काठमाडौं- नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको समय नजिक हुँदै जाँदा महात्वाकांक्षीहरूको दौडधुप बढेको छ। महत्वाकांक्षीहरूको दौडधुप बढिरहँदा सत्तारुढ दुई दलमा कसले गभर्नर पाउने भन्ने निश्चित नभएपनि दुबै दलका कित्तामा रहेकाहरूले आफ्नो लविङ तीव्र बनाएका छन्।
एमाले र कांग्रेसमा कसले गभर्नर पाउने भन्ने अहिलेसम्म निश्चित नभएपनि दाबेदारहरूले नेताहरूको घरदैलोलाई तीव्र बनाएका छन्।
वाणिज्य बैंकका बहालवाला प्रमुख कार्यकारी, बहालवाला सचिव, अवकाशमा गएका सचिवदेखि मुख्यसचिव, राष्ट्र बैंककै पूर्वकर्माचारीसम्मले गभर्नरमा दाबी गर्दै आफ्नो कित्ताका दलका नेताहरूसँग लविङ तीब्र बनाएका छन्।
नेपाल प्रहरीमा उच्च अधिकृतको बढुवा र प्रमुखको छनोट गर्ने समय पनि नजिक आइरहेकाले दुई दलको भागबन्डा त्यहाँ चलिरहेको छ। यसको काम नसकिएसम्म गभर्नरको टुंगो नलाग्ने नेताहरूले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचमा अहिले नै गभर्नरको अन्तिम टुंगो लागिसकेको छैन। टुंगो नलाग्दै कांग्रेस-एमालेनिकटहरूले दाबेदारी तीव्र बनाएका छन्।
गभर्नर नियुक्तिको समय अझै धेरै भएकाले अहिले हतार नरहेको नेताहरूले बताउने गरेका छन्। सिफारिस समितिले 'ट्यालेन्ट हन्ट'को अवधारणामा सक्षम व्यक्ति सिफारिस गर्नुपर्ने भएपनि नेताहरूको चिर्कटोको आधारमा नै सिफारिस गर्ने भएकाले अन्तिम समयमा निर्णय लिएपनि केही फरक नपर्ने अर्थ मन्त्रालयकै अधिकारीहरू बताउँछन्।
एमालेभन्दा कांग्रेसनिकट दाबेदारहरूले लविङलाई तीव्र बनाएका छन्। कांग्रेस सभापति देउवासँग पहुँच नहुनेहरूले अरु नेताहरू भेटेर आफ्नो माहोल बनाइदिन आग्रह गरिरहेका छन्। देउवासम्म पहुँच हुनेहरू भने निवासमै पुग्ने गरेका छन्।
कांग्रेस सभापति देउवासँग पुरानो चिनजान र देउवाको सद्भाव नेपाल राष्ट्र बैंकका सञ्चालक रविन्द्र पाण्डेलाई भएको बताइन्छ। पाण्डेका बारेमा देउवा नै सकारात्मक भएको कुरा थाहा पाएपछि अरु दाबेदारहरूले पाण्डेलाई बनाउन नहुने भन्दै विभिन्न नेताहरूकोमा धाउन थालेका छन्। विशेषगरी पाण्डेको उमेर धेरै भएकाले बनाउन नहुने भन्दै नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना कांग्रेसका सांसददेखि मन्त्री र देउवानिकट कतिपय नेताहरूसम्म पुगिरहेका छन्।
कांग्रेसले गभर्नर पाउने आँकलनमा रहेका अरू केही व्यक्ति पनि दौडधुपमा रहेका छन्। दाबी गर्नेमा बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि चर्चा रहेको छ। पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री पनि यही लाइनमा रहेर दौडधुपमा रहेका छन्।
राष्ट्र बैंकमै कार्यकारी निर्देशक रहेका गुणाकर भट्टलाई पनि गभर्नरका रुपमा कतिपयले प्रोजेक्सन गरेका छन्। तर पनि उनी आफै भने यसमा त्यति धेरै सक्रिय भएर लागेका छैनन्। राष्ट्र बैंकमा राम्रो नेतृत्व चाहिन्छ भन्नेहरूले उनलाई प्रोजेक्सन गरेपनि उनी आफै दौडधुपमा नलागेको बताउँदै आएका छन्।
एमालेको कित्तामा भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग चिनजान र पहुँच नभएकाले नियुक्ति पाउने सम्भावना नभएको र अरुको सिफारिस पनि नचल्ने भएकाले बाहिर त्यति धेरै हल्ला हुने गरेको छैन। यद्यपि एमालेको कित्तामा रहेर लविङ गर्नेहरूले अलि ढिला गरेरमात्र भेटघाट बढाएका छन्।
सुरूमा कांग्रेसले गभर्नर पाउने निश्चित भएको हल्ला बाहिरिएपछि उनीहरूले आश मारेका थिए। तर पछिल्लो समय निश्चित नभएको भन्ने कुरा थाहा पाएपछि उनीहरू पनि अघि बढेका छन्।
सिफारिस गर्दा राष्ट्र बैंकका एकजना डेपुटी गभर्नर पनि गर्नैपर्ने कानूनी व्यवस्था रहेकाले बमबहादुर मिश्र र निलम ढुंगानामा एकजना सिफारिसमा पर्ने निश्चित हुन्छ। ओलीसँगको क्षेत्रीय निकटको नातासमेम भएकाले निलम ढुंगाना यसमा सिफारिसमा पर्नेमात्र होइन नियुक्तिको दौडधुपमै रहेकी छिन्।
त्यस्तै अहिले राष्ट्रिय योजना आयोगका सदस्य रहेका प्रकाश श्रेष्ठ पनि यो दौडमा छन्। त्यस्तै निवर्तमान अर्थसचिव रामप्रसाद घिमिरे, राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त देवकुमार ढकाल पनि दौडधुपमा रहेका छन्।
राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठले पनि आफ्नो दाबेदारी अघि बढाएका छन्। कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङ, प्रभु बैंकका सीईओ अशोक शेरचन र राष्ट्रिय वाणिज्य बैंकका पूर्वकार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पनि भेटघाट तीव्र बनाएका छन्।