काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यलयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ।
यस त्रैमासमा यातायात, निर्माण, कृषि, विद्युत उत्पादन तथा वितरण र वित्तीय मध्यस्तालगायतका क्षेत्रहरुमा सकारात्मक वृद्धि देखिएकाले उक्त आर्थिक वृद्धिदर हासिले हुने कार्यकालयले अनुमान गरेको हो।
विभिन्न १८ क्षेत्रमध्ये २ क्षेत्र बाहेक अन्य क्षेत्रमा सामान्य वृद्धि देखिएको कार्यालयले जनाएको छ। पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमास अर्थात मौमसी प्रभावअनुसार दोस्रो त्रैमासमा २.२ प्रतिशतको मात्रै आर्थिक वृद्धि भएको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस आर्थिक वर्षको सोही कृषि क्षेत्र ३.२ प्रतिशत, खानी ९.५ प्रतिशत, उत्पादन क्षेत्र ७.४ प्रतिशत, विद्युत तथा ग्यास ९.२ प्रतिशत, निर्माण ९.१ प्रतिशत, होलसेल तथा रेटल ६.१ प्रतिशतले बढेको छ।
यस्तै यातायात १४.२ प्रतिशत, आवास तथा खाद्य सेवा १.८ प्रतिशत, सूचना प्रविधि ४.९ प्रतिशत, वित्त तथा बीमा ६.६ प्रतिशत, रियल स्टेट ३ प्रतिशत, प्रशासनिक ३.५ प्रतिशत, सार्वजनिक सेवा २.२ प्रतिशतको मुल्य अभिवृद्धि देखिएको छ।
गत वर्षको दोस्रो त्रैमासको तुलनामा शिक्षा क्षेत्र भने ०.५ प्रतिशतले मात्रै बढेको छ। मावन स्वास्थ्य तथा सामाजिक क्षेत्र ३.१ प्रतिशत वृद्धि देखिदा अन्य क्षेत्र भने दोस्रो त्रैमासमा ०.७ प्रतिशतले मात्रै बढेको छ।
चालु आर्थिक वर्ष सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। गत आर्थिक वर्ष सरकारले ३.१ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ प्रतिशतले अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन बढेको अनुमान छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५.३ प्रतिशतको आर्थिक वृद्धिदर भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यकालयको तथ्यांकले यस वर्षको पहिलो त्रैमासमा गत वर्षको तुलनामा अर्थतन्त्र बढी चलायमान भएको र दोस्रो त्रैमासमा पहिलो त्रैमासको तुलनामा थप चलायमान हुँदै गएको देखाउँछ। यद्यपी गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा भने आर्थिक वृद्धिदर ०.०२ प्रतिशत बिन्दुले कम देखिएको छ।