सोमबार, फागुन १२ गते २०८१    
सोमबार, फागुन १२ २०८१
images
images

कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १२ २०८१
images
images
कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

पछिल्लो समय बढ्दो प्लास्टिकजन्य फोहरकाकारण वातावरणमा असर भइरहेका बेला खेर जाने केराको थामको प्रयोगबाट हस्तकलाका सामग्री बनाएर प्रयोग गरिँदै छ।

images
images

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ। गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो।

images
images
images

आव २०७९/८० मा प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालनमा आएको हो। एक करोड रुपैयाँ लागत साझेदारी रहेको उक्त परियोजनामार्फत व्यावसायिकता अभिवृद्धिका लागि हस्तकलाका सामग्री बनाउने ४५ दिने तालिम दिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए।

images
images

फाइबरका लागि कच्चापदार्थको रुपमा केराको थाम आवश्यकपर्ने भएकाले किसानलाई निःशुल्क केराका बोट उपलब्ध गराएको उनले बताए। 'फाइबरका लागि केराको थाम आवश्यकपर्छ, यसलाई प्रशोधन गरी डोरी बनाइन्छ' उनले भने, '४५ दिने तालिम लिएकामध्ये हाल दैनिक ज्यालादारीमा सात महिलाले नियमितरुपमा हस्तकलाका सामग्री बनाउँदै आएका छन्।

images
images
images

किसानले लगाएको केराबाट उत्पादन लिइसकेपछि खेर जाने केराको थाम पालिकाले निश्चित शुल्क तिरेर खरिद गरिदिने गरेको उनले बताए। गाउँपालिकाले फाइबरका लागि आवश्यक पर्ने कच्चापदार्थ केराको थाम उत्पादन गर्न पालिकाभित्रका किसानलाई मागका आधारमा बीस हजार केराका बेर्ना निःशुल्क वितरण गरेको थियो। पालिकाले किसानबाट प्रति थाम २५ देखि ४५ रुपैयाँसम्ममा खरिद गर्दै आएको छ।

त्यसै खेर जाने केराको थामलाई प्रशोधन गरी विभिन्न हस्तकलाका सामग्री बनाउँदै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए।

बाहिरबाट आयात हुने अतिथि सत्कारका सामग्रीलाई निरुत्साहित गर्दै स्थानीय कच्चापदार्थको प्रयोग गरी यहीँ बनाइएका हस्तकलाका सामग्रीको प्रयोगमा जोड दिइएको अध्यक्ष थापाले बताए।

'गाउँपालिकामार्फत अहिले खादा, गलैँचा, झोला बनाउँदै आएका छौँ' अध्यक्ष थापाले भने, 'अब गुणस्तरीय र बजारमा माग हुने किसिमका हस्तकलाका सामग्री उत्पादनमा जोड दिन्छौँ।'

पछिल्लो समय बढ्दो प्लास्टिकजन्य फोहरकाकारण वातावरणमा असर भइरहेका बेला खेर जाने केराको थामको प्रयोगबाट हस्तकलाका सामग्री बनाएर प्रयोग गरिने अध्यक्ष थापाले बताए।

गाउँपालिकाले उत्पादन गरेको खाँदा, गलैँचा, मायाको चिनोसहित आगामी दिनमा फाइबरको झोला बनाउने तयारी गरेको छ। यहाँ उत्पादन भएका सामग्री गाउँपालिका आँफैले प्रयोग गर्ने र अन्यत्र पनि पठाउँदै आएको छ।

गाउँपालिकाले दैनिक ज्यालादारी उपलब्ध गराउने गरी सात जनालाई रोजगारीसमेत दिएको छ। केराको फाइबरबाट बनाइएका हस्तकलाका सामग्रीको प्रयोगकर्ता बढ्दै गएका छन्। रासस


प्रकाशित : सोमबार, फागुन १२ २०८११०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend