काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलमा २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ मूल्य बढाएको हो।
वृद्धि भएको मूल्य आज राति १२ बजेबाट लागु हुने निगमले जनाएको छ। हवाइ इन्धनको मूल्य भने घटेको छ। निगमले उपलब्ध गराएको विवरण अनुसार आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ।
यससँगै अब काठमाडौंमा पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १ सय ५९ रुपैयाँ तय भएको छ। सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ पर्ने निगमको भनाइ छ।
चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने पेट्रोलको मूल्य १ सय ५६ रुपैयाँ ५० पैसा पर्ने छ।
त्यस्तै अब डिजेल र मट्टितेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १ सय ४३ रुपैयाँ पर्नेछ। सुर्खेत र दाङमा भने डिजेल र मट्टितेलको मूल्य १ सय ४२ रुपैयाँ पर्ने तय भएको छ।
चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने डिजेल र मट्टितेलको मूल्य १ सय ४० रुपैयाँ ५० पैसा पर्ने निगमको भनाइ छ।