इलाम- सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अर्गानिक तरकारी कृषकका रुपमा सम्मान गरेपछि सूर्योदय-१२ का मदनकुमार राईलाई व्यावसायीक कृषिकर्म गर्न थप ऊर्जा मिल्यो। 'अनुदानभन्दा पनि प्रोत्साहन ठूलो रहेछ,' उनले भने, 'कृषिमै रमाएको त तीन दशक बित्यो। तर, पालिकाले उत्कृष्ट कृषकका रुपमा सम्मान गरेपछि मलाइ थप व्यावसायिक बन्न ऊर्जा मिलेको हो। टनेल र अन्य बिउबीजनमा अनुदान पनि पाएँ।'
उनको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ। जहाँ अकबरे, काँक्रा, आलु, कागती, टमाटर, बन्दा कोपी, एभोकाडो, चिया र कफीको व्यावसायिक खेती भइरहेको छ। राईले यसपटक आठ रोपनी क्षेत्रफलमा रोपेका दश हजार बोट अकबरेबाट २३ लाख आम्दानी गरे। राईले भने,'फल सात लाखको बिक्यो। प्रतिकेजी ३५ हजारदेखि ५० हजारका दरले ४० केजी बियाँ बिक्री गर्दा करिब १६ लाख आम्दानी भयो। अकबरेले यो वर्ष २३ लाख आम्दानी गरेको छ।'
उनले उत्पादन गरेको अकबरे सामान्यतया कोसेलीका रुपमा बिक्री हुन्छ। उनलाई माघ धान्न मुस्किल छ। भने, 'फलभन्दा बढी बियाँ बिक्री हुन्छ। अचार बनाउन कोसेलिका रुपमा नेपाल र इन्डियामा खपत भइरहेको छ। भारतबाट दैनिक पचास केजीको माघ छ। देशभरिबाट हाल ३० केजी बियाँको माघ छ। तर, न फल र बियाँ दुवैको माघ पूरा गर्न सकिएको छैन।'
अकबरे मात्र होइन राईले यसवर्ष ६ रोपनी जमिनमा काँक्रा खेती लगाएका थिए। उनले २० हजार केजीका दरले १६ केजी काँक्राको बियाँ बिक्री गरे। ‘काँक्राको फल चाहीँ बेच्दिन। यसो हटिया खर्च धान्नलाई दुई चार क्विन्टल बिक्छ’, उनले भने। काँक्रामा डाउनी मिल्ड्यू र पाउडरे मिल्ड्यू रोगले समस्या ल्याएको छ। काँक्रामा पात पहेँलो हुने र बोट हुर्कन नदिने समस्या देखिएको छ भने अकबरेमा थुप्रै समस्या आउन थालेका छन्।
'जरादेखि मास्तिर माटो छेउको खुल्ला आकासे भागमा कुहिने र ओइलिएर मर्ने विकराल समस्या अकबरेमा देखापरेको छ', उनले भने, 'एन्थ्रा कनोज नामको रोगले फलमै कालो धब्बा आउन थालेको छ। बारी सुद्ध गर्नु र खेतीलाई अर्गानिक बनाउँदा समस्या समाधान हुन्छ।'
यामअनुसारको खेती गरेर मनग्य आम्दानी लिइरहेका राई दम्पत्तिले अकबरे र काँक्रा बाहेक आलु, कागती, एभोकाडो, चिया र कफीको समेत व्यावसायिक खेती गरिरहेका हुन्। 'पाँच मन(प्रतिमन ४० केजी) आलु रोपेका छौँ’, मदनकी श्रीमती चन्द्रमाया राईले भनिन्, ‘नौ रोपनीमा दुईसय ५० बोट कागती छन्। पोहोर साल एक लाख २० हजारको बेचेका थियौँ। यो वर्ष एक लाख ८० जत्तिको हुन्छ होला। कागती केजीको दुईले बिक्दैछ।'
उनीहरुले एभोकाडो लगाएको तीन वर्ष भयो। चन्द्रमायाले भनिन्, '१३ रोपनीमा तीनसय बोट एभोकाडो छ। तर, उत्पादन दिन थालेको छैन। अब दुई वर्षपछि आम्दानी सुरु हुन्छ।' अन्य खेती गर्न भ्याइनभ्याइ हुने राई दम्पत्तिले ११ रोपनीको चियाबारी भने ठेक्कामा दिएका छन्।
चियामा अलिक अलमल हुन्छ। धाइरहनुपर्छ। त्यै भएर अरुलाई दिएको। उनीहरुले ठेक्का बुझाउँछन्। मदन भन्छन्, अब कफी लगाउने योजनामा छु। चार सय बिरुवा ल्याइसकेँ। जम्मा एक हजार रोप्ने तयारी छ। यो चाहीँ मेरो पेन्सनजस्तै पछि बुढेसकालमा बेचिखाने।'
मदनलाई बारीको तल्लो भेगतिर बाँदरले दुःख दिन थालेको छ। अब, बाँदर पन्साउन उनले टमाटर र बन्दा कोपीको खेती लगाउँदै छन्। 'फागुन लागेपछि १५ हजार बन्दा र तीन हजार टमाटर रोपेर बाँदर आतंक हेर्नुछ।' उनको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ। 'अझै २० रोपनी थपौँ भनेको बच्चाले मानेनन्। अब बजारमा घडेरी जोड्नुपर्छ भन्छन्, 'उनले भने।
घरमा मदन र उनकी श्रीमती चन्द्र मात्र बस्छन्। बारीमा काम गर्ने दिनहुँजसो चार जना खेताला हुन्छन्। छोरी स्वेच्छा इलाम बिब्ल्याँटेस्थित प्राइम बैंककी कर्मचारी छन्। छोरा धनकुटाको पाख्रिबासमा बिएससीएजि सातौँ सेमेस्टरमा अध्ययनरत छन्।
'धेरै काम परेको दिन २० जना पनि खेताला हुन्छन्। सिस्टममा गएर काम गर्दा ५०/५५ रोपनीमा खेती गर्न धेरै जनशक्ति लाग्दैन। तर, काम चाहीँ सिस्टममा गर्नुपर्यो', मदन भन्छन्, ‘वर्षमा खर्च कटाएर १२-१४ लाख बचत हराउँदैन।’ राईको गोठमा दुई माउ गाई छन्। ‘गाईको मलमुत्रले खेती अर्गानिक बनाउन सहयोग मिल्छ। गोबरभन्दा गहुँत बढी उपयोगी हुन्छ', उनले भने।
उनी कृषकमात्र होइन कृषि विज्ञ पनि हुन्। नगरपालिकाले आयोजना गरेका धेरै तालिममा गएर उनले अन्य किसानलाई कृषि समस्या, चुनौती र सम्भावनाका बारेमा जानकारी गराउँछन्।
सूर्योदय नगरपालिकाले मदनजस्ता सफल र व्यावसायिक किसानलाई प्रोत्साहित गर्दै आएको छ। विभिन्न कार्यक्रमको अवसरमा उत्कृष्ट किसानको रुपमा सम्मान गर्ने गरिएको नगरप्रमुख रणबहादुर राईले बताए। किसानलक्षित थुप्रै अनुदानका कार्यक्रम छन्।
यहीँ रहेर व्यावसायिक खेती गर्ने मदनजस्ता किसानका लागि नगरपालिका सँधै साथमा रहेको नगरप्रमुख राईले बताए। 'ऊर्जा, जोस र जाँगर लिएर पालिकाभित्रै व्यावसायिक बन्न चाहाने कृषकलाई हामीले सकेसम्म अनुदान नै दिइरहेका छौँ', उनले भने, 'सूर्योदय पर्यटन र कृषिबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएर अघि बढेको पालिका हो। यहाँका सबै किसान मेहेनती हुनुहुन्छ।' रासस