नवलपरासी- ऊर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ्ग बेसिन उद्घाटन गरेका छन्। आज नवलपरासीको सेमरीमा एक कार्यक्रमका बीच ऊर्जामन्त्री खड्का र सांसद विनोद चौधरीले संयुक्त रुपमा सेटिलिङ्ग बेसिनको उद्घाटन गरेका हुन्। अब यो नहर पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।
२०३९ सालमा निर्माण भएको नहरको सिँचाइ क्षमता ८ हजार ७ सय हेक्टर क्षेत्रफल भए पनि मुहानमै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिँचाइ हुँदै आएको थियो। २०७९ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि चौधरीले नहरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न पहल गर्दै आएका थिए। यो नहर सांसद चौधरीको निर्वाचन क्षेत्रमा पर्दछ।
पश्चिम नवलपरासी-१ बाट निर्वाचित सांसद चौधरीले अब साबिकभन्दा नहरबाट पाँच गुणा बढी भूमिमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने बताए। ‘नेपाली नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ,’ उनले भने, ‘यहाँका नागरिकले ३५ वर्ष सिँचाइका लागि जुन संघर्ष गर्नुपरेको थियो, तपाईँहरुको पीडासँग जोडिएको त्यो वेदनालाई अब सम्बोधन गरेको छ। यो पर्याप्त छैन। हामीले अझै धेरै गर्नुछ।’
किसानका समस्याप्रति आफू सधैँ संवदनशील रहेको र भविष्यमा किसानका लागि प्रभावकारी परियोजनाहरू नवलपरासीले पाउने पनि चौधरीले बताए।
सांसद चौधरीले हरेक वर्ष वर्षायाममा हुने डुबान र कटानको समस्याबाट यो क्षेत्र अत्यन्तै प्रभावित भएको भन्दै यसको दीर्घकालीन समाधानका लागि ऊर्जामन्त्रीको ध्यानाकर्षण गराए। उनले ६५ वर्षअघि नेपाल-भारतबीचको ऐतिहासिक सम्झौता भएको गण्डक परियोजनाका बारेमा भारतीय पक्षसँग गम्भीररुपमा संवाद गर्नुपर्ने खाँचो औँल्याए।
‘वर्षा सुरु हुनेबित्तिकै यो क्षेत्रका जनताहरु त्रासमा बाँच्नुपर्ने अवस्था छ। डुबान र कटानको समस्या हरेक वर्ष भोगिरहनु परेको छ। यसको निकासका लागि हामीले भारतीय पक्षसँग गम्भीरतापूर्वक संवाद गर्न जरुरी छ, यसका लागि मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदछु,’ उनले भने, ‘नेपालले आफ्नोतर्फबाट गर्नुपर्ने काम पनि गर्न जरुरी छ। यो क्षेत्रको जुन डुबानको समस्या छ, त्यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेर दीर्घकालीन समाधान गर्न ढिलाइ गर्नुहुन्न।’
आज उद्घाटन गरिएको नेपाल गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिन ३५ करोड लागतको परियोजनामा अढाइ वर्षमा सम्पन्न भएको हो। सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनेछ।

मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुबान र सिँचाइको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए। उनले भने, ‘माननीय विनोदजीले मलाई यो कार्यक्रममा आउनुअघि नै भनिसक्नुभएको छ कि यहाँ रहेका ६ वटा नदीहरुमा तटबन्ध गर्नुछ। त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ। त्यस्तै, यहाँ कार्यरत अधिकृतहरु पनि उच्चस्तरको भइदिए काममा झन् सजिलो हुन्थ्यो। हामीले ६५ वर्ष जुन कष्टका साथ व्यतित गरेका छौँ, अब यो लामो समय जान दिनुहुँदैन भन्नेमा हामी प्रतिबद्ध छौँ। यसका लागि सरकार गम्भीर छ।’
पश्चिम नवलपरासीमा आफू दोस्रोपटक आएको र यहाँका समस्यासँग जानकार रहेको उल्लेख गर्दै मन्त्री खड्काले सांसद चौधरीजस्तो राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा स्थापित व्यक्ति यो क्षेत्रले पाउनु गौरवको विषय रहेको बताए।