बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

दुनाटपरीबाट आम्दानी गर्दै बगुवनका महिला

images
आइतबार, फागुन १८ २०८१
images
images
दुनाटपरीबाट आम्दानी गर्दै बगुवनका महिला

चारैतिरबाट नदी र जंगलले घेरिएको बगुवन गाउँमा आर्थिक उपार्जनको दिगो स्रोत नभएपछि स्थानीय महिला सालको पातबाट जीविकोपार्जनको उपाय खोज्न थालेका हुन्।

images
images

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेका छन्। उमेरले ६१ वर्ष पुगेकी धनिसराले घर खर्चमा मद्दत पुगोस् भनेर केही आम्दानी हुने आशमा दुनाटपरी बनाउन सुरु गरेकी हुन्।

images
images

वनमा खेर गएको सालको पातबाट जीविकोपार्जनका लागि दुनाटपरीका लागि लाफा बनाएर बिक्री गर्न थालेको उनले बताइन्। 'आफूले जानेको सीपलाई घरमा नै बसेर दुई/चार रुपैयाँ आम्दानी हुन्छ कि भन्ने आशा हो, वृद्ध उमेर भए पनि घर खर्च चलाउन छोराबुहारीलाई सहयोग हुन्छ कि भन्ने लागेर दुःख गर्न मन लागेको', उनले भनिन्, 'आफ्नो औषधिमुलो गर्न भए पनि खर्च पुग्छ कि भनेर नजिकैको  वनबाट पात ल्याएर दुनाटपरी गाँस्ने गरेको छु।'

images
images

बगुवनकै केसरी सिञ्जाली पनि हिजोआज सालको पातबाट दुनाटपरी गाँस्न थालेकी छिन्। घरको आर्थिक अवस्था कमजोर भएकाले नुनतेलको जोहो गर्न भए पनि दुनाटपरी बनाउन सुरु गरेको केसरीले बताइन्।

images
images

'घरको आर्थिक अवस्था त्यस्तै छ, चार जना छोराछोरी छन् पाल्नै परो, श्रीमानको मात्रै कमाइले कति हुन्छ र? बचेको समयमा काम गरेर केही रकम जोड्न सकिन्छ कि भनेर सुरु गरेको हो', उनले भनिन्।

चारैतिरबाट नदी र जंगलले घेरिएको बगुवन गाउँमा आर्थिक उपार्जनको दिगो स्रोत नभएपछि स्थानीय महिला सालको पातबाट जीविकोपार्जनको उपाय खोज्न थालेका हुन्। ज्याला मजदुरी र कृषि कर्मबाट फुर्सदको समयलाई सदुपयोग गरी महिलाले घरायसी कामकाजसँगै दुनाटपरी बनाउने गरेका छन्। यहाँका महिला फुर्सदको समयमा जंगल गइ सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन्।

वनबाट ल्याएको सालको पातबाट लाफा बनाएर केही दिन घाममा सुकाएपछि बिक्री गर्ने गरिएको छ। एकसय वटा टपरीको एक मुठा हुन्छ। एक मुठाको एकसय ५० रूपैयाँ प्राप्त हुने स्थानीयको भनाइ छ। 

आयआर्जनको अन्य विकल्प नभएपछि टपरी बनाएर भए पनि केही आम्दानीको उपाय खोजिएको दिनुढेगा मगरले बताए। भौगोलिक अवस्थितिका आधारमा विकट मानिएको बस्तीमा सरकारले केही अवसर सृजना गर्नुपर्ने दिनुको सुझाव छ। 'हामीलाई केही सीपसँगै काम दिए हुन्थ्यो भन्ने लाग्छ, नारायणी नदीको डुबान, चितवन राष्ट्रिय निकुञ्जका जनावरको आक्रमण डरले गर्दा हामी सधैँ पीडित भएका छौँ', उनले भने।

वनजंगलमा खेर गएको पातसँगसँगै पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्ने कार्यक्रममा जोडेर स्थानीय महिलालाई रोजगारी प्रदान गरिने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए। विनयी जैविक मल उत्पादन उद्योग सञ्चालन गरिएकाले स्थानीयलाई सहज रोजगारी सृजना हुने अध्यक्ष गिरीको भनाइ छ। रासस


प्रकाशित : आइतबार, फागुन १८ २०८११०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend