शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

मालिकामा विपन्नको निःशुल्क स्वास्थ्य बीमा

images
बिहीबार , वैशाख ४ २०८२
images
मालिकामा विपन्नको निःशुल्क स्वास्थ्य बीमा

आर्थिक अवस्था कमजोर गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन पालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो।

images
images

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ। आर्थिक अवस्था कमजोर गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन पालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो।

images
images
images

गरिब तथा विपन्न, दलित र महिला स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सन्तु कार्कीले जानकारी दिए। 'आठसय ५७ विपन्न परिवार पहिचान भएका मध्य हालसम्म चार सय ८७ घरपरिवारले स्वास्थ्य बीमामा आवद्ध भएका छन्,' उनले भने, 'सातवटा वडामा कार्यरत ५४ महिला स्वास्थ्य स्वमसेविकाहरुको पनि स्वास्थ्य बीमा गरिएको छ।'

images
images

स्वास्थ्य बीमामा आवद्ध हुनेहरुको संख्या बढ्ने क्रममा रहेको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए। स्वास्थ्य बीमाका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ३३ लाख रूपैयाँ विनियोजन गरेको छ। बीमा सहजकर्ताहरुले लाभग्राहीको बीमा गराएपछि स्वास्थ्य बीमा कोषलाई भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ।

images
images

घरधुरी सर्वेक्षण गरेर विपन्न लाभग्राहीहरु पहिचान गरिएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। 'आर्थिक अवस्था कमजोर भएका कारण गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर स्वास्थ्य बीमा गर्न थालेका हौँ,' उनले भने, 'यस कार्यक्रमबाट विपन्नको उपचारमा पहुँच बढ्ने र स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेका छौँ।'

पाँचजना सदस्य भएको एउटा परिवारले वार्षिक तीन हजार पाँचसय रूपैयाँ शुल्क तिरेपछि एक वर्षभित्र सूचिकृत स्वास्थ्य संस्थाबाट एक लाख रूपैयाँ बराबरको स्वास्थ्य उपचार तथा औषधी निशूल्क पाउँछन्। मालिका गाउँपालिकाले सञ्चालन गरेको दरवाङ आधारभूत अस्पताल स्वास्थ्य बीमा कार्यक्रममा सूचिकृत प्राथमिक स्वास्थ्य संस्था हो। म्याग्दीमा प्रादेशिक बेनी अस्पताल पनि स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत छ। 

पाँच जनाभन्दा बढी सदस्य रहेका साधरण परिवारको हकमा प्रति सदस्य थप सातसय रूपैयाँ योगदान रकम बुझाउनु पर्नेछ र सेवामा थप प्रति सदस्य थप २० हजार रूपैयाँका दरले थप्दै प्रति वर्ष अधिकतम दुई लाख रूपैयाँसम्मको सेवा पाउनेछ। 

एक्स-रे, ईसीजी, अल्ट्रासाउण्ड, एमआरआई, सिटी स्क्यान, रगतको परिक्षण, साना-ठूला शल्यक्रियाहरु र तोकेको मूल्यमा चश्मा, श्रवणयन्त्र, सेता छडी, वैशाखी लगायतका सेवाहरु बीमा कार्यक्रमबाट पाइन्छ। त्यस्तै, स्वास्थ्य बीमा बोर्डले तोकेको सूचिकृत औषधि निःशुल्क प्राप्त गर्न सक्नेछन्। रासस


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२१५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend