ओखलढुंगा- कोशी प्रदेशका उद्यमी किसानले कृषि कर्जामा ब्याज अनुदान पाउने भएका छन्। उत्पादनमूलक उद्यम गर्ने व्यावसायिक किसानलाई प्रदेशको उद्योग तथा कृषि मन्त्रालयले कर्जामा ब्याज अनुदान दिने जनाएको हो।
प्रदेश सरकारले वर्षिक नीति तथा कार्यक्रम र बजेटअनुसार अनुदान परिचालन गर्न जिल्ला जिल्लामा सरोकार भएकाहरुसँग छलफल गरिरहेको छ।
बुधबार ओखलढुंगामा कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको संयुक्त आयोजना र प्रदेश सरकारको समन्वयमा आयोजित कार्यक्रममा उद्यमी कृषक, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु, गाउँपालिकाका उपप्रमुख, सबै स्थानीय तहका कृषि शाखाका प्रमुखहरुसँग कृषि कर्जामा सरकारले दिने ब्याज अनुदानको मापदण्ड र पुर्याउनुपर्ने प्रक्रियाका विषयमा जानकारी दिइएको थियो।
कृषि क्षेत्रमा व्यावसायिक रुपमा उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण तथा कृषिउपजको मूल्य अभिवृद्धिका लागि बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत कृषि कर्जा परिचालन गरी कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराइ कृषि व्यवसाय प्रवर्द्धन गर्न प्रदेश सरकारले उद्यमी किसानलाई कृषि कर्जामा ब्याज अनुदान दिने कार्यविधि पनि सार्वजनिक गरिएको छ।
अनुदानको अवधारण, कर्जा पाउन सक्ने किसानको छनोट, कर्जा प्रवाहमा पालना गर्नुपर्ने नियम, कृषि कर्जा स्वीकृति प्रक्रिया, कर्जाको सीमा, अवधि र शर्त, ब्याज अनुदान दर, अनुदान भुक्तानी प्रक्रियालगायत विषयमा सरोकार भएकालाई मन्त्रालयका कृषि परामर्शदाता नवीन अधिकारीले जानकारी दिएका थिए।
जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले देशको समृद्धिको आधार कृषि नै भएकाले कृषि क्षेत्र र किसानको उत्थानका लागि संघ, प्रदेश, स्थानीय तहको सक्रियता आवश्यक भएको बताए।
सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले किसानमैत्री यो कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकार क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। रासस