शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १२ २०८१
images
images
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

स्थानीय किसानले उत्पादन गरेको कफी घरबाट नै प्रतिकेजी एक सय रुपैयाँमा बिक्री हुने गरेको छ। राम्रो फलेको कफीको एक बोटले २५ केजीदेखि ३० सम्म उत्पादन दिने व्यवसायीले बताए।

images
images

भोजपुर- भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन्। विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन्। 

images
images

भोजपुरको हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानले यसको खेती गरिरहेका छन्।

images
images

यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडौं हुँदै जापान, कोरियासम्म जाने गरेको स्थानीय कफी व्यवसायी सुनिल श्रेष्ठले बताए। 

images
images

अर्गानिक (जैविक) कफीको विदेशी बजारमासमेत माग रहेको उनको भनाइ छ। भोजपुरमा उत्पादन भएको कफी संकलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिए।

यो वर्ष यहाँबाट करिब पाँच हजार किलोग्राम कफीको कच्चापदार्थ निर्यात भएको उनले बताए। धेरै किसानले कफीको खेती विस्तार गरिरहेकाले आगामी दिनमा भोजपुरबाट निर्यात हुने कफीको मात्रा बढ्ने उनको भनाइ छ।

ल्याब परीक्षण गरेर अर्गानिक ठहरिएको खण्डमा समुद्री सहतबाट एक हजार एक सय मिटरदेखि एक हजार पाँच सय मिटर उचाइसम्म उत्पादन भएको अर्गानिक कफीको बाहिरको बजारमा बढी माग रहेको व्यवसायी श्रेष्ठले बताए।

'पछिल्लो समय भोजपुरका किसान व्यावसायिक रुपमा कफीखेती विस्तारमा जुटेका छन्' व्यवसायी श्रेष्ठले भने, 'यहाँ उत्पादन भएको अर्गानिक कफी देशका ठूला सहरसँगै विदेशमासमेत जान थालेको छ। उत्पादन भएको कफी घरबाट नै बिक्री हुन थालेपछि व्यावसायिक कफीखेतीमा लाग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको अवस्था छ।'

स्थानीय किसानले उत्पादन गरेको कफी घरबाट नै प्रतिकेजी एक सय रुपैयाँमा बिक्री हुने गरेको छ। राम्रो फलेको कफीको एक बोटले २५ केजीदेखि ३० सम्म उत्पादन दिने व्यवसायी श्रेष्ठले बताए। प्रशोधन गरेको कफीको दाना सहरका बजारमा प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री हुने गरेको उनले जानकारी दिए। यहाँका करिब दुई सयजना किसानले कफीखेती गरिरहेको श्रेष्ठले बताए। 

हतुवागढी क्षेत्र कफीको लागि उपयुक्त रहेकोले यसको खेतीमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। कोशी प्रदेश सरकारसँगको सहकार्यमा व्यावसायिक कफी खेतीको विस्तारको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ।

कफी खेतीको विकास तथा विस्तारको लागि प्रदेश सरकारबाट दश लाख रुपैयाँ बजेट विनियोजन भएकाले गाउँपालिकाले पनि साझेदारी गरेर कार्यक्रम सञ्चालन तयारी गरेको उनले बताए।

'हाम्रो हतुवागढी क्षेत्र कफी खेतीको लागि राम्रो भूगोल मानिन्छ'अध्यक्ष राईले भने,'किसानले अहिले पनि यसको खेती गरिरहेका छन्। कफी खेतीको थप विस्तार तथा विकासका लागि प्रदेश सरकारसँगको सहकार्यमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ।'

विगतमा राम्रो बजार नभए पनि अहिले यहाँ उत्पादन भएको कफी बाहिरको बजारमा जान थालेको अध्यक्ष राईले बताए। रासस


प्रकाशित : सोमबार, फागुन १२ २०८११०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend