दमौली- मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पश्चिम खण्डमा हालसम्म ५३ प्रतिशत काम सम्पन्न भएको छ। तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३३.७ किलोमिटर खण्डमा करिब आधा काम पूरा भएको हो।
मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड)का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सम्पन्न भइसकेको छ। बाँकी रहेको तीन किलोमिटर एकतर्फी भागमा जेठ मसान्तसम्म कालोपत्र गरिने लक्ष्य राखिएको छ।
पश्चिम खण्डतर्फ निर्माण भइरहेको १२ पुलमध्ये १० वटा पुल सकिएका छन् भने १०० मध्ये ९२ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेको योजना कार्यालयले जनाएको छ। यद्यपि चार सय २४ वटा विद्युत् पोल अझै हटाउन बाँकी रहेका कारण केही स्थानमा काम ढिलो भइरहेको छ।
विशेषतः तालचोकदेखि आदर्शचोक र डाँडाको नाकदेखि विजयपुरसम्म पोल नहटाइँदा समस्या भइरहेको छ। ती पोल एक साताभित्र हटाउने प्रतिबद्धता आएको भन्दै कोत्रेदेखि सेतीपुलसम्मको चार लेन सडक असार मसान्तसम्म सम्पन्न गर्ने योजना रहेको प्रमुख कुँवरको भनाइ छ।
विक्रम सम्वत २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको निर्माण सम्पन्न गर्ने म्याद २०८२ पुस १६ गतेसम्म तोकिएको छ। पश्चिम खण्डको ठेक्का चिनियाँ कम्पनी एनहुई केयूएन हाइवे एन्ड ब्रिज ले लिएको हो। कुल लागत ७ अर्ब ४० करोड रुपैयाँ रहेको छ।
उता पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको सडक विस्तार अन्तिम चरणमा पुगेको छ। कुल ८५ प्रतिशत काम सकिएको इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। कालोपत्रको काम अब मादीपुल क्षेत्र र विमलनगरको एकतर्फी खण्डमा मात्रै बाँकी रहेको उनले बताए। दमौली बजार क्षेत्रमा पनि कालोपत्र अन्तिम चरणमा पुगेको छ।
पूर्वी खण्डको म्याद तेस्रो पटक थपिएको हो, जुन हाल जेठ २९ गतेसम्म कायम छ। सो अवधिभित्र काम सकिने इञ्जिनीयर पाण्डेको भनाइ छ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीले पाएको हो। यस खण्डको लागि सम्झौता २०७७ माघ १७ गते भएको थियो र २०७८ वैशाख २ गतेदेखि निर्माण सुरु गरिएको थियो। कुल लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ।
विसं २०२६ सालमा पहिलो पटक रेखांकान गरिएको यो सडकमा पछिल्ला वर्षमा सवारी चाप अत्यधिक बढेपछि एसियाली विकास बैंकको ऋण सहयोगमा चार लेनमा विस्तारको काम अघि बढाइएको हो। परियोजना सम्पन्न भएपछि गण्डकी प्रदेशको राजधानी पोखरा हुँदै बागलुङ, मुस्ताङ, म्याग्दी जस्ता जिल्ला तथा प्रमुख पर्यटकीय क्षेत्रहरूमा यातायात सहज हुने अपेक्षा गरिएको छ। रासस