काठमाडौं- नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७८ करोड रूपैयाँ खुद नाफा गरेको छ।
यस बैंकले तेस्रो त्रैमास (माघदेखि चैत) सम्ममा मात्रै २ अर्ब ३२ करोड रूपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल बैंक लिमिटेडले जम्मा १३ करोड मात्रै खुद नाफा गर्न सफल भएको थियो।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ७ अर्ब १० करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा बैंकको यस्तो ब्याज आम्दानी ६ अर्ब ७७ करोड रूपैयाँ रहेको थियो। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २ अर्ब २४ करोड रूपैयाँ बराबरको बाँकी ब्याज बक्यौता उठाएकाले बैंकको खुद नाफा बढेको हो।
राष्ट्र बैंकले खुला छोडेको टपअपको र निर्माण व्यवसायीको पुनर्तालिकीकरणको सुविधाले बैंकले खुद नाफामा यति ठूलो मात्रामा सुधार भएको प्रतिवेदन सार्वजनिक गर्न सफल भएको छ। यता बैंकको खराब कर्जा हेर्ने हो चालु आर्थिक वर्षको ९ महिनामा ५.४५ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.८५ प्रतिशत रहेको छ।
गत वर्ष बैंकहरुले आफ्नो ब्याज आम्दानी मिलान गर्नका लागि कर्जा एभरग्रिनिङको सुविधा पाएका थिएनन्। यस त्रैमासमा कामु गभर्नर निलम ढुंगानाले कर्जा एभरग्रिनिङ गर्न मौका दिएपछि खुद कागजीरुपमा बैंकहरुको नाफा बढ्ने अनुमान गरिएको थियो। सोहीअनुरुप नेपाल बैंक लिमिटेडले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ।
यस अवधिमा नेपाल बैंक लिमिटेडको प्राथमिक पुँजीकोष अनुपात १०.०९ प्रतिशतमा आएको छ भने कर्जा निक्षेप अनुपात ७२.७१ प्रतिशत रहेको छ। यस त्रैमासमा बैंकको आधार दर ५.९६ प्रतिशतमा आएको छ।
यस अवधिमा नेपाल बैंक लिमिटेड वितरणयोग्य नाफामा उल्लेख्य सुधार भएको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ४ करोड रूपैयाँले वितरणयोग्य घाटामा रहेको नेपाल बैंक लिमिटेड ३० करोड ६२ लाख रूपैयाँले वितरणयोग्य नाफामा गएको छ।