काठमाडौं- नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिकहरूले केरामा लाग्ने ओइलाउने रोगको नयाँ प्रजाति टीआर ४ को निदान र व्यवस्थापनमा उल्लेख्य सफलता प्राप्त भएको जनाएका छन्।
राष्ट्रिय बाली रोग विज्ञान अनुसनधान केन्द्रले आयोजना गरेको अनुभव आदानप्रदान तथा प्राविधिकहरूलाई रोगको निदान र न्यूनीकरणका विधिसम्बन्धी तालिम कार्यक्रममा सो जानकारी दिइएको हो।
कार्यक्रममा मुख्य अनुसन्धानर्ता डा. राम खड्काले हालसम्मको प्रगति प्रस्तुत गर्दै विसं. २०८० को पुसदेखि सुरु गरिएको रोगको अनुसन्धान र व्यवस्थापनबाट समयमै सतर्कता अपनाउन सक्नाले नेपालको केरा उद्योग ठूलो विनासबाट जोगिएको बताए। उनले दुई वर्षको अनुसन्धानबाट प्राप्त नतिजाहरूलाई स्तरीकरण गर्ने कार्य भइरहेको र केही समयमै रोग निदान तथा व्यवस्थापनको प्याकेज तयार गरिने बताए।
हाल केही रासायनिक तथा जैविक विधिहरूको संयुक्त प्रयोगबाट रोग नियन्त्रण गर्ने विधि विकास गरिएको र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको सहयोगमा थप अनुसन्धान जारी रहने पनि बताइएको छ।
नार्कका प्रवक्ता एवम् राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार वि.सं. २०८० साल भदौमा पहिलोपटक कैलाली जिल्लाका केराका केही बगैँचामा यो रोग देखिएपछि कृषि मन्त्रालय, प्लान्ट क्वारेन्टिन तथा विषादि व्यवस्थापन कार्यालय र सरोकारवालाहरूसँगको समन्वयमा रोग फैलिन नदिन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका थिए।
उक्त कार्यक्रमका प्रमुख अतिथि एवं नार्कका कार्यकारी निर्देशक डा. दोजराज खनालले बालीनाली र पशुपालनलाई संयुक्त रुपमा अपनाउँदा धेरै समस्याको समाधान गर्न सकिने धारणा राखे। एलाएन्स बायोभर्सिटीका तर्फबाट डा. सिजुन झेंगले एसियामा यो रोगको प्रभाव र व्यवस्थापनमा गरिएका प्रयासहरू प्रस्तुत गरेका थिए।
खाद्य तथा कृषि संगठनका नेपाल प्रतिनिधि डा. केन सिमिजुले संगठनले सुरुदेखि नै यो समस्याको समाधानमा संलग्न रहन पाउँदा खुसी व्यक्त गर्दै यसको व्यवस्थापनमा नार्कले गरेको प्रगतिको प्रशंसा गरे। उनले यस्ता रोगले मानव जीविकामै प्रभाव पार्ने हुनाले गम्भीरतापूर्वक लिँदै समयमै निदान र व्यवस्थापन गर्न सके रोग फैलन नपाउने बताए।
कार्यक्रममा क्वारेन्टिन तथा बिषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न प्रयोगशालामा काम गर्ने प्राविधिकहरू, बाली रोगका विद्यार्थीहरू, विश्वविद्यालयका प्राध्यापकहरू, कृषि विभागका प्राविधिक तथा नार्कका अनुसन्धानकर्ताहरू, सीमा क्षेत्रका क्वारेन्टिन प्राविधिकहरू, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्राविधिकहरू, फल विकास केन्द्र कीर्तिपुर, खाद्य तथा कृषि संगठन नार्कका निर्देशकहरू र कार्यालय प्रमुखहरूको सहभागिता थियो।