काठमाडौं- पछिल्लो समय जलविद्युत कम्पनीहरू हकप्रदमार्फत पुँजी जुटाउने र नयाँ हाइड्रोपावर निर्माणमा केन्द्रित भएपनि अनुमतिको ढिलाइका कारण मारमा परेका छन्।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ९१ हाइड्रोपावर कम्पनी सूचीकृत छन्। जसमा ३१ वटा कम्पनी हकप्रद जारी गर्ने तयारीमा छन्। तीमध्ये धितोपत्र बोर्डमा एक दर्जन कम्पनीले आवेदनसमेत दिएका छन्। तर अनुमति भने पाउन सकेका छैनन्। जसका कारण पुँजी जुटाएर थप लगानी गर्ने प्रमोटरहरुको योजनामा धक्का लागेको छ।
आवेदन दिनेमा बाराही हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, बुद्धभूमी नेपाल हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, वरुण हाइड्रोपावर, राप्ती हाइड्रो, खानीखोला हाइड्रोपावर, तेर्हथुम पावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावर रहेका छन्। बाँकी अन्य कम्पनी भने साधारणसभाबाट पारित गरेर धितोपत्रमा निवेदन दिने तयारीमा रहेका छन्।
चालु आर्थिक वर्षमा चार कम्पनीले मात्रै हकप्रदको अनुमति पाए। ती कम्पनीहरुले आवेदन खुलाएर लगानीकर्तालाई हकप्रदसमेत दिइसके छन्। लिबर्टी इनर्जी कम्पनी, बलेफी हाइड्रोपावर, ङादी गु्रप पावर र दोर्दी खोला जलविद्युत कम्पनीले मात्रै अनुमति पाए।
लिबर्टीले ७५ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको थियो। बलेफी हाइड्रोपावरले १ अर्ब ८२ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको थियो।
ङादी ग्रुप पावर लिमिटेडले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँ ५० पैसाको हकप्रद सेयर निष्कासन गरेको थियो। दोर्दी खोला जलविद्युत आयोजनाले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ।
गत आर्थिक वर्षमा ६ कम्पनीले कुल ७ करोड ३८ लाख २४ हजार १३२ कित्ता हकप्रदको अनुमति पाएका थिए। ७ अर्ब ३८ करोड २४ लाख रुपैयाँ ती ६ कम्पनीले नयाँ जलविद्युतमा लगानी गरिसकेका छन्। यसले भविष्यमा लगानीकर्तालाई धेरै लाभांश दिन सक्ने क्षमता बढ्ने अनुमान रहेको छ।
अहिले सेबोनको पाइपलाइनमा रहेका मध्ये बाराही, शिवश्री, बुद्धभूमि नेपाल, छ्याङदी, बरुण, राप्ती हाइड्रो, खानीखोला, तेह्रथुम पावर र रिभर फल्स पावरले १०० प्रतिशत हकप्रदको अनुमति माग्दै आवेदन दिएका छन्। जोशी हाइड्रोपावरले चुक्ता पुँजीको ६५ प्रतिशत, पिपल्स पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति माग गरेका छन्।
