शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

फेरिएको किनमेल शैली : प्रविधिले जोडिएका छन् व्यापारी र ग्राहक

images
शनिबार, वैशाख ६ २०८२
images
फेरिएको किनमेल शैली : प्रविधिले जोडिएका छन् व्यापारी र ग्राहक

व्यापारी बन्न तथा आफ्ना उत्पादन बिक्रीका लागि पसलै थापेर बस्नुपर्छ भन्ने मानसिकता पनि हराउँदै गएको पाइन्छ। टिकटक, इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जाल तथा वेबसाइटमा सूचना राखेकै भरमा अनलाइन अर्डर आउने हुँदा पसल राख्ने झन्झटबाट पनि मुक्ति मिलेको छ।

images
images

काठमाडौं- वि.सं. २०२८ को राष्ट्रिय जनगणनामा कम्प्युटरको प्रयोगबाट डिजिटल यात्राको थालनी गरेको नेपालले २०८२ सालसम्म आइपुग्दा प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको छ। सहरी क्षेत्रमा त छँदैछ, विकट गाउँठाउँमा समेत मोबाइल र इन्टरनेटको पहुँच पुगिसकेको छ। प्रविधिलाई आत्मसात गर्दै यहाँसम्म आइपुग्दा सरकारी, गैह्रसरकारी तथा निजी क्षेत्रबाट हुने सेवासमेत डिजिटल माध्यमबाट प्रवाह गर्न थालिएको छ। 

images
images
images

प्रविधिमा भएको विकाससँगै पछिल्लो समय यहाँको किनमेल संस्कृतिमा समेत परिवर्तन आइरहेको छ। पहिले सामान खरिदका लागि बजार नै धाउनुपर्थ्यो भने अधिकाशंको पहुँचमा मोबाइल र इन्टरनेट पुगेसँगै अहिले घरैमा बसीबसी आफूलाई आवश्यक सामग्री खरिद गर्ने सुविधा मिलेको छ।

images
images

बजारमा नपाइएका सामग्रीसमेत अनलाइन स्टोरहरूमा सहजै उपलब्ध हुने र भिडभाडबाट जोगिनुका साथै समयको पनि बचत हुने हुँदा धेरैले अहिले किनमेलका लागि डिजिटल बजारकै उपयोग गर्न थालेको पाइन्छ। 

images
images

एकै ठाउँमा बसेर एक घण्टामै सयौँ स्टोरहरू डुल्न भ्याइने, घर होस् या कार्यालय वा बस जुनसुकै ठाउँबाट आफूलाई आवश्यक घरायसीदेखि फेन्सीसम्मका सामग्री गरिद गर्न सकिने सुविधाकै कारण पनि अहिले उपभोक्ताले डिजिटल बजारलाई नै प्राथमिकता दिन थालेका हुन्। 

srishti.jpg
सृष्टि शर्मा आफ्नो कुरा राख्दै। (बायाँ)

भक्तपुरकी सृष्टि शर्मालाई पनि किनमेलका लागि बजार धाउनैपर्ने बाध्यताबाट छुट्कारा मिलेको छ। प्रविधिले किनमेलमा सहज भएको उनको अनुभव छ। 

'पहिले आफूलाई आवश्यक परेका तर बजारमा फेला नपरेका वस्तुहरूको रहरमात्र मान्नुपर्ने हुन्थ्यो तर अहिले भने वेबसाइट, फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालतिरका व्यावसायिक पेजहरू डुल्दा आफूलाई आवश्यक सबै सामग्री त्यहाँबाट खरिद गर्न सुविधा मिलेको छ। इमरजेन्सी केही पर्‍यो भने अहिले अनलाइन अर्डर गर्न पाइन्छ', सृष्टि सुनाउँछिन्।

डिजिटल पेमेन्टको सुविधा मिलेसँगै आजकाल उनलाई क्यास बोक्न झन्झटिलो लाग्छ। ‘क्यासभन्दा अनलाइन पेमेन्ट नै सजिलो लाग्छ र यही नै बढी प्रयोग गर्छु’ उनले भनिन्। अहिले अनलाइन ठगी पनि बढिरहेको समयमा सोसल साइटहरू भेरिफाइड गरी सामानको गुणस्तर र मूल्य बुझेर भरपर्दो माध्यमबाट मात्र सामान खरिद गर्न उनको सुझाव छ। 

grahak 1.jpg
बसन्तपुरमा भेटिएका ग्राहक। आफ्नो अनलाइन किनमेल अनुभव सुनाउँदै।

बसन्तपुरमा भेटिएका अर्का एक उपभोक्ता पनि अचेल आफूलाई आवश्यक परेका सामग्री सोसल मिडियामा मूल्य हेरेर मात्रै किनमेलका लागि बजार पुग्ने गर्छन्। उनी भन्छन्, ‘प्रविधिले किनमेलका लागि सहज बनाइदिएको छ। तर फेक पेजहरू पनि प्रशस्तै हुने हुँदा भेरिफाइड गरेरमात्रै सामान खरिद गर्नुपर्छ नत्र फसिन्छ।’ 

मोबाइल बैंकिङ, अनलाइन वालेटहरू प्रयोग गर्दा क्यास खस्ला, हराउला, चोरिएला भन्ने तनाव कम हुने हुँदा उनी पनि सामान खरिद गर्दा बढीजसो डिजिटल भुक्तानी नै गर्छन्। कहिलेकाहिँ अनलाइन वालेटतिर समस्या आउने र सबैतिर क्यूआर भुक्तानीको सुविधा नहुने हुँदा समस्या भने हुने गरेको उनको अनुभव छ।

सर्लाही लालबन्दीका प्रमेश्वर महतोको पर्समा आजकाल क्यास हुँदैन। बजारमा बार्गेनिङको सुविधा पनि मिल्ने र अनलाइनबाट मगाइएका सामान आफूले रोजेभन्दा साइज र क्वालिटी फरक आएपछि बजार डुलेरै सामान खरिद गर्ने गरेका उनी भुक्तानी भने डिजिटल नै गर्न रुचाउँछन्। प्रविधिको प्रयोग गरी हुने ठगीबारे पनि उनी सचेत छन्।

parmeshowr.jpg
परमेश्वर महतो

‘कसैले दिएको, सेयर गरेको डाटा र वाइफाइ सकेसम्म प्रयोग नगर्दा राम्रो। फ्रि वाइफाइ वा अरुको डाटा र वाइफाइ प्रयोग गर्दा बैंक अकाउन्ट ह्याक हुने, पैसा उड्ने जोखिम हुन्छ’, उनले भने।

न्युरोड आसपास भेटिएका अर्का ग्राहक पनि लुगाफाटा, खाद्यसामग्रीलगायत खरिदका लागि पहिले असन, न्युरोड बजार डुल्थे भने अहिले मोबाइलबाटै अनलाइन स्टोरहरू डुलेर सामान मगाउन थालेका छन्। बजार डुलेरै किन्दा भने बार्गेनिङको सुविधा पनि मिल्ने र खरिद गर्नुअघि नै सामान ओर्जिनल वा डुब्लिकेट चेक गर्न मिल्ने हुँदा उनलाई भने अनलाइनभन्दा बजार पुगेरै सामान खरिद गर्न उपयुक्त लाग्छ। इमरजेन्सीका सामान र बजारमा नपाइएका सामान मात्र उनी अनलाइनबाट मगाउने गर्छन्।

grahak.jpg
अनलाइन किनमेलको अनुभव सुनाउँदै ग्राहक।

‘म बजार पनि डुल्छु र कहिलेकसो अनलाइन अर्डर पनि गर्छु। बजार आउनुर्‍यो भने म अनलाइनमा मूल्य हेरेर आउँछु। बजारमा नभेटिएका कतिपय सामानहरू भने अनलाइनबाट मगाउँछु र भुक्तानीका लागि डिजिटल माध्यमकै बढी प्रयोग हुन्छ’, उनले भने। 

अनलाइन माध्यमबाट सामान मगाउनुअघि पेज तथा वेबसाइटहरू भेरिफाइड गरेरमात्रै रकम तिर्नुपर्ने उनी बताउँछन्। ‘भेरिफाइड गरेरमात्रै खरिद गर्ने हुँदा आजसम्म ठगिएको भने छैन। पेजका रिभ्यूहरू पढिएन, डिटेल हेरिएन, साइटहरू भेरिफाइड गरिएन भने फेक पर्न जाने र त्यहाँबाट अर्डर गरिएका सामानका साइज र क्वालिटी भने कहिलेकाहिँ फरक पर्न जाँदो रहेछ। एउटा कम्पनीको मगायो अर्को कम्पनीको ल्याइदिने हुँदोरहेछ। फेक पेजहरूले आकर्षक फोटोहरू राखेर विज्ञापन बनाउँदै पेज बुस्ट गरिरहेका हुन्छन् मानिसको ध्यान खिच्न, फ्याक्ट चेक नै नगरी यस्ता विज्ञापनको भर पर्दा फस्ने डर अत्यधिक हुन्छ’, उनको भनाइ छ।

२०७७ पुस १० मा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले नक्साल तरकारी तथा फलफूल बजारस्थित एक पसलमा क्यूआर कोडबाट भुक्तानीमार्फत तरकारी खरिद गरी क्यूआर कोड भुक्तानीको शुभारम्भ गरेका थिए। समग्र अर्थतन्त्रलाई प्रविधिमैत्री तुल्याउने, नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने भन्दै उनले क्यूआर भुक्तानीलाई देशव्यापी अभियानका रुपमा विस्तार गर्नेसमेत अभिव्यक्ति दिएका थिए।

अधिकारीले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिअनुरुप क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा अगाडि बढाइने बताएका थिए। त्यसअघि कम प्रयोगमा आइरहेको क्यूआर कोडमार्फत हुने भुक्तानी कारोबार पछिल्लो समय भने लोकप्रिय बन्दै गइरहेको छ। यसले ग्राहकलाई मात्रै होइन बिक्रेतालाई समेत सुविधा मिलिरहेको छ। 

सामाजिक सञ्जालमा सक्रियता बढाएसँगै सिनामंगलस्थित ग्याजेट घरको ‘ग्याजेट्स’ व्यापार पछिल्लो समय निकै फस्टाएको छ। गुणस्तर, विशेषता र मूल्यसहित टिकटक र फेसबुकमा आफ्ना सामानको भिडियो कन्टेन्ट बनाएर हाल्न थालेसँगै अहिले पसलमै ग्राहक ढुकेर बस्नुपर्ने बाध्यता अन्त्य त भएको छ नै साथै ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको छ। 

‘ग्याजेट घर’ को टिकटक आईडीमा ४५ हजार फलोअर्स छन्। त्यसमा अपलोड गरिएका भिडियो कन्टेन्टमा सामग्रीबारे थप जिज्ञासा ग्राहकले कमेन्टमा राख्छन्। पसलको ठेगाना र अनलाइन डेलिभरीका विषयमा पनि प्रशस्त जिज्ञासा आउँछन्। ठेगाना धेरै सोधिन थालेपछि अहिले सञ्चालक सुरजकुमार पाण्डेले लोकसनसहितको भिडियो बनाएर टिकटकमा पिन गरेर राखिदिएका छन्। ग्राहकको सहजताका लागि ह्वाट्सएप नम्बर पनि प्रोफाइलमा राखिएको छ, जहाँबाट ग्राहकले आफूलाई मन परेका सामग्रीबारे थप सोधपुछ र अर्डर गर्न सक्छन्।

पहिले खासै टिकटकलाई वास्ता नगर्ने उनले टिकटकबाट व्यापक बजारीकरण हुनसक्ने देखिएपछि दुई वर्षयता सक्रियरुपमा टिकटक चलाउन थालेका हुन्। टिकटकमा आफ्ना सामग्रीको विज्ञापन गर्न थालेदेखि उनलाई ग्राहकको अभाव भएको छैन। ग्राहक संख्या दोबर-तेबरले वृद्धि भएको छ। 

पहिले बाटोमा बाटो पर्दा मानिसहरू पसल पस्थे भने अहिले उनको पसलको लोकेसन खोजीखोजी ग्राहकहरू पुग्ने गर्छन्। पहिले पसलको व्यापारबाट पसलकै खर्च धान्न मुश्किल हुन्थ्यो भने अहिले व्यापारमा वृद्धि भएसँगै उनले केहीलाई रोजगारीसमेत दिएका छन्। 

gazet ghar.jpg

‘व्यापारीले आफ्ना सामग्रीको मार्केटिङका लागि प्रविधिको प्रयोग गर्ने हो भने व्यापार निकै राम्रो हुने देखिन्छ। तर यसमा पनि सक्रिय भएर लाग्नुपर्ने हुन्छ। साथै पारदर्शी पनि हुनुपर्छ। आफ्नो सामानको वास्तविकता खुलस्त राख्ने, बनावटी केही पनि नराख्ने गर्दा ग्राहकको विश्वास बढ्छ। एक पटक खरिद गर्नेले पुनः खरिद गर्नेगरी दीर्घकालीन हिसाबले जानुपर्छ। ग्राहकको ध्यान आकर्षित गर्ने नाममा सामानको गुणस्तरबारे बढाइचढाइ भनेर ठग्ने प्रयास गरियो भने ग्राहक र व्यापार दुवै दिगो हुँदैन’, ग्याजेट्स बिक्रेता पाण्डे बताउँछन्।

करिब १७ वर्षअगाडि अध्ययनका सिलसिलामा महेन्द्ररनगरबाट काठमाडौं आएका उनले लगभग चार-पाँच वर्ष भयो ग्याजेट पसल राखेको। व्यापार बढ्दै जान थालेपछि उनले ग्याजेटसँगसँगै बच्चाका खेलौनासमेत थपेका छन्। व्यवसाय परिवर्तन गरिरहने वा मन भड्काइरहनुभन्दा एउटैमा टिकिरहन सक्ने हो भने केही समयपछि व्यवसाय फस्टाएर जाने उनको अनुभव छ।

व्यवसायको सुरुवाती चरणमा घरभाडासमेत गाउँबाट माग्नुपर्ने अवस्था थियो, अहिले भने उनको व्यापार व्यवसाय राम्रो फस्टाइरहेको छ, यो सम्भव गराएको हो सामाजिक सञ्जालले। उनले भने, ‘सोसल मिडियाले व्यापारमा धेरै प्रभाव पार्ने हुँदो रहेछ। प्रविधिसँगसँगै पाइला चाल्न जानियो भने जिन्दगी सहज बन्छ।’ 

उनको व्यापारलाई मोबाइल बैंकिङले पनि धेरै छरितो र सहज बनाएको छ। ‘क्यूआर प्रयोगकर्ता बढेसँगै क्यास साट्नुपर्ने झन्झट हटेको छ। तर केही ग्राहक भने मोबाइल बैंकिङबाट भुक्तानी गर्दा सामानको भन्दा बढी मूल्य भुक्तानी गर्नुपर्ने हुँदा अनलाइन भुक्तानीमा असहज मान्छन्’, उनी भन्छन्, ‘क्यूआरमा समस्या आउँदा भने कतिपय अवस्थामा ग्राहक फर्काउनु परेको छ। घरायसी दैनिक जीवनमा पनि क्यूआर नै प्रयोग हुन्छ।’

प्रविधिको विकाससँगै यसबाट ठगीका घटना पनि बढिरहेका छन्। अर्काको विज्ञापन कन्टेन्ट आफ्नो अकाउन्टमा कम मूल्य राखेर क्यूआर गर्न भनिरहेको पाइन्छ। यसले व्यवसायी र ग्राहक दुवैलाई समस्या दिलाइरहेको छ।

‘हामीले भने क्यासअन डेलिभरी गरिरहेका छौँ। सामान हातमा परिसकेपछि मात्रै पैसा लिने गर्छौँ। तर सबै सामानको क्यासअन डेलिभरीमा पनि समस्या पर्न जान्छ। कहिलेकाहिँ ग्राहकहरूले सामान नै रिसिभ नगर्दा डेलिभरी चार्ज आफैले तिर्नुपर्ने हुन्छ’, उनले भने। 

यस्तै असन चोकमा रहेको 'असन राष्ट्रिय दौरा-सुरुवाल तथा ढाका हाउस' कि सञ्चालक सुशीला सुवेदी पनि क्यासलेस ग्राहकको आगमन बढ्न थालेसँगै पसलमा क्यूआरको व्यवस्था गर्ने तयारीमा छिन्। 'सहज त नगद कारोबार नै लाग्छ। बानी नै यसैको लाग्यो। तर समयअनुसार चल्न सिक्नैपर्‍यो।'

असनका खेलौना व्यापारी सिताम्बर साहको खेलौना पसलमा पनि नगदभन्दा अनलाइन भुक्तानी गर्ने ग्राहक बढी आउन थालेका छन्। न्युरोडको चश्मा, घडी पसलमा पनि हालसालै क्यूआर भुक्तानीको सेवा थालिसकेका छन् सञ्चालक ५८ वर्षीय पदमले। 'समय र आवश्यक्ताअनुसार चल्नैपर्‍यो। पसलमा डिजिटल कारोबार भए पनि आफ्नो घरायसी सामान खरिदमा क्यास नै प्रयोग हुन्छ। मोबाइल बैं‌किङमा निश्चित मूल्यभन्दा थप पैसा काट्ने हुँदा थोरै मूल्यका सामग्री खरिदमा यसको प्रयोग गर्न ठीक लाग्दैन', उनले भने। 

८ वर्षयता चाबहिलमा कपडा व्यापार गरिरहेका समीर धितालका ग्राहक पनि प्रविधिमैत्री भइसकेका छन्। सामाजिक सञ्जालतिर पनि सक्रियता बढाउँदै गइरहेका उनलाई पनि सहज भने क्यास कारोबार नै लाग्छ। 'किनमेलमा प्रविधिको प्रयोग बढेसँगै सोसल मिडियातिर पनि सक्रिय भएर लागेका छौँ। हालसालैमात्र सुरु गरेका कारण धेरै ग्राहकमाझ पुगिसकेको भने छैन', उनले भने। 

पानीट्यांकीस्थित खनाल किराना स्टोरले एक वर्ष भयो क्यूआरको प्रयोग थालेको। 'आजभोलि अधिकांश ग्राहकले नगद बोक्नै छाडिसके। १०/१५ रूपैयाँ मूल्यका सामग्रीको समेत भुक्तानी क्यूआरबाट गर्छन्। सजिलो त नगद कारोबार लाग्छ तर अनलाइन पेमेन्टको सुविधा नभएको कारण ग्राहक फर्कन थालेपछि क्यूआर सेवाको सुरुवात गरेँ। क्यूआर कारोबार हुँदा रकम जम्मा गर्न बैंक जानुपर्दैन। कहिलेकाहिँ पैसा आएको या नआएको मेसेज नै नआउने हुँदा समस्या हुन्छ। नत्र सजिलै छ', ६५ सालदेखि किराना पसल चलाउँदै आएकी खनाल स्टोरकी सञ्चालक यमुना खनालको अनुभव छ।

मानिस-मानिसबीच नै दुरी राख्नुपर्ने, भाग्नुपर्ने, लुक्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको कोभिड-१९ महामारीको समयमा नगद कारोबारको विकल्पमा डिजिटल भुक्तानी उपयुक्त माध्यम बन्न पुगेको थियो। नगद कारोबार गर्दासमेत कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने भएपछि सरकारले नै भुक्तानीका लागि डिजिटल माध्यमको प्रयोगलाई प्रोत्साहन गरेको थियो।

भिडभाडबाट दूर रहनुपर्ने एकान्तबासको समय प्रविधिले दैनिकी सहज बनाउन सघायो। संक्रमणबाट बच्न कार्यालयका कामकाजदेखि विद्यालयको अध्ययनअध्यापनसम्म अनलाइनबाट भइरहेको उक्त समयमा किनमेल पनि डिजिटल बजारबाटै हुन थाल्यो।

घरमा बसीबसी आफूलाई आवश्यक जुनसुकै सामग्री खरिद गर्न मिल्ने, न पालो कुर्ने झन्झट, समयको पनि बचत हुने। यसै सुविधाका कारण पनि त्यसपश्चात अनलाइन ग्राहक बढेसँगै डिजिटल बजार पनि फस्टाइरहेको छ। पहिले ग्राहक कुरेर बस्नुपर्थ्यो भने अहिले ग्राहक नै सामाजिक सञ्जालमा सामानका विशेषता र मूल्य राखिदिएका भरमा पसलको ठेगाना सोध्दैखोज्दै पुग्ने भएका छन्। कुरियर गरेर जहाँसुकै सामान पठाउन मिल्दा ग्राहकसँगै कारोबारमा पनि उल्लेख्य वृद्धि हुन थालेको छ। 

पछिल्लो समय त व्यापारी बन्न तथा आफ्ना उत्पादन बिक्रीका लागि पसलै थापेर बस्नुपर्छ भन्ने मानसिकता पनि हराउँदै गएको पाइन्छ। टिकटक, इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जाल तथा वेबसाइटमा सूचना राखेकै भरमा अनलाइन अर्डर आउने हुँदा पसल राख्ने झन्झटबाट पनि मुक्ति मिलेको छ। 

पसल सञ्चालनका लागि पर्याप्त नगद नहुने आममानिस पनि प्रविधिकै कारण अब सहजै उद्यमी व्यापारी बन्ने अवसर सिर्जना भएको छ। आफूसँग सीप भएमा कम लगानीमै घरैमा सामान उत्पादन गरेर सामाजिक सञ्जालबाटै मार्केटिङ गरी अनलाइनमार्फत सामान बिक्री गर्न सकिन्छ।

सटर भाडा कसरी जुटाउने तनाव नहुने, लगानी पनि कम पर्ने र आफू एक्लैले पनि धान्न सकिने हुँदा प्रविधिले गृहिणी जीवन बिताइरहेका महिला र पढ्दै गरेका विद्यार्थीलाई समेत व्यवसायी बन्ने हिम्मत दिएको छ। प्रविधिकै कारण अहिले 'एक घर एक उद्यमी' को वातावरण बनेको छ।

 
(यो बिजनेस न्युजको अनलाइन म्यागेजिन टेकएरामा प्रकाशित भएको आलेख हो।)


प्रकाशित : शनिबार, वैशाख ६ २०८२११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend