काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा १३ खर्ब ८ अर्ब ५३ करोड रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा १२.१८ प्रतिशतले आयात बढेको छ।
गत वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो।
यस्तै, नेपालबाट हुने वस्तु तथा सेवाको निर्यात ६५.१६ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउनदेखि चैतसम्म) मा नेपालबाट १ खर्ब ८८ अर्ब १९ करोड रूपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। जुन गत वर्षको तुलनामा ६५.१६ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट कुल १ खर्ब १३ अर्ब ९४ करोड रूपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो।
गत वर्षको तुलनामा व्यापार घाटा भने ६.४५ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको चैतसम्म नेपालको व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रूपैयाँ रहेको छ।
गत वर्षको सोही अवधिमा भने यस्तो व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रूपैयाँ रहेको थियो।