डुम्रे- तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा आठ अर्ब ३१ करोड ९१ लाख रूपैयाँ राजस्व असुली गरेको छ। यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो।
कार्यालयलाई आठ अर्ब ४० करोड १७ लाख रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। कार्यालयले चालु आवमा १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार रूपैयाँ असुली गर्ने लक्ष्य लिएको छ।
तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन्। यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी-व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन्।
पम्पसहितको पानी ट्यांकी निर्माण
डिभिजन वन कार्यालयले आगलागीका बेला प्रयोग गर्न तीन लाख ८५ हजार रूपैयाँ लागतमा चार हजार दुईसय लिटर क्षमताको पम्पसहितको पानीट्यांकी निर्माण गरेको छ।
सुक्खायाममा आगलागीका घटना हुने भएकाले पूर्वतयारीस्वरुप पानी ट्यांकीको व्यवस्था गरिएको वन अधिकृत शरद्कुमार अधिकारीले बताए। रासस