पाल्पा- सहुलियतमा धानको बीउ पाएपछि पाल्पा रामपुर नगरपालिकाका किसानलाई राहत मिलेको छ। कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले सावित्री १४ हजार दुई सय ९८ किलोग्राम, साँवामन्सुली छ हजार चार सय किलो र रामधानको एक हजार तीन सय किलो बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिए।
नगरपालिकाले अग्रिम सूचना जारी गरी किसानको मागका आधारमा सात सय १५ किसानलाई २१ हजार ९ सय ९८ किलो बीउ उपलब्ध गराइएको गैरेले बताए। नगरप्रमुख रमणबहादुर थापाले कृषि उत्पादन बढाउन धान, मकै र गहुँलगायत बालीमा अनुदानका कार्यक्रम अगाडि बढाइएको बताए।
रामपुर उर्बरभूमि रहेकाले नगरपालिकाले कृषि उत्पादन वृद्धि गरेर आत्मनिर्भर बनाउन उत्पादनमूलक कार्यक्रम, विभिन्न उपकरण वितरण, तालिम, गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ।
यसरी अनुदानमा बीउ पाएपछि बजारबाट महँगो मूल्यमा धानको बीउ खरिद गर्नुपर्ने बाध्यता टरेको रामपुर-६ का विजयपुरका ओमप्रकाश रेग्मीले बताउँछन्। नगरपालिकाले ५० प्रतिशत अनुदानमा सावित्री प्रतिकिलोको ३४ रुपैयाँ, रामधानर साँवामन्सुली प्रतिकिलो ३७ रुपैयाँका दरले उपलब्ध गराएको छ। रासस