बुधबार, वैशाख ३ गते २०८२    
बुधबार, वैशाख ३ २०८२
images
images

बाङखोलामा पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २५ २०८१
images
बाङखोलामा पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज

धवलागिरि-३ का वडाध्यक्ष देवेन्द्र रोकाका अनुसार उपभोक्ता समितिमार्फत कल्भर्ट पुल निर्माण भएपछि तीनवटा वडाका बासिन्दाका साथै, ढोरपाटन गुरिल्ला र डोल्पा पदमार्ग भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ।

images
images

म्याग्दी- धवलागिरि गाउँपालिका-३ मुनाको बाङखोलामा पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ।

images
images
images

धवलागिरि गाउँपालिकाले १२ लाख रुपैयाँ बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो।

images
images

गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हुँदै लुलाङ-गुर्जा, ढोरपाटन जाने पदमार्गमा आवतजावतमा समस्या भएको थियो।

images
images

धवलागिरि-३ का वडाध्यक्ष देवेन्द्र रोकाका अनुसार उपभोक्ता समितिमार्फत कल्भर्ट पुल निर्माण भएपछि तीनवटा वडाका बासिन्दाका साथै, ढोरपाटन गुरिल्ला र डोल्पा पदमार्ग भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ। 

छोटो घाट भएको ठाउँमा छिटो बनाउनुपर्ने भएकाले खोलाको दायाँबायाँ मेसिनरी पर्खाल उठाएर फलाम जोडेर कल्भर्ट प्रविधिको पुल निर्माण गरिएको हो। पुल बनेपछि बर्खायाममा बाङखोलाको उर्लँदो भेलमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ।

यसैगरी बाङखोलाको बाढीले बगाएको मुनाको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पुनर्निर्माण गरिएको छ। गाउँपालिकाले विनियोजन गरेको आठ लाख बजेटबाट बाङखोला माथि फलामको पुल बनाएर पोलिथिन पाइप राखेर पानी तार्ने व्यवस्था मिलाएको वडाध्यक्ष रोकाले बताए। पचास किलोवाट क्षमताको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाबाट पाँच सय ८० घरपरिवार लाभान्वित भएका छन्।

दरगाउँ सडक सञ्जालमा जोडियो 

यसैगरी धवलागिरि गाउँपालिका-३ को दरगाउँ सडक सञ्जालमा जोडिएको छ। धवलागिरि गाउँपालिकाको सहयोगमा दरका बासिन्दाले उपभोक्ता समितिमार्फत गाउँ जोड्ने सडक निर्माण गरेका हुन्।

गाउँपालिकाको रु २७ लाख अनुदानमा मुुना-मुदी सडकदेखि दर जोड्ने एक किलोमिटर पाँच सय मिटर सडक निर्माण भएको धवलागिरि गाउँपालिका-३ का प्राविधिक दीपेन्द्र थापाले बताए।

सडक निर्माण भएपछि दरगाउँका एक सय घरपरिवार लाभान्वित भएका छन्। आवतजावत, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुजन्य वस्तु निकासीमा सहज भएको छ।

दर जोड्ने सडक निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा पाँच लाख, २०८०/८१ मा १३ लाख र चालु आव २०८१/८२ मा १० लाख रुपैयाँ विनियोजन गरेको थियो। रासस


प्रकाशित : आइतबार, फागुन २५ २०८११०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend