शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

बुढेसकालको नागरिकताले दिलायो खुसी

images
बुधबार, फागुन २१ २०८१
images
images
बुढेसकालको नागरिकताले दिलायो खुसी

बुढेसकालमा शारीरिक दुर्बलताले गर्दा हिँडडुल गर्न मुस्किल हुन्छ। आयस्रोत नभएको अवस्थामा उनीहरुको जीविका कष्टकर हुन्छ। त्यस्तो बेला नागरिकता हुनेहरुले राज्यबाट सामाजिक सुरक्षा भत्ता र बीमाको उपचार पाउने गरेका छन्। तर, नागरिकता नभएकाहरु यो लाभबाट वञ्चित छन्।

images
images

झापा- ७५ वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका-२ की नीरकुमारी राईको हर्षको सीमा रहेन। नागरिकता पाउनुलाई उनले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताइन्।

images
images

'नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन', हालै पाएको नागरिकता देखाउँदै उनले भनिन्, 'बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त र नातागोता गुहारेँ। नागरिकताले भात खान दिने होइन क्यारे, बुढेसकालमा किन चाहियो भन्दै सबै तर्किए। वडाध्यक्षले बल्ल अहिले बनाइदिनुभयो।'

images
images

नीरकुमारीका पति सन्तमान राईको पाँच वर्षअघि निधन भइसकेको छ। चार कट्ठा पाखोबारीमा खनीखोस्री नातिनातिना हुर्काउँदै आएकी उनका तीन छोराको पेट पालनका लागि रोजगारी गर्न भारतको बैंगलोर गएका छन्।

images
images

नीरकुमारीका पति सन्तमानको नागरिकता थियो। छोराहरुको पनि नागरिकता छ। तर, पतिकै बेवास्ताका कारण आफूले यतिका वर्षसम्म नागरिकता नपाएको उनको गुनासो छ। घर नजिकैको भृकुटी र बाहुनडाँगी बजारमा नागरिकता बनाउने टोली पटकपटक आउँदा समेत उनको नागरिकता बनाउने पहलै भएन।

नागरिकता बनेपछि हर्षित नीरकुमारीले पहिलोपटक सामाजिक सुरक्षा भत्ता पाएकी छिन्। जग्गाको स्वामित्व पतिबाट आफ्नो नाममा सार्ने उनको इच्छा छ। तीन छोरामध्ये जेठो राजकुमार घर छुट्टिएर बस्दै आएको उनले बताइन्। माइलो विजय राई र कान्छो पविराम राई रोजगारीका लागि बैंगलोर गएका छन्। जेठी बुहारीको मृत्यु भइसकेको, माइली बुहारीले घर छाडेर हिँडेको र कान्छो छोरा अविवाहित भएको जनाउँदै उनले नातिनातिना पढाएर माइलो छोराको घरमा बस्दै आएको बताइन्।

वडा कार्यालयले अपांगता भएर बोल्न नसक्ने, सुन्न नसक्ने, आँखा नदेख्ने र एकल जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरुको नागरिकता बनाइदिने अभियान चलाएको छ। सोही क्रममा नीरकुमारी राईको आफूले सनाखत गरेर नागरिकता दिलाएको वडाध्यक्ष दीपक बरालले बताए।

'जसको कोही छैनन्, उसका लागि वडा कार्यालय छ', वडाध्यक्ष बराल नागरिकता अभियानबारे भन्छन्, 'सनाखत गर्ने मान्छे ल्याउनुपर्‍यो भनेर सीडीओहरु नागरिकता दिन आनाकानी गर्नुहुन्छ। गलत व्यक्तिलाई सिफारिस गरेको रहेछु भने मलाई लगेर थुनिदिए हुन्छ भन्दै मैले नै उहाँहरुको सनाखत गरिदिने गरेको छु।'

सनाखत गरिदिने नातेदारको निधन भइसकेको र सम्पर्कमा नरहेको अवस्थामा कोही पनि वडावासी ज्येष्ठ नागरिकहरुले आफ्नै थातथलोमा अनागरिकको पीडा भोग्नु नपरोस् भनेर वडाले सिफारिस र वडाध्यक्षको तर्फबाट सनाखत गरिदिएको बराल बताउँछन्। सुस्तश्रवण, दृष्टिविहीन र आफन्त गुमाइसकेका दशजना ज्येष्ठ नागरिकको चालु आर्थिक वर्षमै सिफारिस दिएर नागरिकता दिलाइसकेको उनले जानकारी दिए।

त्यस्ता व्यक्तिहरुको नागरिकता बनाउने क्रममा वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउने खर्च समेत वडाले बेहोर्ने गरेको छ। आर्थिकरुपमा विपन्न परिवारकै ज्येष्ठ बुबाआमाहरु नागरिकता बनाउनबाट वञ्चित रहेको आफूले पाएको उनले बताए। त्यहीकारण उनीहरुको नागरिकता बनाउँदा लाग्ने खर्च वडा कार्यालयको तर्फबाटै बेहोरिएको उनको भनाइ छ।

आफन्त गुमाइसकेका सोही वडाका केशरबहादुर राईले ८६ वर्षको उमेरमा हालै नागरिकता पाए। वडाध्यक्ष बराल आफैले सिफारिस र सनाखत गरेर उनको पनि नागरिकता बनेको हो। विसं २०१८ मा पहाडबाट तराई झरेका केशरबहादुर मेचीनगरको बाहुनडाँगी आउँदा २२ वर्षको लक्का जवान थिए। उमेर पुगे पनि उसबेला नागरिकता बनाउने चलन थिएन।

बिहे गरेर पत्नीसहित उनी रोजगारीको खोजीमा बाहुनडाँगीबाट भौतारिँदै भारतको आसाम पुगे। विसं २०२४ मा आसामबाट थाकथलो बाहुनडाँगीमै फर्किए। 'उमेर छउञ्जेल गरिखान बलियो पाखुराले पुगिहाल्यो, सन्तान नभएपछि नागरिकता बनाउनेतिर लागिएन', उनले भने।

पत्नीको मृत्युपछि एक्लो जीवन बिताइरहेका उनीसँग बुढेसकालमा न सन्तानको सहारा थियो, न त नागरिकता नै आधार। आसामबाट फर्केर आएपछि पत्नीको मृत्यु बाहुनडाँगीमै भएको उनले बताए। अर्काको घरखेतमा ज्यालादारी काम गरेर जीवन बिताउँदै आएका उनको आफ्नो जग्गा छैन। रात काट्नका लागि चौबाटोको कुनोमा सानो झुपडी बनाएर उनी बस्दै आएका छन्। ज्येष्ठ नागरिकको सम्मान र पहिचानका खातिर आफूले केशरबहादुरको नागरिकता बनाउने पहल गरेको वडाध्यक्ष बरालले बताए।

नागरिकता पाएपछि उनको जीवनमा खुसीको उमंग छाएको छ। आफ्नो झुपडीमा बलियो झ्यालढोका नभएको कारण नागरिकता नहराओस् भनेर उनले छिमेकीको घरमा जतनका साथ राख्न दिने गरेको बताए। 'मर्ने बेलामा नागरिकता त साथमा भयो नि', दशमुजा परेको अनुहारमा चमक छर्दै केशरबहादुर भन्छन्, 'गाउँका अरुले त चाहिँदैन तिमीलाई नागरिकता भनेर टिप्पा खेलाउँथे। वडाध्यक्ष बराल बाबुले चाहिँ हिँड्नुहोस् म बनाइदिन्छु भनेर घरमै लिन आउनुभयो।'

बुढेसकालमा ज्यालादारी काम गर्न नसकेर कयौ रात भोकै सुतेका केशरबहादुरले वृद्ध भत्ता थाप्न थालेपछि खान र लाउन चिन्ता गर्नुपरेको छैन। वडाका जनप्रतिनिधिले अशक्त ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता घरघरै पुर्‍याइदिने गरेका छन्।

गाउँबस्ती पुग्ने क्रममा अर्काको घरमा आश्रय लिएर बसेका बोल्न नसक्ने र कान नसुन्ने थुप्रै बुढाबुढीहरुको बिजोग देखेको र उनीहरुसँग नागरिकता समेत नरहेको थाहा पाएपछि नागरिकता प्रमाणपत्र बनाइदिने सोच उब्जिएको वडाध्यक्ष बराल बताउँछन्।

आफन्तले हेरचाह नगरिदिँदा दुःख बीमार भएका बेला चन्दा उठाएर अस्पताल पुर्‍याउनुपर्ने अवस्थाका उनीहरुले नागरिकता पाएपछि सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य बीमामार्फत उपचार सुविधा नियमित रुपमा पाइरहेको वडाध्यक्ष बरालले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले व्यक्तिको अवस्था होइन, प्रमाण हेरेर नागरिकता दिइने बताए। प्रमाणले नागरिकता पाउन योग्य वृद्धवृद्धाको नागरिकता बनाउन सकिने उनले बताए।

'नेपालमा वंशज, जन्म, विवाह र गैरआवासीय पहिचानका आधारमा नागरिकता दिइने कानूनी व्यवस्था छ', सहायक प्रजिअ नेपालले भने, 'उमेरले पाका भइसकेका र असहाय व्यक्तिहरुको नागरिकता सिफारिस गरेर वडाध्यक्षहरु प्रशासनमा आउनुहुन्छ। उहाँहरुको प्रमाण र सनाखतका आधारमा नागरिकता दिने गरेका छौँ। शारीरिक अशक्तहरुको हकमा नागरिकता प्रमाणपत्र घरमै पुर्‍याइदिने समेत गरेका छौँ।'

उमेरका आधारमा ज्येष्ठ नागरिकको दर्जामा पुगिसकेका व्यक्तिहरुको नागरिकता प्रमाणपत्र बनाउन वडाध्यक्षहरुले दिएको सिफारिस र सनाखत एउटा आधार भए तापनि वास्तविकता बुझ्न कानूनबमोजिम माग भइआएका प्रमाणहरु र प्रहरीमार्फत आउने प्रतिवेदनलाई मसिनो ढंगले हेर्ने गरिएको सहायक प्रजिअ नेपाल बताउँछन्।

बुढेसकालमा शारीरिक दुर्बलताले गर्दा हिँडडुल गर्न मुस्किल हुन्छ। आयस्रोत नभएको अवस्थामा उनीहरुको जीविका कष्टकर हुन्छ। आफन्तको बेवास्ता र राज्यको उपेक्षा थपिँदा उनीहरुको जीवनयापन सास्तीपूर्ण हुन्छ। त्यस्तो बेला नागरिकता हुनेहरुले राज्यबाट सामाजिक सुरक्षा भत्ता र बीमाको उपचार पाउने गरेका छन्। तर, नागरिकता नभएकाहरु यो लाभबाट वञ्चित छन्।

वर्षौँदेखि बसोबास गर्दै आएका ज्येष्ठ नागरिकहरु सनाखत गरिदिने नातेदारको अभावमा नागरिकता पाउनबाट वञ्चित रहँदै आएकामा मेचीनगर-२ को वडा कार्यालयले सराहनीय कार्य गरेको स्थानीय पूर्वशिक्षक धर्मानन्द निरौला बताउँछन्।

राज्यले नागरिकता पाउन नसकेका वृद्धवृद्धालाई खोजीखोजी नागरिकता दिने राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने र यस कार्यका लागि स्थानीय तहलाई परिचालन गर्नुपर्ने उनको धारणा छ। उनका अनुसार अझै पनि देशभर थुप्रै ज्येष्ठ व्यक्ति नागरिकता नपाइकनै मृत्युवरण गर्न बाध्य छन्।

'बाहुनडाँगीका कुनाकाप्चासम्म आरा काटेर हिँड्ने गर्नुहुन्थ्यो। कहिले अर्काको घरमा ज्यालादारी गर्नुहुन्थ्यो', केशरबहादुरको नागरिकता बनेकोमा खुसी व्यक्त गर्दै पूर्वशिक्षक निरौलाले भने, 'अब त बुढो हुनुभयो, रोगी हुनुभयो। अर्काकोमा काम गर्न जानसक्नु हुन्न। यस्तो बेलामा नागरिकता बनेपछि कमसेकम राज्यको वृद्धभत्ताले बाँच्ने सजिलो आधार त बन्यो नि।' रासस


प्रकाशित : बुधबार, फागुन २१ २०८११३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend