इटहरी- सुनसरीका तीन स्थानीय तहले सडकबत्तीको पाँच करोड ९१ लाख ६० हजार रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ।
इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराक्षेत्र नगरपालिकाले सडकबत्तीको बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिए।
बक्यौता तिर्न पटक-पटक सूचना जारी गरे पनि हालसम्म नतिरेको उनले बताए। इटहरी उपमहानगरपालिकाले तीन करोड ७७ लाख ४० हजार रूपैयाँ, बराहक्षेत्र नगरपालिकाले एक करोड ३५ लाख २५ हजार रूपैयाँ र रामधुनी नगरपालिकाले ७८ लाख ९४ हजार रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ।
प्रमुख साहले भने, 'बक्यौता रकम तिर्न पालिकालाई पत्र पठाउँदै आएका छौँ।'
इटहरी वितरण केन्द्रका सूचना अधिकारी सुरज गोसाईँका अनुसार प्रत्येक महिना सडकबत्तीको बिल पालिकालाई पठाउने गरिएको छ।
प्राधिकरणले बक्यौता नतिर्नेको विद्युतको लाइन काट्दै आएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा साउन महिनायता १२ हजार ८२ जनाको लाइन काटिएको सूचना अधिकारी गोसाईँले जानकारी दिए। रासस