आइतबार, भदौ २३ गते २०८१    
images
images
नेपाल वायुसेवा निगममा आर्थिक अनियमितता

कहिले परिमाण लुकाउँदै सामान खरिद, कहिले रकम लुकाउँदै 

images
मंगलबार, माघ २५ २०७८
images
images
कहिले परिमाण लुकाउँदै सामान खरिद, कहिले रकम लुकाउँदै 
images
images

काठमाडौं- नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षमा युवराज अधिकारीको नियुक्तिको विषयलाई लिएर विरोध भएसँगै उनको बचाउमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आर्थिक अनियमितता रोक्न अधिकारीलाई ल्याएको दाबी गरेको  थिए।

images
images
images

मन्त्री आलेले पूर्वअध्यक्ष तथा महाप्रबन्धकहरूको तलब बढी भएको र उनीहरूले अनावश्यक खर्च गरेको भन्दै आरोपसमेत लगाएका थिए। मन्त्रालयमै भएको पत्रकार सम्मेलनमा मन्त्रीमार्फत आर्थिक पारदर्शिताको तारिफ पाएका अधिकारीले नै अहिले निगमका आर्थिक हिनामिनाका लागि विभिन्न उपाय उपनाउँदै आएका छन्।

सबैभन्दा पहिले अधिकारीले विभागीय प्रमुखहरूले गर्ने खरिद प्रक्रियामा आर्थिक हिनामिना भएको भन्दै महाप्रबन्धबाट स्वीकृति लिनुपर्ने निर्णय खारेज गर्दै आफूलाई पनि कमिसन आउने गरी विभागीय प्रमुखलाई सामान खरिदमा लगाइएको प्रतिबन्ध फुकुवा गरेका थिए।

विभागीय प्रमुखबाट सामान खरिदमा आर्थिक हिनामिना भएको भन्दै पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेलले सञ्चालन समितिमै प्रस्ताव लगेर सामान खरिद गर्न दिने तर महाप्रबन्धबाट स्वीकृत गराउनु पर्ने निर्णय गराएका थिए।

images

सञ्चालक समितिले पनि खरिदको सम्पूर्ण जिम्मा महाप्रबन्धकको हुने निर्णय गराएको थियो। तर अधिकारीले विभागीय कर्मचारीलाई फकाउनका लागि विभागीय प्रमुखहरूलाई महाप्रबन्धकको स्वीकृतिबिना नै तोकेको सीमाभित्र बसेर सामान खरिद गर्न पाउने निर्णय गराएका थिए।

यसैगरी अधिकारीले कुन सामान कति परिमाणमा खरिद गर्ने हो भन्ने कुनै विवरण सार्वजनिक नगरी ५४ लाख २५ हजार रूपैयाँ बरारबरको कोभिड रोकथाम सामग्री खरिद गर्ने गरी कम्पनी छनोट गरेका थिए। 

निगमले ४ वटा कम्पनीसँग ६ प्रकारका सामग्री खरिद गरेको थियो। जसमा सेनिटाइजर जेल बोतल, सेनिटाइजर जार, सर्जिकल ग्लोब्स, सर्जिकल माक्स, फेस सिल्ड र पीपीई खरिद गरेको थियो। तर कुन सामान कति परिमाणमा खरिद गर्न लागेको हो भन्ने विषय लुकाइएको थियो।

यस विषयमा पनि निगम प्रवक्ता अर्चना खड्काले आर्थिक विनियमावलीअनुसार परिमाण सार्वजनिक गर्न नमिल्ने बताएकी थिइन्।

निगमले परिमाण नखुलाए पनि रकम भने खुलाएको थियो। कुन सामान कति रूपैयाँका दरमा किनिन लागेको हो भन्ने नखुलाउँदा आर्थिक हिनामिनाका लागि बाटो राखिएको आरोप लागिरहेको छ। 

निगमको साधारण तथा सम्पत्ति व्यवस्थापन विभागले ६ वटा कम्पनीलाई सम्झौता गर्न आउन भन्दै सूचना प्रकाशित गरेको थियो। तर कुन सामान कति खरिद गर्न लागेको हो भन्ने विवरण भने लुकाइएको थियो। 

निगमले ३३ लाख ९८ हजार १ सय ६० रूपैयाँमा पीपीई खरिदका लागि भन्दै सभाना ट्रेडलाई सम्झौता गर्न आउन भन्दै सूचना चारी गरे पनि कति सेट खरिद गर्न लागको हो परिमाण भने लुकाएको थियो। 

यसैगरी सभानासँग नै ३ लाख ३९ हजार ६ सय रूपैयाँ बराबरको फेस सिल्ड खरिद, ४ लाख ९५ हजार रूपैयाँमा सर्जिकल मास्क, ७ लाख ७० हजार रूपैयाँ बराबरको सर्जिकल ग्लोब्स, सेनिटाइजर जार १ लाख ४१ हजार ८ सय रूपैयाँ बराबरको र २ लाख ८० हजार ८ सय रूपैयाँ बराबरको सेनिटाइजर जेल बोतल खरिदका लागि सम्झौता गर्न आउनु भन्दै सूचना जारी गरेको थियो। तर कुन सामान कति परिमाणमा हो भन्ने विषय भने लुकाइएको थियो। 

सामान खरिदको रकमसँगै परिमाण पनि सार्वजनिक गर्नुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयको भनाइ छ। यस विषयमा हामीले निगम प्रवक्ता खड्कालाई सामानको एकमुष्ट रकम आए पनि विवरण किन सार्वजनिक नभएको भन्दै प्रश्न गरेका थियौँ। हाम्रो प्रश्नमा उनले नेपाल वायुसेवा निगम, आर्थिक प्रशासनसम्बन्धी नियमावली अनुसार नै काम भएको बताइन्। यतिसम्म कि निगमले आफ्नो वेबसाइटमा समेत सूचना लुकाएको छ।

स्वास्थ्य सुरक्षा सामग्री खरिदमा रकम सार्वजनिक गर्दै परिमाण लुकाएर आर्थिक हिनामिना गरेको निगमले फेरि एयरबस ३२० को लागि भाडामा इन्जिन लिन सम्झौता गर्दा कम्पनी सार्वजनिक गरे पनि रकम र कति समयमा लागि इन्जिन भाडामा ल्याउन लागेको हो भन्ने विषय लुकाएको छ।

रकम लुकाउँदै निगमले एयरबस ३२० नाइन एन एकेडब्लु जहाजको बिग्रिएको इन्जिन मर्मत नगर्दासम्मका लागि भन्दै इन्जिन भाडामा लिन लागेको हो। यसका लागि निगमले एमएस एमटियू मेन्टेनेन्स लिज सर्भिस बीभी कम्पनी छनोट भएको र इन्जिन ल्याउने प्रक्रिया समेत सुरु भएको सूचना जारी गरिसकेको छ।

निगमले २१ दिनका लागि इन्जिन भाडामा लिनका लागि झन्डै एक महिनाअगाडि सूचना गरेको थियो। इन्जिन भाडामा लिन भएको टेन्डरमा सहभागी कम्पनीमध्ये निगमले एमएस एमटियू मेन्टेनेन्स लिज सर्भिस बीभी कम्पनीसँग कति रकममा कति महिनाका लागि इन्जिन भाडामा लिन लागेको हो कुनै जानकारी गराएको छैन।

उक्त जहाज पुस १३ गतेदेखि कतार विमानस्थलमै रोकिएको छ। जहाज अवतरणपछि पार्किङमा लैजाने क्रममा जहाजको इन्जिनमा समस्या देखिएको थियो। इन्जिन निर्मात कम्पनीले इन्जिन मर्मत गर्नुपर्ने भनेको थियो। सोहीअनुसार इन्जिन मर्मत नहुँदासम्मका लागि इन्जिन भाडामा लिने भन्दै टेन्डर भएको थियो।

इन्जिन भाडामा लिने टेन्डर पनि निगम सञ्चालक बोर्डबाट स्वीकृत नभएकै अवस्थामा कार्यकारी अध्यक्षको क्षेत्राधिकारभित्र बसेर २१ दिनको लागि इन्जिन भाडामा लिने गरी टेन्डर भएको थियो।

तर टेन्डर भएर कम्पनीले आवेदन दिइसेकेपछि कार्यकारी अध्यक्ष युवराज अधिकारीले केही समयअगाडि बसेको सञ्चालक समितिको बैठकमा इन्जिन भाडामा लिने विषय अनुमोदन गराएको स्रोतको भनाइ छ। सोहीअनुसार अहिले तीन महिनाको लागि इन्जिन भाडामा लिने गरी कम्पनी छनोट भएको निगम स्रोतको भनाइ छ।

निगम कार्यकारी अध्यक्ष अधिकारीलाई बिजनेश न्युजले इन्जिन भाडामा लिने सम्झौता कति महिनाको लागि भएको हो र कुन दरमा इन्जिन भाडामा लिन लागेको हो? भनेर प्रश्न गरेका थियौँ। हाम्रो प्रश्नमा अधिकारीले निगमकै कर्मचारी केबी थापासँग सूचना लिनु भन्ने जवाफ दिए। तर केबी थापाले पनि यो विषयमा निगमकै अर्का कर्मचारी पारस खड्कासँग सोध्नु भनेर पन्छिए। खड्काले भने फोन उठाएनन्।

निगमसँग कति समय र कुन दरमा इन्जिन भाडामा लिन लागेको हो भनेर सूचना माग्न थालेपछि सोमबार निगमले कम्पनीको नाममात्रै राखेर सूचना जारी गरेको छ।

यस विषयमा निगम प्रवक्ता अर्चना खड्कालाई कति समय र कुन दरमा इन्जिन भाडामा लिन लागेको हो भनेर प्रश्न गर्दा उनले पनि नेपाल वायुसेवा निगमको आर्थिक विनियमावलीअनुसार कति समय र कुन दरमा इन्जिन भाडामा लिन लागेको हो उक्त विवरण सार्वजनिक गर्नु नपर्ने कानूनी व्यवस्थाअनुसार विवरण सार्वजनिक नभएको बताइन्। स्वास्थ्य सामग्री खरिदमा परिमाण लुकाउने र अहिले रकम लुकाउने बिषय नियमावलीको कुन बुँदामा उल्लेख भएको छ? भनेर प्रश्न सोध्दा उनले कुनै जवाफ दिइनन्। 

उता सार्वजनिक खरिद अनुगमनका कार्यालयका सहप्रवक्ता टिका राज पोखरेलले कम्पनी छनोट नहुँदासम्म विवरण सार्वजनिक गर्न नमिल्ने र कम्पनी नै छनोट भएपछि भने विवरण सार्वजनिक गर्नुपर्ने बताए।

निगमले जारी गरेकै सूचनालाई आधार मान्ने हो भने कम्पनी छनोट भइसकेको छ। कम्पनी छनोट भएर इन्जिन भाडामा लिने कामसमेत अगाडि बढेको निगमले जारी गरेकै सूचनामा उल्लेख छ। यस्तोमा कति समय र कुन दरमा इन्जिन भाडामा लिन लागेको हो भन्ने नखुलाएर निगममा भ्रष्ट्राचारको बाटो खोजेको देखिएको छ।


प्रकाशित : मंगलबार, माघ २५ २०७८०५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend