शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

झापामा २० हजार हेक्टरमा चैते धानखेती

आइतबार, चैत १७ २०८१
झापामा २० हजार हेक्टरमा चैते धानखेती
फाइल तस्बिर

स्थानीय पालिकाहरुको सहयोगमा किसान समूहको छनोट गरी केन्द्रले विगतदेखि नै हर्दिनाथ-१ धान लगाउन प्रोत्साहन गर्दै आएको छ।

झापा- जिल्लामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको जनाएको छ।

परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेसिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गरेको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए।

उनले यस वर्ष १२० हेक्टर जमिनमा आधुनिक कृषि यान्त्रिकीकरणको प्रयोग गरेर चैत धान रोपाइँ भएको बताए। उनका अनुसार विगतमा ज्ञान केन्द्रले नमूना परीक्षणका लागि गरिएका सबै कृषि समूह र सहकारीले यस वर्ष पनि निरन्तर कृषि यान्त्रिकीकरणकै प्रयोग गरेर चैते धानखेती गरेका छन्।

स्थानीय पालिकाहरुको सहयोगमा किसान समूहको छनोट गरी केन्द्रले विगतदेखि नै हर्दिनाथ-१ धान लगाउन प्रोत्साहन गर्दै आएको छ। उनले भने, 'अन्य धानको तुलनामा राम्रो उत्पादन हुने हुँदा यही धानको बीउ रोप्न सिफारिस गर्ने गरेका छौँ।' यो धानको बीउ राखेको दिनदेखि १२० दिनमा पाक्ने उनको भनाइ छ।

यस वर्ष गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिकामा कृषक समूहअन्तर्गत कृषियन्त्र प्रयोग प्रदर्शन गरिएको छ।

छनोटमा परेका कृषि समूहलाई केन्द्रले धानको बीउ, बीउ राख्ने ट्रे र प्राविधिकलगायतमा सहयोग गरेको जनाएको छ। रासस


प्रकाशित : आइतबार, चैत १७ २०८११२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend