काठमाडौं- हामीले उपभोग गरिरहेका कुनै पनि कुरा बन्नुभन्दा अघि त्यसको अनुसन्धान र विकास(रिसर्च एन्ड डेभलपमेन्ट) काम भएको हुन्छ। नवीनतम् कुरा पत्ता लगाउन रिसर्च एन्ड डेभलपमेन्ट(आरएन्डडी)मा ठूलो लगानी र समय खर्चनु जरुरी हुन्छ। एउटा मोबाइल वा त्यसमा प्रयोग हुने एप्लिकेसन बनाउन उत्पादक कम्पनीले आरएन्डडीमा राम्रो लगानी सयम खर्चिएका हुन्छन्।
विश्वव्यापी रुपमा सरकार तथा निजी कम्पनीहरुले आरएन्डडीमा हरेक वर्ष लगानी बढाउँदै लगेका छन्। पछिल्लो दुई दशकमा विश्वले आरएन्डडीमा गरेको लगानी उल्लेख्य रुपमा बढेको छ।
विश्वभर २०२३ मा आरएन्डडीमा कुल २८ खर्ब अमेरिकी डलर लगानी भएको थियो। २००० मा यस्तो लगानी १० खर्ब अमेरिकी डलर हाराहारी थियो।
२०२३ मा समग्रमा एसियाली अर्थतन्त्रले आरएन्डडीमा खर्च भएको रकमको ४६ प्रतिशत हिस्सा ओगटेको छ। त्यस्तै उत्तर अमेरिकाको हिस्सा २९ प्रतिशत र युरोपको हिस्सा २१ प्रतिशत रहेको भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ। नवीन आधुनिक प्रविधिको विकासतर्फ आरएन्डडी केन्द्रित भइरहेको छ।
आरएन्डडीमा हुने लगानी मुख्यगरी पतिरक्षा, स्वास्थ्य सेवाको प्रविधि र हरित ऊर्जा क्षेत्रमा भइरहेको छ।
आरएन्डडी कुन देशले कति लगानी गर्ने भन्ने विषय धेरैको चासो हुन सक्छ। देशहरुले आरएन्डडीमा गरेको लगानी उक्त देशको जीडीपीको प्रतिशतका आधारमा तथ्यांक निकालिएको छ।
ओईसीडीले सार्वजनिक गरेको तथ्यांकअनुसार २०२३ मा कुन देशले २०२३ को जीडीपीको कति प्रतिशत रकम आरएन्डडी लगानी गरे?
इजरायल- ६.३ प्रतिशत
दक्षिण कोरिया- ५ प्रतिशत
ताइवान- ४ प्रतिशत
स्वीडेन- ३.६ प्रतिशत
अमेरिका- ३.४ प्रतिशत
जापान- ३.४ प्रतिशत
बेल्जियम- ३.३ प्रतिशत
स्वीजरल्यान्ड- ३.३ प्रतिशत
अस्ट्रिया- ३.३ प्रतिशत
जर्मनी- ३.१ प्रतिशत
फिनल्यान्ड- ३.१ प्रतिशत
डेनमार्क- ३ प्रतिशत
बेलायत- २.८ प्रतिशत
आइसल्यान्ड- २.७ प्रतिशत
चीन- २.६ प्रतिशत
नेदरल्यान्ड- २.२ प्रतिशत
फ्रान्स- २.२ प्रतिशत
स्लोभेनिया- २.१ प्रतिशत
नर्वे- १.९ प्रतिशत
सिंगापुर- १.८ प्रतिशत
ओईसीडी देशहरुले २०२० यता आरएन्डडीमा जीडीपीको औषत २.७ प्रतिशत लगानी गर्दै आएका छन्। यी देशहरुले २०२३ मा कुल १९ खर्ब अमेरिकी डलर आरएन्डडीमा लगानी गरेका हुन्।
जीडीपीको सबैभन्दा धेरै आरएन्डडीमा लगानी गर्ने देश इजरायल हो। यसका साथै इजरायल विश्वको सबभन्दा धेरै परक्यापिटा स्टार्टअप भएको देश पनि हो। २०२३ मा इजरायलले जीडीपीको ६.३ प्रतिशत अर्थात २८ अर्ब ३० करोड अमेरिकी डलर आरएन्डडीमा लगानी गरेको थियो। यो लगानीको ९२ प्रतिशत निजी क्षेत्रबाट भएको हो।
इजरायलपछि जीडीपीको धेरै हिस्सा आरएन्डडीमा लगानी गर्ने मुलुकमा दक्षिण कोरिया, ताइवान र स्वीडेन रहेका छन्। २०२३ मा ताइवानमा कर्पोरेट आरएन्डडी लगानी ३.७ प्रतिशतले वृद्धि भएको थियो। तर यो २०२३ अघिका ५ वर्षसम्म भएको वार्षिक ८.८ प्रतिशतको वृद्धिदरभन्दा निक्कै कम हो। उक्त समयमा सबैभन्दा ठूलो योगदान सेमिकन्डक्टर क्षेत्रको थियो।
सानो देश आइसल्यान्डले २०२३ मा आरएन्डडीमा ५९ अर्ब ९० करोड डलर लगानी गरेको थियो। यो ओईसीडी देशको धेरै लगानी गर्ने सूचीमा ८औँ स्थानमा रहेको छ।
जीडीपीको प्रतिशतका आधारमा २०२३ मा अमेरिकाले ३.४ प्रतिशत आरएन्डडीमा लगानी गरेको थियो। तर रकमका आधारमा भने आरएन्डडीमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक अमेरिका हो। २०२३ मा अमेरिकाले आरएन्डडीमा ८ सय २३ अर्ब ४० करोड डलर लगानी गरेको थियो।
चीनको कुरा गर्दा २००० यता उसले आरएन्डडीमा गरेको लगानी २०२३ मा आइपुग्दा १८ गुणाले बढाएको छ। २०२३ मा चीनले आरएन्डडीमा ७ सय २३ अर्ब अमेरिकी डलर लगानी गरेको थियो। रकमका आधारमा अमेरिकापछि यो दोस्रो ठूलो लगानी हो।
अर्कोतर्फबाट हेर्दा २००० देखि २०२३ मा आइपुग्दा विश्व आरएन्डडी लगानीमा चीनको हिस्सा ४ प्रतिशतबाट बढेर २६ प्रतिशत पुगेको छ। आरएन्डडीमा भएको कुल लगानीमा चीनका निजी क्षेत्रको हिस्सा ७७.६ प्रतिशत रहेको छ। यो करिब अमेरिकाको सरह नै हो।