आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’

images
बुधबार, चैत २७ २०८१
images
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’

प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको मुस्ताङको कागबेनीमा अवस्थित यो दरबारका बारेमा अधिकांश पर्यटक बेखबर छन्। ऐतिहासिकता झल्किने कागबेनी दरबारलाई उचित संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ।

images
images

मुस्ताङ- जिल्लाको बारागुङ मुक्तिक्षेत्र-४ कागबेनी गाउँभित्र भग्नावशेष अवस्थामा बाह्र सय वर्ष पुरानो ऐतिहासिक दरबार छ। पूरै सख्खर माटोले निर्माण भएको सात तलाको यो दरबार अहिले चार तलामा परिणत भएको छ।

images
images
images

मुस्ताङको कागबेनीस्थित यस दरबारमा बसेर त्यसबेलाका राजाले शासन चलाउने गर्दथे। तत्कालीन समयमा दरबारमा बसेर जुम्लाबाट आएका राजाले राजकाज गरेको इतिहास रहेको स्थानीयवासी बताउँछन्। यस दरबार र यहाँ बसेर शासन गर्ने राजाको पर्याप्त सूचना भने अझै अनुसन्धानका क्रममा रहेको कागबेनीका स्थानीयको भनाइ छ।

images
images

कागबेनी गाउँको गुजमुच्च एकापसमा ढुंगा र माटोले निर्मित पुराना घरको बीचमा ऐतिहासिक कागबेनी दरबार अवस्थित छ। यही दरबारमा बसेर त्यस समय जुम्लाबाट आएका राजाले लोमान्थाङका राजालाई चुनौती दिने गरेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले उल्लेख गरे। मुस्ताङी राजाबाट पराजित भएपछि त्यसबेलाका राजाले दरबार छोेडेको भन्ने भनाइ रहेको उनले सुनाए।

images
images

पूर्वअध्यक्ष गुरुङका अनुसार जुम्लाबाट आएर शासन चलाएका त्यसबेलाका राजाले मुस्ताङको पान्डाखोलाबाट उपल्लो मुस्ताङको घिलिङसम्म शासन गरेका इतिहास छन्। त्यसबेलाका राजाले कागबेनीसहित फल्याक, धाकार्जुङ, पाक्लिङ, तिरी, पुराङ, झोङ, मुक्तिनाथ, छुसाङ, तेताङ, चैले, समर र घिलिङ गाउँसम्म आधिपत्य जमाएर शासन गरेका अभिलेखहरू रहेका उनले उल्लेख गरे।

'तत्कालीन राजाले कागबेनी दरबारमा बसेर प्रजाहरूसँग अत्याचार र दमन गर्दथे। हालको बारागुङ मुक्तिक्षेत्रलाई (ङ्ज्याप बारागुङ) भन्ने गरिन्थ्यो र राजाले प्रजालाई खाना दिएर काममा लगाउँथे। राजाको आदेश पालना नगरेमा राजाले जनतालाई शारीरिक यातना दिएर सजाय पनि दिने गर्दथे भन्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ', पूर्वअध्यक्ष गुरुङले भने।

उनले कागबेनीमा जुम्लाबाट आएका कुन राजाले शासन गरेका थिए भन्ने अहिलेसम्म खुल्न नसकेको बताए। 'हामीले यसको अभिलेख खोज्दैछौँ, धेरै विषयबा बारेमा स्रोत संकलनको क्रममा छ', पूर्वअध्यक्ष गुरुङले भने, 'यो ऐतिहासिक दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गर्ने उद्देश्य छ। तर, गाउँपालिका र स्थानीयवासीबाट यसमा पर्याप्त सहयोग हुन सकिरहेको छैन।'

करिब बाह्रसय वर्षअघि कागबेनी गाउँमा दूधको कुण्ड थियो। त्यही दूधकुण्ड मासेर त्यसबेलाका राजाले यहाँ एक सय आठ कोठा भएको साततले दरबार निर्माण गरेका कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले उल्लेख गरे। पूरै सख्खर माटोले निर्माण भएको उक्त दरबार हावाहुरी र घामपानीले जीर्ण बन्दै जाँदा ढलेर चार तला मात्रै बाँकी रहेको उनको भनाइ छ। 

तत्कालीन समयमा निर्मित दरबारको जग करिब दुई मिटर बढी रहेको अध्यक्ष गुरुङले जानकारी दिए। राजाको दरबार बनाउँदा जगलाई याकले थिचेर निर्माण गरिएको भन्ने कथनहरू रहेका उनले बताए।

बारागुङ मुक्तिक्षेत्रमा महत्त्वपूर्ण सांस्कृतिक पर्व यार्तुङमा गीत गाउँदा यही दरबार हुँदा सुरु भएको भातिन गीत अझै प्रचलनमा रहेको अध्यक्ष गुरुङले बताए। मुस्ताङमा यो गीत कागबेनीका स्थानीयले मात्रै यार्तुङ पर्वमा गाउने गरेका भन्दै त्यसबाहेक अन्य गाउँमा भने प्रचलनमा नरहेको उनले जानकारी दिए। 'यार्तुङ पर्वमा कागबेनीका स्थानीयले गाउने यो गीतमा कागबेनी दरबारलाई सम्मान गरेर दरबार निर्माणका विषयवस्तु समेटिएका हुन्छन्', उनले भने। 

कागबेनी भग्नावशेष दरबारभित्र माटोबाट बनाइएका गुरु रिन्पोर्छे र अन्य देवीदेवताका मूर्तिहरूसँगै भत्किएका दरबारको झ्याल ढोकाहरू दरबारभित्रै अझै सुरक्षित राखिएका छन्। दरबारको बाँकी तलामा स्थानीय कामदार बस्ने गरेका छन् भने भित्र पशुचौपायाको खोरजस्तो बनेको छ।

प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको मुस्ताङको कागबेनीमा अवस्थित यो दरबारका बारेमा अधिकांश पर्यटक बेखबर छन्। ऐतिहासिकता झल्किने कागबेनी दरबारलाई उचित संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ। साततले राजाको पुरानो दरबारमाथिको तीन तलाको केही भाग ठिङ्ग उभिएको छ। बाँकी चार तला पनि जीर्ण अवस्थामा छ।

कागबेनी दरबार अहिले संरक्षणको पर्खाइमा छ। पुरानो दरबारलाई खोज तथा अनुसन्धान गरेर संरक्षण गर्नसकेमा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीय बताउँछन्। रासस


प्रकाशित : बुधबार, चैत २७ २०८११५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend