काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी 'ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन' आयोजना गर्ने भएको छ।
बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता सञ्चालन गर्न लागेको हो। यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतीहरुको समाधान खोज्न सहयोग पुग्ने बैंकको भनाइ छ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गर्नुपर्नेछ। उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ।
ग्लोबल आईएमई बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरु प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको छ। डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नवीनतम धारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ।
प्रतियोगितामा सहभागिता हुन इच्छुकहरुले बैंकको वेबसाइटमार्फत दर्ता गर्नुपर्ने छ। यस ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ। जसअन्तर्गत पहिलो चरणमा अनलाइन पेपर प्रस्तुति र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ।
पहिलो चरणको लागि प्रतियोगीहरुले अप्रिल ४, २०२५ सम्ममा अनलाइन पेपर प्रस्तुति गर्नुपर्ने छ। साथै, दोस्रो चरणअन्तर्गत मे १, २०२५ मा अनसाइट ह्याकाथन हुनेछ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो। साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।
मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले आफ्ना ३ सय ५५ शाखा कार्यालय, ३ सय ८५ एटीएम, २ सय ३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।