काठमाडौं- नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित भएका छन्। सिडी डेपलपर्स प्रालिका प्रबन्ध निर्देशक रहेका कुँवर १८औँ वार्षिक साधारणसभा तथा निर्वाचनमार्फत अध्यक्ष पदमा पुगेका हुन्। नयाँ नेतृत्वसहित १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
सङ्घको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष पुरुषोत्तम पौडेल, द्वितीय उपाध्यक्ष सुमितकुमार अग्रवाल र तृतीय उपाध्यक्ष रोशन भोयद्यो निर्वाचित भएका छन्। महासचिवमा तुलसीप्रसाद अधिकारी, सचिवमा वरुणकुमार आचार्य र कोषाध्यक्षमा निश्चलबहादुर श्रेष्ठ चयन भएका छन्। त्यस्तै, डेकेन्द्रकुमार श्रेष्ठ, मनोजबहादुर श्रेष्ठ, हरिभक्त श्रेष्ठ, सन्दिप श्रेष्ठ, प्रसित भोयद्यो, सिद्धान्तविक्रम धमला, आभास कुँवर र अरनिको सिंह कार्यसमितिका सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचनपछि अध्यक्ष कुँवरले जग्गा तथा आवास क्षेत्र थला परेपछि अर्थतन्त्रमा समेत गम्भीर असर परेको बताए। उनले घरजग्गा व्यवसायलाई चलायमान बनाउन राज्यले समयसापेक्ष ऐन, कानुन परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए। 'यो व्यवसायलाई उद्योगका रूपमा मान्यता दिनु अत्यावश्यक छ,' कुँवरले भने, 'जग्गाको हदबन्दीका कारण खर्बौं रुपैयाँ बराबरको सम्पत्ति निष्क्रिय छ, जसले व्यवसायीलाई मात्र होइन, निर्माण सामग्री उद्योगलाई समेत असर पारेको छ।'
साधारणसभामा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सहरी विकास नीति, २०८१ मन्त्रिपरिषद्ले पारित गरिसकेको जानकारी दिए। उनले सहरी विकास विधेयकको मस्यौदा भूमि व्यवस्था मन्त्रालयमा सुझावका लागि पठाइएको र संयुक्त आवास ऐन तथा भवन ऐन संशोधनका लागि तयारी भइरहेको बताए। 'व्यवस्थित जग्गा वर्गीकरण गरेर व्यवस्थित सहर निर्माणतर्फ अगाडि बढ्नुपर्छ,' सचिव सिग्देलले भने।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले घरजग्गा व्यवसायलाई व्यवस्थित गर्न मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने बताए।
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्रालगायतले भूमिसम्बन्धी अध्यादेशलाई चाँडै संसद्बाट पारित गराउन सरकारलाई आग्रह गरेका थिए।