बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

बन्द अन्नपूर्ण होटलमा क्यासिनो

अदालतको साथ

मंगलबार, माघ २५ २०७८
बन्द अन्नपूर्ण होटलमा क्यासिनो

क्यासिनो सञ्चालनका लागि होटलको सहमति चाहिन्छ। क्यासिनोले पनि होटलमा रहेको सेवा सुविधा लिने गरी सम्झौता गरेका हुन्छन्।

काठमाडौं- अन्नपूर्ण पाँच तारे होटल बन्द भएको दुई वर्षभन्दा बढी भइसकेको छ। आधिकारिक रुपमा होटल बन्द भएको घोषणा भएको भने एक वर्ष भएको छ। ५५ वर्षसम्म निरन्तर रुपमा चलेको अन्नपूर्ण होटल कोरोना सुरुभएसँगै बन्द भएको थियो।

कोरोनाका कारण बन्द भएको होटल २०७७ मंसिरमा भने आधिकारिक रुपमै व्यवस्थापनले बन्द गर्ने निर्णय गरेको थियो। होटल बन्द भएसँगै कर्मचारीलाई समेत दिनुपर्ने बाँकी सबै सुविधा हिसाब गरेर लिन सूचना जारी गरेको थियो।

होटल व्यवस्थापनले होटलको संरचना पुराना भइसकेको र नयाँ बनाउने भन्दै बन्द गरेको थियो। तर होटल बन्द भएको सूचना अहिलेसम्म पर्यटन विभागमा समेत जानकारी भएको छैन। 

तर बन्द भएको होटलमा क्यासिनो भने सञ्चालन भइरहेको छ। क्यासिनो सञ्चालनका लागि होटलको सहमति चाहिन्छ। क्यासिनोले पनि होटलमा रहेको सेवा सुविधा लिने गरी सम्झौता गरेका हुन्छन्।

क्यासिनो नियमाली २०७० (पछिल्लो शंसोधन २०७६) मा समेत क्यासिनो सञ्चालनका लागि क्यासिनो सञ्चालन गर्ने कम्पनीले होटलसँग सम्झौता गर्नु पर्छ। होटलको सहमतिपछि मात्रै क्यासिनो सञ्चालनको पूर्वस्वीकृतिदेखि सञ्चालनको लाइसेन्स पाउँछन्। 

क्यसिनो सञ्चालन भएको ठाएँमा क्यासिनो नियमावलीको अनुसूची २ मा क्यासिनो सञ्चालन हुने ठाउँमा हुनपर्ने पूर्वाधार स्पष्ट रुपमा नै उल्लेख गरेको छ। तर क्यासिनो सञ्चालन गर्ने कम्पनीहरूले उक्त सेवा सुविधा होटलसँग सम्झौता गरेर लिन्छ।

तर होटल नै बन्द भएको ठाउँमा उक्त सुविधा हुने विषय नै हुँदैन। तर पाँततारे होटल बन्द भए पनि क्यासिनो सञ्चालकहरूले पनि क्यसिनो सञ्चालन गरिरहेका छन्।

अन्नपूर्ण होटलमा एटलान्टिक रिक्रियसन प्रालिले होटल बन्द भए पनि काठमाडौं जिल्ला अदालतबाट आदेश ल्याएर क्यासिनो सञ्चालन गरिरहेको तथ्य खुल्न आएको छ।

होटल बन्द भए पनि क्यासिनो सञ्चालन भइरहेको सञ्चालक विनय कुमार शाह बताउँछन्। होटलले मर्मतका नामका आफूहरूलाई क्यासिनो सञ्चालनबाट रोक्न होटल व्यवस्थापनले पत्राचार गरेको र आफूहरूले सम्झौताअनुसार होटलमा क्यासिनो सञ्चालन गर्न पाउनु पर्ने भन्दै अदालत गएको उनको भनााइ छ।

अदालतले पनि करार सम्झौताअनुसार क्यासिनो सञ्चालन गर्न आदेश दिएको र आफूहरूले होटलसँग करार सम्झौताअनुसार सेवा सुविधा पाउन पर्ने भन्दै माग गरेको शाह बताउँछन्।

क्यासिनो नियमावलीको अनुसूची २ मा क्यासिनो सञ्चालन हुने ठाउँमा पर्याप्त सवारी पार्किङ क्षेत्र भएको, चमेना गृह (रेष्ट्ररां),स्नान घर (सावर रुम) सावना, स्टिम वाथ, व्यायाम स्थल, स्पा सम्बन्धी सुविधा, स्वीमिङ्ग पुल र  क्यासिनो स्थलमा खेलकुदको सुविधा हुनु पर्नेै विषय स्पष्ट उल्लेख गरेको छ।

विशेष त होटल नै बन्द भएपछि क्यासिनो सञ्चालन गर्न नमिल्ने पर्यटन विभागका एक कर्मचारीले बताए। तर अन्नपूर्ण होटल बन्द भए पनि अनिर्वाय हुनुपर्ने केही बिषय क्यासिनो आफैले व्यवस्थापन गरे पनि अधिकांंश विषय पूरा नभएकै अवस्थामा क्यासिनो सञ्चालन भइरहेको छ।

तपाईंहरूले क्यासिनो सञ्चालनका लागि हुनपर्ने आवश्यक मापदण्डहरू होटलसँग लिने गरी सम्झौता गरेर क्यासिनो सञ्चालन गर्नु भएको थियो तर होटल नै बन्द भएपछि आवश्यक सुविधाहरू नभइ कसरी क्यसिनो सञ्चालन गरिरहनु भएको छ भनेर सञ्चालक शाहलाई प्रश्न गरेका थियौँ, तर हाम्रो प्रश्नमा शाहले सम्झौता अनुसारको सुविधा खोजिरहेको बताए पनि अन्य विषय भने बोल्न चाहेनन्।

यसअघि दी एभेरष्ट हाेटल बन्द भएकै बेला एभरेष्ट क्यासिनाे सञ्चालन भएकाे विषय अदालतसम्म पुगेको थियो। क्यासिनाे सञ्चालनका लागि  होटलबाट सहमित लिनुपर्ने कानूनी व्यवस्था रहेको र बन्द होटलमा क्यासिनाे सञ्चालन गर्न नपाउने आदेश सर्वाेच्चले २०७४ सालमै गरेको थियो। सर्वाेच्च आदेशपछि पर्यटन विभागले प्रहरी प्रशासनको सहयोग क्यासिनाे बन्द गराएको थियो। तर फेरि अहिले बन्द पाँच तारे होटल अन्नपूर्णमा जिल्ला अदालतकाे आदेश ल्याउँदै क्यासिनाे सञ्चालन भइरहको छ। 


प्रकाशित : मंगलबार, माघ २५ २०७८१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend