतमा झरेको छ।
उपभोगमा खाद्यान्नको हिस्सा आधा घट्नु भनेको त्यसको प्रयोग नबढेको भने होइन। खाद्यान्न उपभोग बढेपनि त्योभन्दा अरु उपभोगको वृद्धिदर उच्च भएमा त्यसको हिस्सा घट्न पुग्छ। तर पनि खाद्यान्नको उपभोगको मात्रा पहिलेजस्तो नबढेको भने प्रष्ट छ।
एकातिर खाद्यान्नको उपभोगको वृद्धिदर अपेक्षित नहुने अर्कोतिर धानको उत्पादन पनि सन्तोषजनक नै भइरहेको छ। यसका बाबजुद सरकारले भने माग र उत्पादनबीचको खाडल धानमा ८ लाख टन रहेको बताउँदै आएको छ। उत्पादन र खपतको समीकरणमा जेजस्तो बदलाब आएपनि चामलको आयात मत्थर नहुनुका पछाडिको मुख्य कारण उपभोक्ताको रोजाइ मुख्य रहेको अधिकारीहरूले बताउँदै आएका छन्।
किनेर चामल उपभोग गर्ने धेरै उपभोक्ता सहरमा बस्छन्, त्यो पनि ठूला सहरमा। यस्ता ठूला सहरमा बस्ने धेरै उपभोक्ताको रोजाइ फेरिँदै आएको छ। आय आम्दानीमा सुधार हुँदै गएपछि उपभोक्ताले सोहीअनुसारको चामलको रोजाइ पनि फेर्दै जान्छन् अर्थात् मोटोबाट मसिनोतिर। नेपालमा मसिनो चामलको माग बढ्ने तर उत्पादन भने सोहीअनुसार नहुँदा सहरी क्षेत्रमा आयातित चामल वा भारतबाट धान ल्याइ नेपालमा चामल बनाएर पठाइन्छ।
नेपाली बजारको रुझान मसिनो चामलतिर गएपनि किसानले भने मोटो चामल हुने धानकै खेतीलाई निरन्तरता दिएका छन्। सरकारले नै समर्थन मूल्य निर्धारण गर्दा मोटो र मध्यम चामल भनेर गर्दै आएको छ। बजारको मागअनुसारको चामल नभएपछि बजारमा आयातित चामल जाने तर किसानको उत्पादन औद्योगिक प्रायोजन वा निकै सस्तोमा बिक्री गर्न बाध्य पार्ने मिलहरूको प्रवृत्ति रहेको छ।
सरकारले बजारको मागअनुसारको उत्पादन बढाउनका लागि वर्षौँदेखि स्किम ल्याइरहेको छ। विभिन्न नामका आयोजना पनि चलाएको छ तर पनि यसमा सुधार भएको छैन।
यही बीचमा निजी क्षेत्रबाट भने यो समस्याको समाधान गर्ने एउटा धान उत्पादनको क्षेत्रमा नयाँ मोडल विकास भएको छ। एयरलाइन्सको क्षेत्रमा सफल भएका उद्यमी वीरेन्द्रबहादुर बस्नेतले मोरङमा यस्तै एउटा सफल नमुना ल्याएका छन्।
आरजु राइस मिल स्थापना गरेर उनले बजारको सुनिश्चिततासहित मोटो धानभन्दा धेरै मुनाफा दिने मसिनो धानको उत्पादनमा जोड दिइरहेका छन्। उत्पादनसँगै बजारलाई शुद्ध नेपाली चामल आपूर्ति गर्न सकिने एउटा उत्पादन चक्रको विकास गरेका छन्। यो मोडलको परीक्षण सफल भएर आरजु चामलका नाममा बजारमा पनि आउन सुरू भइसकेको छ।
मोरङको बेलबारी-९ मा रहेको मिल नेपालमा भएका अरु मिल जस्तो होइन। आरजु राइस मिलले किसानहरूलाई बजारको मागअनुसारको धान उत्पादन गर्नका लागि आवश्यक सहयोग गर्नेदेखि लिएर पहिले नै तोकिएको मूल्यमा धान खरिद गर्छ। यसरी खरिद गरिएको धानबाट चामल बनाएर बजारमा पठाउने गरेको छ।
मिल आसपासका किसानलाई जोड्दै गएको यो मिलले अहिले 'सुवासी' नामको धानलाई प्रबर्द्धन गरिरहेको छ। बासमति जस्तै स्वादको चामल हुने यो धान रोप्दा किसानहरूलाई पहिलेको धानको तुलनामा उच्च मुनाफा पनि भएको छ। सामान्य मोटो धान रोप्दाको तुलनामा यसबाट नाफा धेरै भएपछि किसानहरू पनि आकर्षित भइरहेका छन्।
धान उत्पादन जति बढेपनि चामल आयात किन बढिरहन्छ? मीठो र मसिनोमा भारतीय उत्पादनकै भर
पहिले चैते धानका रुपमा रहेको यो धान अहिले सो क्षेत्रका ४ सय बिगाह क्षेत्रमा खेती हुन थालेको छ। १२५ दिनमा पाकिसक्ने यो धानको बीउदेखि काट्नेसम्ममा मिलले प्रविधि उपलब्ध गराउँदै आएको छ।
मिलसँग जोडिएपछि मोटो तथा पुरानो धानको तुलनामा यसबाट नाफा भएको किसान बताउँछन्।
बेलबारी-९ की किसान मनमाया खड्का बीउ, मलमात्र होइन धान पाकेपछि काट्नेदेखि लिएर पहिले नै तोकिएको मूल्यमा धान खरिद हुने भएपछि नाफा भएको बताउँछिन्।
त्यो क्षेत्रका अरु किसान पनि अहिले यसमा आकर्षित हुँदै आएका छन्। मिलको क्षमता २२ हजार टन धान प्रशोधन गर्ने रहेको छ।
बजारको मागअनुसारको धान नेपालमै उत्पादन हुने, उत्पादन भएको धानको चामल बजारको मागअनुसार हुने र किसानलाई पनि उचित मुनाफा हुने यो मोडल सफल भइसकेको मिलका सञ्चालकहरूले बताउँदै आएका छन्। चामलको परीक्षणमात्र होइन वित्तीय मोडल पनि परीक्षण भइसकेको छ।
नेपालीलाई नेपाली माटोमै उब्जिएको चामल त्यो पनि खोजेकै स्वादमा उपलब्ध हुने अर्कोतिर किसानहरूको आयस्रोत पनि बलियो हुने यो मोडल किसानमाझ लोकप्रिय हुँदै गएको छ। यद्यपि मुलुकको चामलको आवश्यकता पूर्तिका लागि भने यो एउटा मिलबाट सम्भव हुँदैन।
नेपालकै मिलको लेबलमा भारतीय चामल खान बाध्य नेपालीहरूलाई नेपाली माटोमा उब्जिएको चामल उपलब्ध गराउनेमात्र होइन कृषि अर्थतन्त्रको सबलीकरण यो मोडलबाट सम्भव हुने देखिन्छ।